६ चैत्र २०८० मंगलबार
समाज

तकियाको खोलको २८ सय र एउटा तन्नाको ८ हजार मूल्य राखी बिल पेस

कोरोनाका नाममा भ्रष्टाचार

सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टिन सञ्चालन गरेको थियो। भारतबाट घर फर्किनेहरूलाई सीमामै रहेको सोही विद्यालयको क्वारेन्टिनमा केही दिन हेल्ड गरेर क्याम्पस क्वारेन्टिनमा राख्ने गरिएको थियो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार यी दुई क्वारेन्टिनमा अहिलेसम्म करिब २३ जना बसेको तथ्यांक छ। तीमध्ये पिसिआर परीक्षणबाट पोजेटिभ आएका आइसोलेसन अस्पताल गए भने नेगेटिभ रिपोर्ट आउने घर फर्किसकेका छन्। अहिले ७४ जना क्वारेन्टिनमा छन्।  

क्वारेन्टिनमा ओछ्यानदेखि खानपानसम्मको बिजोग छ। नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा कोरोना क्वारेन्टिनबाटै धेरैमा फैलियो। तर, नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ। यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रूपैयाँ खर्च गरेको जनाएको छ। क्वारेन्टिनमा बस्नेहरूलाई महँगा तन्ना, तकिया, डास्ना र तकियाका खोल बन्दोबस्त गरेको नगरपालिकाले सार्वजनिक गरेको सामान खरिदको विवरणबाट प्रष्ट हुन्छ।  

नगरपालिकाले तीन लाख १९ हजार २ सय ७५ रूपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ। नगरपालिकाको विवरणअनुसार एउटा तकिया खोल २८ सय ७६ रूपैयाँ ३५ पैसामा खरिद गरिएको छ। ४५ लाख ३ हजार ७ सय ७५ रूपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ। एउटा तन्ना ८ हजार ७१ रूपैयाँ २८ पैसामा खरिद गरिएको छ।  

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता गरेको गुनासोसहितको उजुरी पुगेपछि अख्तियारले आइतबार नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपी लिएर गएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कारोना संक्रमण नियन्त्रणमा गरेको खर्चको कागजात अनुसन्धानका लागि लिएर गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।  

नगरपालिकाको विवरणअनुसार एउटा तकिया खोल २८ सय ७६ रूपैयाँ ३५ पैसामा खरिद गरिएको छ। ४५ लाख ३ हजार ७ सय ७५ रूपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अख्यिार अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले कोरोना रोकथाम, नियन्त्रणका लागि खरिद गरेको समानको सम्पूर्ण कागजातको प्रतिलिपी छानबिनका लागि नियन्त्रणमा लिएको बर्दिवास कार्यालयका प्रमुख मणिराम ज्ञवालीले पुष्टि गरेका छन्। कोरोना नियन्त्रणमा नगरपालिकाले गरेको खर्चमा अनियमितता भएको गुनासोका आधारमा आयोगले छानबिन सुरु गरेको उनले बताए।  

सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई बुझाएको खर्च विवरण कार्यालयको आधिकारिक सामाजिक सञ्जालमा पोष्ट गरेपछि सबैको ध्यान खर्चमाथि केन्द्रित भएको थियो। अहिले खर्च विवरणमाथि विभिन्न किसिमका टिप्पणी सार्वजनिक भइरहेका छन्। स्थानीय युवाले नगरपालिकाले कोरोनाको नाममा व्यापक अनियमितता गरेको उजुरी अख्तियारसम्म पु¥याएपछि अख्तियार अनुसन्धानमा लागेको छ।  

थोकमा ५ रूपैयाँ प्रति गोटा पर्ने मास्कको मूल्य २४ रूपैयाँ बढाएको र परिणाम बढाएर अनियमितता गरेको पाइएको छ। सिरहा नगरपालिकाका प्रमुखका प्रत्यासीसमेत रहेका डा. शुभाष यादवले नगरपालिकामा भएका अनियमितता सधैं ढाकछोप हुँदै आएको बताए। उपसचिवको दरबन्दी भएको नगरपालिकामा फाइल बढुवा अधिकृत राखेर लुट मच्चाएको यादवको आरोप छ। यहाँ भएका अनियमितताको इमान्दार छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न उनको आग्रह छ। 

आफू अनुकूलका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिएर विकास निर्माणदेखि कोरोना संक्रमण नियन्त्रणसम्ममा व्यापक अनियमितता भएको उनको दाबी छ। खरिद नै नगरेको सामानको समेत बिल बनाएर व्यापक भ्रष्टाचार गरेकाले यसको गहन अनुसन्धान तथा छानबिन गर्न उनले अख्तियारलाई आग्रह गरे। फाइल लिएर जाने तर कारबाही नहुने विगतको उदाहरणले यहाँका जनताको अख्तियारप्रतिको विश्वास घट्दै गएको र पुनः विश्वास कायम राख्न पनि सही छानबिन गनुपर्ने उनको आग्रह छ। नगरपालिकाले मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७, थर्मल गन १५ हजार ७ सय ५३, पञ्जामा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर १४ लाख १ हजार ९७, साबुन १ लाख ७२ हजार १ सय ९५, पिपिई ९ लाख १८ हजार ४ सय ९१, किटनाशक औषधि छर्कने स्प्रे ५ हजार, रेनकोट १ लाख ९३ हजार रूपैयाँको खरिद गरेको देखाएको छ।

यस्तै, रेनबुट ३ लाख १२ हजार १ सय ५०, डस्ना ४ लाख ५५ हजार ८ सय ५०, बेड २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ३ लाख ३० हजार, तकिया २ लाख ८ हजार ९ सय ५०, कम्बल ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रूपैयाँको खर्च विवरण दिएको छ।

विद्युतीय सामग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधि छर्किने स्प्रे ठूलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टिन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिमभत्ता ४१ लाख २५ हजार ८३०, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य १६ लाख २९ हजार ९ सय ३६ र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन्।

यस्तै वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोब्स वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेको विवरण सार्वजनिक गरेको छ।  

नगरपालिकाले जिल्लास्थित कोभिड संक्रण नियन्त्रण समितिलाई बुझाएको विवरणमा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रूपैयाँ खर्च उल्लेख गरेको छ। तर, निमित्त प्रमुख यादवले हिसाब गर्न गल्ती भएको बताएका छन्। ‘सबै हिसाब गडबड भयो,’ उनले नागरिकसँग भने, ‘केही सामानको मूल्य बढी राख्दा सारा हिसाब गडबड भयो। सच्याएर नयाँ हिसाब विवरण बुझाउँछौं।’

प्रकाशित: २६ श्रावण २०७७ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App