coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याग्दीमा ‘पुन सामुदायिक संग्रहालय’

म्याग्दीको काफलडाँडामा निर्माणाधीन पुन सामुदायिक सग्रहालय।

पुन समुदायको कला, संस्कृति र जीवनशैलीको प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दीमा पुन सामुदायिक संग्रहालय बनाइएको छ। करबाकेली बाबा संरक्षण समितिले अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा दुई तले संग्रहालय भवन बनाएको हो।  

विसं २०७६ वैशाख ९ गतेबाट निर्माण सुरु गरेकामा आकर्षक भवन बनिसकेको छ। ढुँगाको गारो र ढुँगाकै छानो भएको भवनभित्र यतिबेला धमाधम फर्निचर सजाउने काम भइरहेको छ।

‘आउँदो मंसिरमा संग्रहालय उद्घाटन गर्नेछौं’, संग्रहालय निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले भने, ‘हामी संग्रहालयलाई नमूना बनाउने छौं।’    

बाढीपहिरोका कारण केही दिनदेखि काफलडाँडामा बिजुली अबरुद्ध भएको छ। ‘१२ दिन भैसक्यो बिजुली नआएको’, उनले भने, ‘त्यसैले काम गर्न पाइएको छैन।’

पुन समुदायको जन्मदेखि मृत्यू संस्कारसम्म झल्काउने हिसाबले काफलडाँडामा संग्रहालय बन्दैछ। आउँदो मंसिरमा संग्रहालय उद्घाटन गरिनेछ। 

संग्रहालय भवनको माथिल्लो तलामा पुरातात्विक महत्वका सामान राखिनेछ भने भुइँतलामा जाँतो, ढिकी, कोल आदि सजाइनेछ। भुइँतलाका सामान दर्शकले छुन र चलाउन पाउने छन्।  

संग्रहालय भवन बनाउन ४५ लाख रुपैयाँ खर्च भैसकेको छ। अझै करिब १५ लाख रुपैयाँ लाग्ने समितिको अनुमान छ। संग्रहालय बनाउन अन्नपूर्ण गाउँपालिकाले ५ लाख र गण्डकी प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।  

‘हाम्रो मुख्य सहयोगी पुन समाज युके हो’, संग्रहालयका संयोजक पुनले भने, ‘गाउँलेहरूले पनि ठूलो सहयोग गर्नु भएको छ।’  

संग्रहालयमा सजाइने कतिपय सामान गाउँलेले सहयोग गरिसके। कतिपय सेरोफेरोका गाउँबाट संकलन गर्ने योजना छ। ‘केही सामान किनेर पनि राख्नेछौं’, उनले भने।  

करबाकेली थान हातामा निर्माण गरिएको संग्रहालय पर्यटकीय आकर्षण बन्ने आशा गरिएको छ। करबाकेलीलाई केन्द्रमा राखेर पुनहिलदेखि करबाकेली हुँदै म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्राण्डिङ गरिएको छ।

 

प्रकाशित: २६ श्रावण २०७७ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App