६ चैत्र २०८० मंगलबार
समाज

महानगरले सडक, प्रदेश सरकारले पुल बनाउने

खपौंदी–पामे सकड खण्ड स्तरोन्नति

हल्लनचोक–पामे–घाँटीछिना सडक खण्ड १३ किलोमिटर छ । बहुवर्षे योजना अनुसार गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले निर्माणमा सहकार्य गर्दै आएका छन् । हल्लनचोकदेखि खपौदीसम्म कालोपत्रे सडक छ । पोखरा महानगरपालिकाले गत आर्थिक वर्षभित्रमा ४ किलोमिटर सडक खण्ड स्तरोन्नति गरेर कालोपत्रे गर्ने योजना बनाएको थियो । खपौदीदेखि पामे सडक खण्ड स्तरोन्नति गरिएको छ । तर कालोपत्रे हुन बाँकी छ ।

सडक खण्ड चैतमसान्तसम्म सक्ने सम्झौता थियो । कोभिड–१९ को महामारी निम्तियो । लकडाउन भयो । सडक निर्माणको योजना बीचैमा रोकियो । कामदार घर फर्किए । कालोपत्रे गर्ने भारतीय मजदुर आएका छैनन् । मजदुर नआउँदा कालोपत्रे गर्ने काम अझै लम्बिने सम्भावना देखिएको छ । लकडाउनकै कारण सडक निर्माणको सम्झौता कार्तिक मसान्तसम्म थपिएको छ । ४ किलोमिटर सडकको लागि महानगरको मात्रै ४ करोड ७१ लाखको बजेट छ । महानगरपालिकाको सडकको योजनासँगै प्रदेश सरकारले पामेसम्म पुग्ने विभिन्न खोलामा कल्भर्ट तथा पुल निर्माणको योजना छ ।

‘खपौदीदेखि पामेसम्मको सडक स्तरोन्नति गरिएको छ । नाली निर्माण गरिएको छ । अब कालोपत्रे गर्ने काम बाँकी छ । लकडाउनकै कारण ठेक्का सम्झौता लम्बिन पुग्यो’ पोखरा महानगरपालिकाका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘सम्झौता अनुसार ४ किलोमिटर कालोपत्रे गरिने छ ।’ कार्तिक मसान्तसम्म टुंग्याउनु पर्ने सम्झौता थपिएको छ । बहुवर्षे योजना अन्र्तगत गतवर्षदेखि निर्माण शुरु गरिएको सडक खण्डको दोस्रो चरणका काम शुरु हुने संघारमा छ । दोस्रो चरणमा पामेदेखि ठूला खेतसम्मको बाटो स्तरोन्नति गरिने छ । यो आर्थिक वर्षमा पोखरा महानगरपालिका, संघीय सरकार र प्रदेश सरकारको समपूरक साढे ५ करोडको बजेटबाट काम हुने उनले सुनाए । 

गण्डकी प्रदेश सरकारले पामेदेखि ठूला खेतसम्मको खोलामा पुल तथा कल्भर्ट निर्माण गर्न ७ करोड ८१ लाख रुपैयाँको बजेट छ । पामे खोलाको पूर्व र पश्चित तर्फ दुई किनारमा कल्भर्ट निर्माण गरिने छ । ठूला खेतको खहरे खोलामा भने पक्की पुल निर्माण गरिदैं छ । ‘खपौदीसम्म पृथक पृथक रुपमा कालोपत्रे गरियो । खपौंदीदेखि पामेबजारसम्म स्तरोन्नति गर्ने काम भईरहेको छ । खोलामा कल्भर्ट हालेर सवारी साधन सहज आवतजावत गराईने छ’ हल्लनचोक–पामे–ठूलाखेल–घाँटीछिना सडक निर्माण समितिका अध्यक्ष लेखनाथ पराजुलीले भने–‘खोलामा पुल र कल्भर्ट निर्माण गर्न पहिलो पटक आह्वान गरिएको टेण्डर रद्द गरेर फेरी टेण्डर आह्वान गरी सम्झौताको गरिएको छ ।’ 

उनका अनुसार पामेमा जि.एस इन्जिनियरिङ पोखरा तथा ठूला खेत खहरे खोलामा निलगिरी नेशनल(जे.भी) कन्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा पाएका हुन् । पामेकै बजारसँगै बग्ने खोलामा १२ मिटरको बक्स कल्भर्ट निर्माण गरिने छ । त्यसपछि अर्को छेउ तर्फ पनि रिटनेङ वाल उठाएर ९ मिटर अग्लो बक्स कल्भर्ट बनाईने छ । ‘खहरे खोलामा बनाइएको पुल समयमै बन्न सकेको छैन । पुल नहुँदा जोखिमपूर्ण यात्रा गाउँलेको बाध्यता बनेको छ ।’ उनको भनाई थियो ।

१० मिटर फराकिलो सडक निर्माण गरिँदा पामे बजारका घर भत्काउनुपर्ने अवस्था आएको छ । निर्माण समितिका अध्यक्ष पराजुलीका अनुसार सडक चक्ल्याउँदा १३ घर भत्काउनुपर्ने अवस्था छ । ‘भत्काईने घरको क्षतिपूर्ति छैन’ उनले भने–‘स्थानीयसँग सहकार्य गरेर सडक चक्ल्याउने काम गर्दै छौं ।’  घर बनाउँदा सेटब्याक छोडेर घर बनाउने बनाउने सहमति गाउँलेसँग गरिएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App