६ चैत्र २०८० मंगलबार
समाज

विद्युत ट्रिपिङ्गको समस्या समाधान गर्न म्याग्दीका ब्यापारीको माग

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले मापदण्डभन्दा पाँच गुणा लामो फिडरका कारण दैनिक अनियमित विद्युत कटौती हुने गरेको छ । 

पर्वतको जलजला गाउँपालिकाको मिलनचोक सबस्टेशनबाट ११ केभि क्षमताको प्रशारण लाइनबाट म्याग्दी जिल्लामा जम्मा तीनवटा फिडरबाट क्षमताभन्दा पाँचगुणा बढी लाइन वितरण गरिँदा दैनिक विद्युत ट्रिपिङ्गको समस्या झेल्नुपरेको छ । बि.स ०६२ सालदेखि तीनवटा फिडरबाट सेवा दिइरहेको अवस्थामा प्रयोगकर्ता र क्षेत्र विस्तार गरिएपनि ठाउँठाउँमा आवश्यक पर्ने संरचनाको अभावका कारण छिनछिनमा विद्युत जाने गरेको छ । क्षमता विस्तारमा ध्यान दिन नसक्दा अनियमित विद्युतको समस्या समाधान हुन सकेको छैन ।  

विद्युत प्राधिकरणको मापदण्ड अनुसार सवस्टेशनबाट एक केभी बराबर ११ किलोमिटरसम्म विस्तार गर्नुपर्नेमा म्याग्दीमा एक केभी बराबर करिब ५० किलोमिटरसम्म लाइन विस्तार गरिएको प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख माधव महतले बताए । ‘फिडर लामो भएकाले समस्या उत्पन्न भएको छ,‘समस्या समाधानका लागि प्रयासरत छौ’ उनले भने । एक केभीबाट अधिकतम २० किलोमिटरसम्म फिडर तान्न सकिने भएपनि म्याग्दीमा लामो फिडरका कारण समस्या भइरहेको प्राधिकरणले जनाएको छ । पर्वतको मिलनचोक सबस्टेशनबाट पर्वत जलजला, रत्नेचौर क्षेत्रमा १ र बेनीबजार सहित पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकासम्म १ र उत्तरी म्याग्दी क्षेत्रको रघुगंग र अन्नपूर्ण गाउँपालिका १ गरी तीनवटा फिडर रहेको छ ।  

एउटा फिडरको लम्बाई करिब ४६ किलोमिटरसम्म रहेको छ । पश्चिम म्याग्दीको दरबाङमा सवस्टेशन निर्माणको काम सुस्त गतिमा अगाडी बढेको छ भने दानाको २२० केभीको सवस्टेशनमा समेत ढिलासुस्तीको कारण समस्या भइरहेको र लाइन विस्तार गरिएको वनजंगलमा सर्ट हुँदा फिडरमै असर गर्ने गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै पर्वत र बागलुङ्गमा विद्युत मर्मतको क्रममा म्याग्दीमा समेत हुने विद्युत कतौटी हुने गरेको छ । यसैबीच आधादशक यता अनियमित लोडसेडिङ्ग र ट्रिपिङ्गको समस्याले हैरानी खेप्नुपरेको भन्दै म्याग्दी उद्योग वाणिज्य संघले ज्ञापनपत्र समेत बुझाएको छ ।  

अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा गएको टोलीले पटक–पटक ज्ञापनपत्र सहितको ध्यानार्कषण गराउँदै समाधानका लागि प्राधिकरणले कुनै चासो नदेखाएको भन्दै समस्या समाधान नभए कार्यालय तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ । ‘विद्युत कम खपत हुने समयमा पनि ट्रिपिङ्गको समस्याले हैरानी खेप्नुपरेको छ,‘यहाँको समस्या समाधानमा कुनै चासो देखाएको छैन’ संघका अध्यक्ष कर्माचार्यले भने ।  

विद्युत आउने–जाने समस्याको तत्काल समाधानका उपाय नखोजे निकट भविस्यमै कार्यालयमा तालबन्दी बाहेकको कार्यक्रम नहुने अध्यक्ष कर्माचार्याको भनाई छ । ‘दर्जनौ ज्ञापनपत्र बुझाएपनि प्राधिकरणले कुनै सुनवाई भएको छैन,‘क्षमता छैन भन्दै गाउँगाउँमा लाइन विस्तार गरिएको छ’ उनले भने। साविकको धवलागिरी अञ्चलमा पवर्त र बागलुङको तुलनामा म्याग्दीमा ट्रिपिङ्गको समस्या रहेकाले लोडको आधारमा बेनीबजारमा छुट्टै फिडरबाट विद्युत आपूर्ती गर्न समेत ब्यवसायीले माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमले सरकारले गरेको लकडाउनको समयमा अत्याधिक विद्युत खपत हुने क्षेत्र बन्द रहेको अवस्थामा समेत ट्रिपिङ्गको समस्या देखिनु लाजमर्दो भएको ब्यापारीको भनाई छ ।  

ज्ञापनपत्र बुझाउने क्रममा पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम, सदस्य सरोज बानियाँ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी र पर्वतमा गरी बेनी वितरण केन्द्रबाट १८ हजार २ सय ग्राहक संख्या रहेको छ ।

प्रकाशित: २४ श्रावण २०७७ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App