६ चैत्र २०८० मंगलबार
समाज

कोरोनाको चपेटामा परेका प्रडक्ट : कमाई थाल्ने बेला थन्किए

कहिलेदेखि प्रडक्ट चल्छन, थाहा छैन

पोखरामा निर्माणाधिन अन्नपुर्ण केवलकार । तस्बिरः उमेश पुन/नागरिक

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट दुई दशमलव ५ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । कोरोना भाईरस संक्रमणले लकडाउन नहुँदो हो त आगामि दसैंमा यो केवलकार सञ्चालनमा आइसक्थ्यो । तर, अब कहिलेदेखि केवलकार सञ्चालनमा आउँछ भनेर यसका सञ्चालक बताउन सक्दैनन् ।

केवलकारको तार (लठ्ठा) तान्ने, गण्डोला (डिब्बा) जडान गर्ने र मेसिन चलाउन जापानी कम्पनि निप्पोनका प्राविधिक आउनुपर्छ । तर, कम्पनिका ती प्राविधिक कहिलेसम्म नेपाल आउँछन भनेर भन्न सकिने अवस्था छैन । किनभने भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्ध छ । उडान खुलिहाले पनि जापानले आफ्ना नागरिकलाई नेपालसम्मको यात्राको अनुमति दिनुपर्छ । प्राविधिकि आउने दिन टुंगो लगाउन नसक्दा करिब ९२ प्रतिशत काम सकिएको यो केवलकारको सञ्चालन तिथि तोक्न सञ्चालक सक्दैनन् । केवलकारमा करिब १ अर्ब ६५ करोड रुपैयाँ लगानी छ ।

पर्वतको कुश्मा बजार नजिकै कालिगण्डकी नदीमाथि ५ सय २० मिटर लामो पुलमा २ सय २८ मिटर अग्लो बन्जी बनाईएको छ । द क्लिफ नेपाल प्रालिले कालिगण्डकीमाथि आकर्षक सिंगल स्पान झोलुगे पुल सहित बञ्जी, स्वीङ, स्काई साइक्लिङका पुर्वाधार तयार पारेको छ । त्यही पुलमा साहसिक गतिविधि गर्न मिल्ने पुर्वाधार बनाउँदा कम्पनिले करिब २५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

पाँचवर्ष अघिदेखिको निर्माण सकेर गत वैशाख १ देखि नै व्यवसायिक सञ्चालनको तयारी हुँदैगर्दा यो साहसिक प्रडक्ट पनि कोरोना भाईरस महामारीको चपेटामा परेको थियो । अब कहिलेदेखि सञ्चालनमा आउने भन्ने यकिन छैन । साहसिक पर्यटक तान्नका लागि निर्माण गरिएको यसका पुर्वाधारले नेपालमा आउने विदेशीको बसाई अवधि बढाउने अपेक्षा लगानीकर्ताको छ ।

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा पनि बञ्जीजम्पको पुर्वाधार तयार पारियो । निर्माण सकेर गत बैशाख १ देखि नै यो बञ्जी सञ्चालन गर्ने लगानीकर्ताको लक्ष्य थियो । त्यही अनुसार निर्माण पनि पुरा भएको थियो । तर, कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा बञ्जी प¥यो । बञ्जी नेपाल एडभेन्चरले सञ्चालन गर्न थालेको यो बञ्जी अन्तर्राष्ट्रिय हवाई उडान खुलेमा भदौ तेश्रो सातादेखि सञ्चालनको तयारीमा छ । आठकरोड रुपैयाँ बढी लगानी पोखराको बञ्जीमा छ ।

पर्वतमा कालिगण्डकी नदिमाथि बनाईएको पुल ।  तस्बिरः उमेश पुन/नागरिक

पोखरा र आसपासका क्षेत्रमा ठुलो लगानीमा बनेका यी केही पर्यटकीय पूर्वाधार हुन्, जो कोरोना भाईरसको चपेटामा पर्दा अन्योलग्रस्त अवस्थामा छन् । लामो समय लगाएर पुर्वाधार बनाएका यी प्रडक्ट व्यवसायिक सञ्चालनको तयारीमा जुट्दै गर्दा कोरोनाको मारमा परेका थिए । अब कहिलेदेखि सञ्चालनमा ल्याउन सकिन्छ भन्ने यकिन उनीहरुलाई छैन । काम सकेका पुर्वाधारले व्यवसायिक रुप पाउन सकेका छैनन भने काम सक्ने तरखरमा रहेका प्रडक्ट पनि यत्तिकै रोकिएका छन् । अझै कति समय सञ्चालनविहीन अवस्था रहनुपर्छ भन्ने जानाकारी उनीहरुलाई छैन ।  

केवलकार कम्पनिका निर्देशक तीर्थ त्रिपाठी लकडाउनका कारण केवलकारको तार तान्ने, डिब्बा जडान गर्ने, मेसिन चलाउने लगातयका काम रोकिएको बताउँछन् । ‘लकडाउन हुँदैनथ्यो भने आगामि दसैंसम्म हामीले केवलकार सञ्चालनमा ल्याईसक्थ्यौ, तर, अब यो सम्भावना छैन,’ त्रिपाठीले भने, ‘कहिलेदेखि सञ्चालन हुन्छ भनेर भन्न सकिन्न, किनभने रोकिएको काम सक्न जापानी प्राविधिक आउनुपर्छ, ती प्राविधि अहिले तत्काल आउने अवस्था छैन ।’  

त्रिपाठीका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान खुलेपछि मात्र जापानी कम्पनि निप्पोन केवलका प्राविधिकहरु नेपाल आउन सक्छन्, तर, त्यसमा जापान सरकारले पनि आफ्ना नागरिकलाई नेपालसम्मको यात्रा अनुमति दिनुपर्छ । नेपालका तर्फबाट उडान खुलिहालेपनि जापानले आफ्ना नागरिकलाई बाहिर निस्कन नदिन सक्ने हुँदा प्राविधिक आउने दिन यकिन नभएको उनले बताए । ती प्राविधिक नआएसम्म काम अघि बढ्न नसक्ने उनले बताए ।

‘ती प्राविधिकलाई पनि सबै काम सक्न दुईमहिना लाग्छ । काम सकिएपछि दुईमहिनासम्म परीक्षण गर्र्नुपर्छ,’ उनले भने, ‘त्यसैले कुनैपनि हालतमा दसैंको लक्ष्य पुरा हुँदैन ।’ यसअघि बैशाखमै पनि काम सक्ने लक्ष्य हुँदैगर्दा केही प्राविधिक समस्याले ढिलाई भएको उनले बताए । ‘९२ प्रतिशत काम सकिएको प्रोजेक्ट कहिले पुरा हुन्छ र व्यवसायिक रुप लिन्छ भनेर भन्न सकिन्न, उनले भने,‘लकडाउन नहुँदो हो त अहिलेसम्म काम सकिन्थ्यो । दसैंमा त हामीले व्यवसायिक रुप दिइसक्थ्यौं ।’

कोरोनाका कारण ठुलो लगानीको भविश्य नै अन्योलग्रस्त हुँदै गएको उनले बताए । ‘अब त झनै अनिश्चत हुँदै गएको छ । यो नेपालको मात्र नभई विश्वभरकै समस्या हो,’ उनले भने, ‘वर्षाै समय लगाएर ठुलो लगानी गरेका लगानीकर्ता व्यावसाय सुचारु गर्ने बेला मारमा परेका छन् । यो अप्ठेरोबाट उठ्न समय लाग्नेछ ।’  

अन्नपुर्ण केवलकारको परामर्शदाता रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल पनि कोरोनाले गर्दा केवलकारको सञ्चालन नै अन्योलपूर्ण बन्दै गएको बताउँछन् । ‘लामो समय र ठुलो लगानी गरेको व्यावसाय सञ्चालनको मुखमा कोरोनाको मारमा परेको छ । अवस्था सहज हुन उत्ति सहज छैन,’ उनले भने । ढकालका अनुसार केवलकारको तल्लो र माथिल्लो स्टेशन र दुवै ठाउँमा रेस्टुरेन्ट बनिसकेका छन् । त्यसबाहेक पोल गाड्नेदेखिका पुर्वाधार बनिसकेका छन् । २१ वटा डिब्बाबाट दिनमा दशहजार पर्यटकलाई पोखराबाट सराङकोट उकास्ने लक्ष्य यो केवलकारको थियो ।  

पर्वतको कुश्मास्थित कालिगण्डकीमा पुल सहित बञ्जी, स्वीङ र स्काई साइक्लिङका पुर्वाधार बनाएको द क्लिफ नेपालका सञ्चालक राजु कार्की पनि गत वैशाख १ गतेदेखि व्यवसायिक सञ्चालनको तयारीमा जुट्दै गर्दा कोरोनाको मारमा परेको बताउँछन् । ‘बैशाख एकदेखि व्यवसायिक रुपमा सञ्चालन गर्ने भनेर त्यो भन्दा अगाडि नै परीक्षण पनि गरेका हौ । तर, कोरोनाको मारमा यतिसम्म परियो की अब कहिलेदेखि खुल्छ भन्ने नै यकिन छैन,’ कार्कीले भने, ‘महंगो रकम खर्चने विदेशी र प्रयाप्त आन्तरिक पाहुना  नआएसम्म हामीले सञ्चालन गरेर पनि अर्थ राख्दैन । किनकी पाहुनाबिना हाम्रो ब्यापार थामिँदैन ।’  

पाँचवर्षदेखि निकै नै चूनौतीका साथ निर्माण गरेको पुर्वाधारबाट कमाई खाने बेला थन्किनुपर्दा आर्थिक रुपमा भार थपिएको उनले बताए । ‘व्यवसायिक रुपमा आम्दानी नभएपनि पोखरा क्षेत्रका पाहुना घुमघाममा आउन सक्छन भनेर हामीले पुल भने सञ्चालनमा ल्यायौं । तर, बञ्जी लगायतका साहसिक गतिविधिका पुर्वाधार तत्काल चल्ने अवस्था रहेन ।’ नमूना पुर्वाधार बनाएको भएपनि आम्दानीको मुखैमा मारमा परेको उनले सुनाए ।  

बैशाख १ देखि सञ्चालनको तयारी भएको पोखराको बञ्जी पनि कोरोनाकै मारमा छ । भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रोसातादेखि सञ्चालन गर्न सकिने भएपनि अवस्था सहज नभईसक्दा अन्योल सिर्जना भईरहेको बञ्जी नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक सन्तोष भट्टराइले बताए । उनका अनुसार गत बैशाख १ देखि नै यो बञ्जी सञ्चालनको तयारी भएकोमा कोरोना संक्रमणका कारण पछाडि सारिएको हो ।  

‘हामीले वैशाख १ गतेदेखि नै सञ्चालनको तयारी गरेका थियौ, तर, कोरोनाका कारण गरिएको लकडाउनले त्यो बेला सकिएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने दिनको प्रतिक्षामा छौ । भदौ १ गते अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रो सातामा सञ्चालनको लक्ष्य राखेको उनले बताए । त्यो बेलासम्म केही विदेशी आउनसक्छन । हाम्रो बञ्जीले तिनै साहसिक पर्यटक पर्खिरहेको छ ।’

डेढवर्ष अघि देखि यो बञ्जी बनाउन थालिएको थियो । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखेकोले साहसिक पर्यटक भित्रिने आशमा बञ्जी निर्माण गरेको भट्टराईले बताए । ‘सरकारले २० लाख विदेशी पर्यटक भित्रिने भनेपछि हामी पनि आशावादी भयौ । त्यही भएर ठुलो लगानी पनि गर्यौं,’ उनले भने,‘तर, कोरोनाका कारण मारमा परेका छौ । तोकिएको समयमा सञ्चालन गर्न पनि सकेका छैनौ । अब पनि अवस्था सहज छैन ।’

प्रकाशित: २४ श्रावण २०७७ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App