८ वैशाख २०८१ शनिबार
समाज

पोखरामा कोरोना संक्रमितको शव यस पटक सहजै व्यवस्थापन

file photo

कोरोना भाइरस संक्रमणले पोखरामा शनिबार राति एकजना पुरुषको मृत्यु भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय ती पुरुषको मृत्युपछि यो पटक भने अवरोधबिना शव व्यवस्थापन गरिएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर बिना अवरोध मृतकको शव व्यवस्थापन सकिएको प्रहरीले बताएको छ ।  

संक्रमण फैलने डरले यसअघि पोखरामा मृत्यु भएका दुईजना व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले निकै नै अवरोध गरेपछि यो पटक पनि त्यही अप्ठेरो दोहोरिने आशंकाले स्थानीय प्रशासन अलि सतर्क बन्दै छिटै नै छलफलमा जुटेको थियो । आइतबार बिहान सरोकारवालाको बैठक बसेर पोखरा महानगरपालिका–३२ मजुवा घाटमा शव व्यवस्थापनको निर्णय गरेको थियो । त्यही निर्णय अनुसार सेना, सशस्त्र र प्रहरीको टिमले शव व्यवस्थापन गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।  

‘यसअघि साह्रै नै अवरोध भयो । यो पटक भने त्यो अप्ठेरो आएन’ उनले भने, ‘अघिल्लो पटक अवरोध गर्ने समूहसँग छलफल गरेर आइन्दा अप्ठेरो नपार्ने भन्ने सहमति गरिसकेकोले यो पटक सहजै शव व्यवस्थापन भयो ।’ उनका अनुसार अघिल्लो पटक शव व्यवस्थापनका अवरोध गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै ६ जनालाई फरार सूचीमा राखेको थियो । पक्राउ परेका र फरार सूचीमा रहेका ९ जनालाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो । मुद्दा चलेपनि पक्राउ परेका तीनजना धरौटीमा रिहा भएको र अरु ६ जना फरार सूचीमै रहेका छन् ।

महानगरका मेयर मानबहादुर जिसीले यो पटक भने कुनै अवरोध बिना शव व्यवस्थापन गरेको बताए । ‘यसअघि शव व्यवस्थापनमा केही असहज भएको हो । यो पटक भने केही सहजै व्यवस्थापन भयो,’ मेयर जिसीले भने, ‘जुन ठाउँमा शव व्यवस्थापन गर्‍यौ, त्यो ठाउँमा केही काम गनुपर्ने छ । त्यो क्षेत्रको सुरक्षासहित सौन्दर्यकरणका काम गर्ने महानगरले वाचा गरेको छ । त्यसै अनुसार स्थानीय सहमतिमा पनि आएका छन् ।’ महानगरकै दायित्व अन्तर्गत त्यो क्षेत्रमा केही विकास निर्माणका काम गर्न बाँकी रहेको र त्यो काम गर्ने वाचा बाँधेको उनले बताए । 

उनका अनुसार आगामी दिनमा कोरोनाका अरु बिरामीको मृत्यु भएमा त्यही ठाउँमा शव व्यवस्थापन हुनेछ । केही गरि संख्या अधिक भएर त्यो ठाउँमा अपुग भए बल्ल अन्यत्र जान सकिने उनले बताए । पोखरामा कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको ठाउँ उपलब्ध गराउने जिम्मा महानगरको रहेको छ भने सुरक्षा निकायले व्यवस्थापन गर्नेछ ।

यसअघि गत असार ११ मा पनि कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने निकै नै सकस आइपरेको थियो ।  

पोखरामा मृत्यु भएकोले स्याङजा लैजाँदा जोखिम हुने भनेर पोखरामै उनको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयको अवरोध भयो । व्यवस्थापनका लागि तोकिएको ठाउँसम्म शव लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए । यतिसम्मकी शव व्यवस्थापन गर्न नदिने स्थानीयको अडानकाबिच बल प्रयोग गरेर पोखरा महानगरपालिका–३२ को मजुवामा सेतीनदि किनार नजिकैको चिहानघारीमा व्यवस्थापन गरिएको थियो ।  

त्यस्तै जेठ २५ गते पनि पोखरामा कोरोनाले मृत्यु भएका पहिलो व्यक्तिको शव व्यवस्थापनमा उस्तै अवरोध आएको थियो । कहाँ र कसरी शव व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा ती व्यक्तिको शव १८ घण्टासम्म अस्पतालमै अड्केको थियो । महानगरले व्यवस्थापन गर्ने ठाउँ खोजी गरेको पोखरा–११ रिट्ठेपानीसम्म शव लैजाँदा त्यही वडाका फूूलबारी र पोखरा–२० भलामका व्यक्तिले अवरोध गरेका थिए ।

स्थानीयतहका पदाधिकारी समेत शव व्यवस्थापन गर्दा अवरोध गर्न पुगेको भन्दै ब्यापक आलोचना समेत भएको थियो । यस्तै गोरखामा पनि कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका थिए । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणले पाँचजनाको मृत्यु भएको छ । ती मध्ये पोखरामा ३ जनाको ज्यान गएको छ ।

प्रकाशित: २५ श्रावण २०७७ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App