८ वैशाख २०८१ शनिबार
समाज

पोखरामा संक्रमणको त्रासले अर्धसिल, सिल र निषेधाज्ञा

स्थानीयस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि जिल्लास्तरमा फरकफरक शैलिबाट संक्रमण नियन्त्रणको प्रयास थालिएको छ। कतिपय जिल्लामा पुर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने स्थानीय तहमा अर्धसिलदेखि सिल गर्नेसम्मका कडाई गरिएको छ।

ठुलो संख्यामा सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि स्याङजामा निषेधाज्ञा लगाइएको छ, भने पोखरा महानगरपालिकाभित्रका केही वडा सिल गर्न थालिएको छ। कतिपय वडाले अर्धसिलको शैली अपनाएका छन्। स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिलो चरणमा साउन २२ गतेसम्म जिल्लामा निषेधाज्ञा लागु गरिएकोमा एकसाता थपेर २९ गतेसम्म पु¥याइएको बताए। ठुलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि कन्ट्याक्ट टे«सिङको क्रममा जिल्लाभर निषेधाज्ञा लागु गरेर संक्रमण बढ्न नदिने प्रयास गरेको उनले बताए। स्याङजामा उच्च अधिकृत सहित ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।  

‘प्रहरीमार्फत समुदायमा संक्रमण फैलियो की भन्ने बढी आशंका थियो। तर, त्यो अवस्था अहिले देखिएन,’ उनले भने, ‘प्रहरीको सम्पर्कमा रहेका मान्छे बढी जोखिममा रहेको आशंका थियो। अब कन्ट्याक्ट ट्रेसिङ पनि सकिएको छ। जुन रुपमा संक्रमण फैलिएको आशंका थियो, त्यो अनुसार संक्रमण फैलिएको देखिएन।’ जिल्लाभर संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले पाँचजना भन्दा बढी व्यक्ति भेला हुन नपाउने गरि रोक पनि लगाएको थियो।

त्यस्तै एकजना कर्मचारीमा संक्रमण भेटिएपछि पोखरा महानगरपालिका–२७ नम्बर वडा कार्यालय साउन ३० गतेसम्मका लागि बन्द गरिएको छ। वडा अध्यक्ष पुर्णबहादुर गुरुङले वडा कार्यालयबाट दिने सबै सेवा बन्द गरेको जानकारी दिए। उनका अनुसार वडाकै एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। ‘वडामै कार्यरत एकजना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि वडा कार्यालय नै सिल गर्ने निर्णय भएको हो,’ उनले भने, ‘ती कर्मचारी अहिले घरमै छन्। शनिबार स्वाव परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो।’ कर्मचारीमा संक्रमण पुष्टि भएपछि ३० गतेसम्म सेवा रोक्नु भनेर महानगरले वडा कार्यालयलाई निर्देशन दिएको छ। वडाअध्यक्ष गुरुङका अनुसार संक्रमित कर्मचारीको सम्पर्कमा रहेका स्थानीय र सेवाग्राही पहिचान गरेर कन्ट्याक्ट ट्रेसिङ मार्फत परीक्षण गर्ने तयारी भईरहेको उनले बताए।  

त्यस्तैसंक्रमित व्यक्तिको मृत्यु भएपछि पोखरा महानगरपालिका–१९ वडा सिल गर्ने तयारी भएको छ। वडा अध्यक्ष शोभामोहन पौडेल वडाभित्र संक्रमण फैलने त्रासले अहिले अर्धसिल गरेको र स्थानीय प्रशासनबाट अनुमति पाएपछि पुर्ण रुपमा सिल गर्ने तयारी भएको बताए। ‘अर्धसिल गरेर सकेसम्म घरबाहिर ननिस्कन वडाबासीलाई अनुरोध गरेका छौ। पुर्णरुपमा सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छौ,’ पौडेलले भने, ‘प्रशासनले अनुमति दिएमा पुर्ण रुपमा सिल हुनेछ।’ पहिलो चरणमा मंगलबारदेखि एकसाताका लागि पुर्ण रुपमा वडाक्षेत्र सिल गर्नेगरि प्रशासनसँग अनुमति मागेको उनले बताए। अर्धसिल गरेपछि वडाको लामाचौर क्षेत्रमा एकाध मात्र पसल खुलेका छन् भने सर्वसाधारण घरबाहिर निस्केका छैनन।  

‘हामीले सबैखाले पसल नखोल्न पनि भनेका छौ। अत्यावश्यक बाहेकका पसल खुलेका पनि छैनन। वडाबासिको हिडडुल पनि छैन,’ उनले भने। अध्यक्ष पौडेलका अनुसार शनिबार राती मृत्यु भएका पुरुष त्यही वडाका हुन्। ती मृतकको सम्पर्कमा रहेका ६ जनामा संक्रमण पुष्टि भईसकेको छ। मृतकको सम्पर्कमा रहेका ६७ जनाको पहिचान गरेर परीक्षण गर्दा थप पाँचजनामा संक्रमण पुष्टि भएको थियो। ती पाँचजनाको सम्पर्कमा रहेका अरु ८३ जना पहिचान गरेर परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। ‘अवस्था भयाभह हुने खतरा देखिएको छ,’ उनले भने,‘थप संक्रमित भेटिएनन भने त खासै डराउनुपर्ने छैन। तर, मृतक व्यक्तिको गतिविधिका कारण अरु संक्रमित भेटिने सम्भावना छ।’  

शनिबार मृत्यु भएका ती पुरुष धर्म प्रवद्र्धक हुन्। उनी धर्म प्रचार गर्ने क्रममा समाजमा निस्फिक्रि हिडडुल गरेकोले संक्रमण फैलिएको अनुमान स्थानीयको छ। ती मृतकले घरमै सच्चाई कार्यक्रम चलाउँदै आएका थिए। साप्ताहिक रुपमा प्रत्येक शनिबार १५–२० जनासम्म अनुयायीलाई घरैमा भेला पार्थे र प्रवचन दिन्थे। यहि क्रममा उनी स्याङ्जा समेत पुगेर आएका थिए। मृतक ती पुरुष ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’का प्रमुख थिए। उनी आफूलाई शक्तिशाली ठान्थे। त्यहि भएर पनि उनले कोरोना महामारीका बिच पनि सच्चाई कार्यक्रम निरन्तर चलाएका थिए। उनको उपचारको क्रममा शनिबार राती पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: २६ श्रावण २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App