coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार्यतालिका बनाएर स्थानीय तहअनुसार सेवा

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले स्थानीय तहअनुसार सेवा प्रदान गर्न थालेको छ। जिल्ला स्तरीय कोभिड कमान्ड पोष्टको बैठकले गरेको निर्णय अनुसार स्थानीय तहअनुसार सेवा उपलब्ध गराउन थालिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिने सेवाहरू आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई प्रदान गरिनेछ।

यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। पुर्चौडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा सेवा प्रदान गरिने बताइएको छ। जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरूलाई व्यवस्थित बनाउन र कोभिड–१९ को जोखिम न्युनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीको भनाइ छ।  

दार्चुला प्रशासनले पनि कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको डर हुने भन्दै सेवाग्राहीको भिडभाड कम गरी संक्रमण फैलिन नदिन स्थानीय तह अनुसार समय तालिका बनाएर सेवा उपलब्ध गराउने थालिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुुवँरले जनाए। ‘कोरोना भाइरसको जोखिम न्युनीकरण र यसबाट बच्नका लागि हामीले यस्तो निर्णय गरेको हौं,’ बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने। बैतडीका तीन सय २० र दार्चुलामा ३८ जनालाई अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये बैतडीमा तीन सय चार जना र दार्चुलामा १३ जना निको भएर घर फर्केका छन्।

प्रकाशित: २५ श्रावण २०७७ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App