६ चैत्र २०८० मंगलबार
समाज

सीमामा अवैध सुनसहित एक जना पक्राउ

सीमासँग जोडिएको मोरङको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरी बलले शनिबार पक्राउ गरेको छ ।  

पछिल्ला समय लकडाउन र मौसमको अनुकूलताको फाइदा उठाउँदै तस्कर गर्नेहरू सलबलाउन थालेका छन् । मोरङसँग सीमा जोडिएको विराटनगरको दरैयाबस्ती र मटेरुवा, धनपालथानलगायतका स्थानबाट अवैधरूपमा सामान ओसारपसार हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरे पनि तस्करहरूले प्रहरीको आँखा छलेर सामान ओसारपसार गर्ने गरेका छन् ।

नेपाल पुलिसले दैनिकजसो सीमा क्षेत्रबाट अवैधरूपमा नेपाल–भारत ओसारपासरका सामन पक्राउ गरे पनि तस्करी भने रोकिएको छैन । नेपाल पुलिसले बिहीबार मात्रै धनपालथानको सीमा क्षेत्र हुँदै भारत लैग्दै गरेको करिब पाँच लाख रुपैयाँ बराबरको हरियो मटर बरामद गरेको थियो ।  

सशस्त्र प्रहरी बलको बिओपी बखरी पोष्टले गस्तीका क्रममा शनिबार विराटनगरको दरैयाबस्तीको सीमा क्षेत्रबाट भारततर्फ लैजान लागेको २ सय ६७ ग्राम सुनको चक्कीसहित एक जानलाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भने, ‘हाम्रो बिओपीको दैनिक गस्ती हुने गरेको र सोही क्रममा आज दस गाजा छेउबाट एक जनालाई सुनसहित पक्राउ गरेका हौं ।’

‘लकडाउनको समयमा भारततर्फ जान लागेकाले शंका लागि चेक गर्दा २ सय ६७ ग्राम सुनको चक्की फेला पारेका हौं,’ एसपी पौडेलेले भने, ‘यसको हालको बजार मूल्य करिब २३ लाख रुपैयाँ रहेको छ । उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबायल बरामद गरेका छौं ।

प्रहरीका अनुसार सुनसहित पक्राउ परेका व्यक्ति नेपाली भएको र उनीमाथि थप अनुसन्धान भइरहेकाले पक्राउ परेको व्यक्तिको नाम सार्वजनकि गर्न नमिल्ने बताए । पक्राउ परेका व्यक्तिलाई सुनसहित आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App