१६ चैत्र २०८० शुक्रबार
समाज

द्धन्द्धपीडित भन्छन्ः खुसी त एकादेशको कथा भयो

आशाकुमारी घर्ती । तस्बिर: दिनेश/नागरिक

रोल्पा नगरपालिका ६ कोटगाउँ रिम्सककी २७ वर्षीया आशाकुमारी घर्तीलाई हिजोको द्धन्द्धले आज पनि लखेटिरहेको छ । माओवादीमा लागेका दाई प्रेमबहादुरलाई २०५९ सालको जेठमा सेनाले मारेपछि बिछिप्त बनेका बुवाको अर्को साल मृत्यु भएपछि एक्लिएकी उनी जीवन गोरेटो कता जाने अलमलमा छिन् । ‘आमा म सानो छदै बित्नु भएको हो । दाईलाई सेनाले मारेपछि त्यहि पिरले बुवा बित्नु भो । भाई र म छौ ।’ आशाले भनिन् ‘अंकलको घरमा बसेर हुर्केका हौ ।’

दाईको मृत्युपछि किस्ता किस्तामा आएको १० लाख रकम मध्य २ लाख छिमेकीले ऋण भनेर लगेको सावा ब्याज केहि पनि तिरेका छैनन् । उनले भाईलाई विदेश पठाउन अन्यत्रबाट ब्याजमा ऋण लिएकी छिन् । बाला उमेर अरुको सहारामा बाचेकी आशा जीवन चलाउन मजदुरी गर्नुको बिकल्प रहेन । ‘मजदुरी गर्दै पढे । आईए पास गरेपछि पैसा नभएर ३ वर्ष त्यसै बसे । अहिले ब्याच्लर अन्मि वर्षको पढाई बाँकी छ ।’ आफूसंगका साथीले मास्टर सिध्याईसकेको तर आफूले पढ्न नपाएकोमा उनलाई पिरलो लागि रहन्छ ।

अभिभावक नहुनेले अरुसंग पढाईमा प्रतिस्पर्धा गर्न नसकिने बताउदै आशा भन्छिन् ‘जीवन गोलमाल भएको छ । अस्तब्यस्त छ । भोकै र नाङ्गै बाच्न नसकिदो रैछ । पेटको भोक नमरी मनको भोक नमर्दो रैछ ।’ मानसिक तनावमा गुज्रिएकी आशालाई अचेल अनेकन सोच आउने गरेको बताउछिन् । ‘कुनै बेला मरौ मरौ जस्तो लाग्छ तर फेरी बाच्नु पर्छ जस्तो लागेर मर्न सक्दिन । आशु पनि सकियो तर मन पोल्न छोड्दैन । पुराना कुरा सम्झेर काम त छैन तर घाउ बल्झीरहन्छ ।’  

आफन्त मारिएका कारण उनीहरुको बलिदानिले ब्यवस्था फेरिएको अनि गाउँमा बिकास भएको बुझेका आशाहरुले १० लाख बाहेक कहिल्यै अरु केहि पाएनन् । ‘हाम्रा कुरा सरकारले सुन्ने जाँगर पनि गर्दैन झन अरु कसले सुनोस ।’ दाई लागेको दल सरकारमा भएको थाहा पाएका आशाहरुको भरोसा हराएको छ । उनी जस्तै यहाँका हरेक पीडितहरुसंग आफ्ना अलग अलग समस्याहरुको पहाड छ । खुसी त उनीहरुका लागि एकादेशको कथा बनेको छ ।

हरेक क्षेत्रमा आरक्षणका कुरा सुनेकी आशाको दैलोसम्म आरक्षणको पाईला कहिल्यै आएको छैन । ‘सरकारले कोटा छुट्याएको छौ भन्छ तर त्यो पनि हुनेखाने र ठूला बडाहरुका लागि मात्र आउछ । उनीहरुको त वातावरण नै राम्रो हुन्छ तर आरक्षण पनि उतै जान्छ ।’ आशा भन्छिन् ‘दुःख के हो हामीलाई थाहा छ तर पोख्न सक्दैनौ, जान्दैनौ र ठाउँ पनि पाउदैनौ ।’ गाउँमा आएको भनिएको स्थानीय सरकारले द्धन्द्ध पीडितहरुका लागि केहि नगरेको सुनेका आशाहरु दिक्क छन् ।  

आशा जस्ता अध्यारो बाला उमेर बिताएर युवा अवस्थामा पुगेका जिल्लाका दर्जनौ टुहुरा बालबालिकाको अवस्था आज पनि उदेक लाग्दो छ । टोलटोलमा भेटिने एकल महिला, टुहुरा बालबालिका, घाईतेअपाङ्ग, बिस्थापितहरु अहिले पनि न्याय र परिपुरणको पर्खाइमा छन् । ढिलो गरि गठन गरिएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले गतिलो काम नगरेका कारण पनि पीडितहरुको पीडा झनै गहिरीएको हो ।

प्रकाशित: २५ श्रावण २०७७ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App