६ वैशाख २०८१ बिहीबार
समाज

उत्कृष्ट वन समूह पुरस्कृत

सामुदायिक वन दिवसको अवसरमा नेर्पामा आयोजित कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत । तस्बिर : नागरिक

खोटाङका उत्कृष्ट सामुदायिक, कबुलियती वन समूह तथा निजी वनलाई पुरस्कृत गरिएको छ । पाँचौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसर पारेर डिभिजन वन कार्यालय खोटाङले शनिबार सामुदायिक वनतर्फ साकेला गाउँपालिका–२ रतन्छास्थित वनपाला रभिला सामुदायिक वन उपभोक्ता समूहलाई प्रथम पुरस्कार, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित ठूलो पाखा सामुदायिक वन उपभोक्ता समूहलाई दोश्रो पुरस्कार र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित देबिस्थान सामुदायिक वन उपभोक्ता समूहलाई तेश्रो पुरस्कार प्रदान गरेको छ । सामुदायिक वनतर्फ प्रथम, दोश्रो र तेश्रो समूहलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ ।  

यस्तै, कबुलियती वनतर्फ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जनजागरण कबुलियती वन उपभोक्ता समूहलाई प्रथम, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित मंगलादेबी कबुलियती वन उपभोक्ता समूहलाई दोश्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित सयपत्री कबुलियती वन उपभोक्ता समूहलाई तेश्रो पुरस्कार प्रदान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कबुलियती वन समूहतर्फ प्रथम, दोश्रो र तेश्रो समूहले ११ हजार, ९ हजार र ६ हजार प्राप्त गरेका छन् ।  

यस्तै, नीजि वनतर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका खेमराज बस्नेत प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सुर्यबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राईलाई तेश्रो पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक वर्ष २०७६/०७६ मा गरिएको मूल्यांकनका आधारमा जिल्लाका सामुदायिक, कबुलियती र नीजि सामुदायिक वनलाई पुरस्कृत गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  

उत्कृष्ट वन समूहलाई डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, नेर्पाका वडाध्यक्ष माधव राई, महासंघका अध्यक्ष राजेन्द्र राई लगायतले पुरस्कार प्रदान गरेका थिए । दिवसको अवसरमा नेर्पामा रुद्राक्ष, तेजपात र चापको बृक्षारोपण गरिएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App