८ आश्विन २०७७ बिहीबार
समाज

कोरोना कहरमा जोखिम यात्रा

अटोमा खचाखच यात्रु, प्रहरी प्रशासन मौन

मंगलगढी चोकमा लामबद्ध अटो। तस्बिर : गणेश /नागरिक

किनमेलका लागि बजार आएकी वीरेन्द्रनगर–१३, करेखोलास्थित छविसरा रामजाली मगर घर फर्कंदै थिइन्। हिँड्दै गर्दा अटो अगाडि रोकिन्छ र अटो चालकले भन्छन्, ‘आउनुस् अटो खाली छ।’ चर्काे गर्मी छिचोल्नुभन्दा उनी अटोमा चढ्न राजी हुन्छिन्। अटो चालक उनलाई मात्र सवार गराउँदैनन्। अटोमा अरु तीनजनालाई पनि सवार गराउँछन्। तीनजना चढ्दा त्यहाँ न सामाजिक दुरी कायम हुन्छ नत कोभिड–१९ अर्थात् कोरोना भाइरसको स्वास्थ्य सुरक्षाका उपाय अपनाइन्छ। पैसाका लागि मात्र जोखिम मोलेर अटोभरि यात्रु हालिन्छ।

छविसरामात्र होइन वीरेन्द्रगनर–१, बांगेशीमलकी देवी सुनार पनि बाध्यताले अटोमा कोचाकोच गरी बस्न बाध्य भइन्। अटोमा चढौँ भने कोरोनाको जोखिम, नचढ्दा समयमै घर नपुग्ने समस्या हुँदा उनी असुरक्षित अटोमा चढ्छिन्। यसरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटो चालकले कोरोना भाइरस जोखिम कम गर्ने उपाय अवलम्बन नगरी यात्रु चढाउँदा जोखिम बढाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तिमा एक मिटर दुरी कायम गर्न भनेको छ। एकअर्कालाई छुँदा वा कुनै पनि कोरोना भाइरस भएको बस्तु समाउँदा पनि कोरोना सर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा अपनाउन डब्लुएचओको भनाइ छ।

कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग भएकाले पनि सामाजिक दुरी अनिवार्य छ। कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। तर अटोमा खचाखच यात्रु राखेर सवार गर्दा यसले जोखिम बढाएको छ। ‘हिँडौं भने घर टाढा छ,’ छविसराले भनिन्, ‘बाध्य भएर मान्छेको बीचमा बसेर यात्रा गर्नुपर्छ।’ सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने थाहा भए पनि अरु माध्यम नहुँदा जोखिम मोलेर अटो चढ्नु पर्ने सर्वसाधारणहरू बताउँछन्। कतिपयले त मास्क नै प्रयोग नगरेर अटोमा चढेका हुन्छन्। सार्वजनिक सवारी साधनको ढोका र सवारीभित्र सेनिटाइजरलगायत स्वास्थ्य सामग्री राख्नुपर्ने नेपाल सरकारले निर्णय गरेको थियो।  

अटो व्यवसायीले स्वास्थ्य सामग्रीसँगै सेनिटाइजर प्रयोग गर्ने गरेका छैनन्। ‘अटोमा त्यसरी यात्रु चढ्न दिनु हुँदैन,’ वीरेन्द्रनगरका पुष्प विसीले भने, ‘यसले जोखिम निम्त्याएको छ।’ यता अटो व्यवसायीहरूले भने सिटअनुसार यात्रु नराख्दा लगानीसमेत गुम्ने खतरा भएकाले सिटअनुसार यात्रु राख्ने गरेको बताएका छन्। ‘बांगेशीमलबाट मंगलगढी चोक एउटालाई मात्र ल्याएर आउँदा पेट्रोलको खर्च नै उठ्दैन,’ अटो चालक प्रदीप खड्काले भने, ‘कित सोहीअनुसार भाडा लिन पाउनु प¥यो।’ यात्रुसँगै आफूहरू पनि जोखिममा भएको भन्दै उनले अटोमा एउटा मान्छेसम्म चढाउँदा ठीक हुने र त्यसो गर्दा लगानी डुब्ने बताए।

त्यस्तै अर्का अटो व्यवसायी रमेश गिरीले पुरानै भाडा दरमा दुरी कायम गरेर यात्रु बोक्न नसकिने बताए। उनले यसो भनेता पनि यहाँका अटो व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढाएको देखिन्छ। १० रूपैयाँ प्रतिचौकमा अहिले १५ रूपैयाँ लिने गरेका छन्। ‘ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने,’ स्वास्थ्यकर्मीहरूले भनेका छन्, ‘खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुनपानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।’ भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्न सरकारले अनुरोध गर्दै आएको छ। तर अटोमा विभिन्नखालका यात्रु चढ्दा जोखिम बढ्दै गएको सर्वसाधारणको भनाइ छ। ‘अटोमा सँगै जोडिएर यात्रा गर्नुपर्छ,’ पुष्पले भने, ‘त्यस्तो अवस्थामा माक्स लगाएर मात्र जोखिम कम हुँदैन।’ एकअर्कासँग छुइँदा पनि जोखिम हुने भएकाले अटो यात्रामा निश्चित व्यक्तिलाई मात्र चढ्ने दिने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

प्रहरी प्रशासनले अगाडिबाटै खचाखच यात्रु बोकेर अटो सञ्चालन भए पनि दुवै निकाय मुख दर्शक देखिन्छन्। अटो व्यवसायीले धेरै मान्छे राखेर जोखिम कम भएको गुनासो नआएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता पदमलाल लामिछानेले जानकारी दिए। ‘अब हामी अटोको अनुगमन गर्छाैं,’ उनले भने, ‘अटोमा स्वास्थ्य सुरक्षाका विधि अपनाएको नपाइए प्रहरीमार्फत् कारबाही गर्छाैं।’

प्रकाशित: २६ श्रावण २०७७ १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App