१६ चैत्र २०८० शुक्रबार
समाज

कान्ले पहिरोले १३ घर जोखिममा

आँगनमा थुप्रिएको पहिरो पन्छाउँदै कुभिन्डेका स्थानीय । तस्बिर : नागरिक

वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका १३ घर जोखिममा परेका छन् । गत साउन १८ गतेको भारी वर्षाका कारण माथिको डिल खस्दा तथा घरको जगमुनिको डिल पहिरोकोरुपमा भत्किँदा स्थानीय गम्भीरे दमाई, चक्र दमाई, यामकुमारी रेग्मी, मानबहादुर तामाङ, गोपी ठटाल, तिलक नेपाली, मथुरे दमाई, मानबहादुर बिक, टंकबहादुर राई, टेकनारायण श्रेष्ठ, हर्कराज राई, धनकुमार राई र कुमार श्रेष्ठको घर जोखिममा परेको हो ।  

त्यसमध्ये गम्भीरे दमाई, चक्र दमाई, मानबहादुर बिक, यामकुमारी रेग्मी र मानबहादुर तामाङको घर अति जोखिममा रहरेको स्थानीय दिपक ठटालले बताए । कान्ले पहिरोको अति जोखिम भएकाकारण पाँच परिवारका स्थानीय हाल रातका समयमा अन्यत्र आश्रय लिने गरेका छन् । पहिरो खस्दा कसैको घरको कौशीसम्म थुप्रिएको छ । 

कसैको आँगनमा र कसैको कुलेसोमा ढुंगा माटो थुप्रिएको छ । कतिपयको घरमुनिबाट पहिरो खसेको देखिएको अनुगमनकाक्रममा कुभिन्डे पुगेका जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । कुभिन्डेमा वर्षाका कारण स्थानीय विस्थापित बनाएको तथा ठाउँ–ठाउँमा सडक पुरिएको जानकारी आएपछि शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुखको टोली निरीक्षणमा पुगेको थियो ।

वर्षाका कारण नुनथला–कुभिन्डे सडकको ठाउँ–ठाउँमा पहिरो खसेको छ । ‘पाँच परिवारको घर धराप छन् । पानी परेको रात उनीहरुको घरमा बास हुन्न,’ ठटालले भने, ‘कसैको घर आधा पुरिएको छ, कसैको पुरिने खतरा छ । कसैको तलबाट पहिरोले तान्ने खतरा छ ।’

प्रकाशित: २५ श्रावण २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App