७ वैशाख २०८१ शुक्रबार
समाज

मृतकको दुई प्रकारको कोरोना रिपोर्ट : कोसीमा पोजेटिभ र प्रदेशमा नेगेटिभ

बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरस कोभिड १९ को रिपोर्ट फरक आएको छ । २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको थियो ।  

मृगौला रोगी रहेका विराटनगर–१० का ६३ वर्षीय रमेश अग्रवालको उपचारका क्रममा शनिबार धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको छ ।  अग्रवाल बिरामी भएपछि उनलाई कोसी अस्पताल उपचारका लागि लगिएको थियो । उनको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि अग्रवाललाई फिबर क्लिनिकबाट स्वाब संकलन गरी घर पठाइएको थियो ।  

अग्रवालको स्वास्थ्यमा थप समस्या आएपछि परिवारले उनलाई धरानको बिपी प्रतिष्ठान लगेका थिए । शुक्रबार धरान जाँदासम्म उनको कोरोना रिपोर्ट आएको थिएन । प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरी पुनः कोरोना जाँच गर्न भन्दै स्वाब संकलन गरेको थियो ।

शुक्रबार इमरजेन्सीमा भर्ना भइउपचारका क्रममा शनिबार उनको मृत्यु बिपी प्रतिष्ठानले जनाएको छ । तर, उनको धरानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट भने कोसी अस्पतालको भन्दा ठीक उल्टो आयो ।  

कोसीमा बिहीबार संकलन गरेको स्वाबमा कोरोना पोजेटिभ देखिएको अस्पताले जनाएको छ । यता, एक दिनपछि शुक्रबार प्रतिष्ठानले संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा परीक्षणका लागि पठाएको स्वाबमा भने नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।  

कोसी अस्पतालका मेडिकल सुपररिटेन्डन डाक्टर चुमनलाल दासले भने, ‘अग्रवालको विषयमा हाम्रो ल्याब प्रष्ट छ । उनको रिपोर्टमा कोरोना भाइरसको पोजेटिभ देखिएको छ ।’ ‘मैले ल्याबसँग यस विषयमा बुझ्दा हाम्रोमा पोजेटिभ रिपोर्ट आएको छ,’ डाक्टर दासले भने, ‘फिबर क्लिनिकबाट स्वाब संकलन गरेर परीक्षण गरिएको रहेछ । ल्याबको रिपोर्टमा कुनै फरक पर्ने कुरै आउँदैन ।’

बिपी प्रतिष्ठानले अग्रवालको नेगेटिभ रिपोर्ट आएपछि शव आफन्तलाई जिम्मा लगाइदिएको जनाएको छ । उनको शनिबार नै परिवारले अन्त्ष्ठी गरेको छ । एक व्यक्तिको २४ घण्टाभित्र दुई फरक स्थानमा गरिएको कोरोनाको रिपोर्ट फरक आएपछि शव नेपाली सेनाले अन्त्ष्ठी गर्ने वा आफन्तको जिम्मा लगाउने विषयमा विवाद भयो । विराटनगर महानगरपालिकाले थोरै मलामीको उपस्थितिमा अन्त्ष्ठी गर्नुपर्ने सर्तसहित मृतकको शव आफन्तको जिम्मा लगायो ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘अग्रवालका परिवार सदस्यको पिसिआर परीक्षण गर्छौं । पिसिआर परीक्षण गर्दा कहिलेकाहीँ २५ प्रतिशतमा नदेखिने समस्या आउनसक्छ ।’

बिपी प्रतिष्ठानले इमरजेन्सी रिपोर्ट चाहिए प्रदेशको विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको जनाएको छ । प्रदेश प्रयोगशालामा ‘पोर्टेवल’ पिसिआर मेसिन छ ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले भने, ‘कहिलेकाहीँ स्वाब संकलन गर्दा प्राविधिक त्रुटीले गर्दा रिपोर्टमा फरक आउन सक्छ । रिपोर्टमा फरक देखिएकाले स्वाब सुरक्षित राखेका छौं ।’

‘हामीले यहाँ संकलन गरेर पठाएको स्वाबको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रदेश प्रयोगशालाले लेखेर पठाइदिएको छ,’ बिपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले भने, ‘नेगेटिभ रिपोर्ट आएका अग्रवालको मृत्युपछि हामीले उनको शव परिवारलाई जिम्मा दियौं ।’

प्रकाशित: २४ श्रावण २०७७ १५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App