१० आश्विन २०७७ शनिबार
समाज

राजनीतिले सिन्दुरसँगै खुसी पनि खोस्यो

मान्छेले गर्ने काम पैसाले गर्दैन

‘मान्छेले गर्ने काम पैसाले गर्दैन रैछ, तै पनि गर्भको छोरा र बुढाबुढी बनेका सासु ससुराको मुख हेरेर बसे ।’ १९ वर्षको उमेरमा सेनाको गोलीबाट श्रीमान गुमाएकी पूर्वी रोल्पाकी ३९ वर्षीया गौरी (नाम परिवर्तन)ले आफ्नो योवनावस्था देश र परिवारका लागि कुर्बान गरिन् । मुठ्ठी बटारेर आमुल परिवर्तन गर्नका लागि माओवादी युद्धमा हिडेका श्रीमानको रगत मुठ्ठी भरका लागि भएको देखेर उनी दिक्क छिन् ।

राजतन्त्र गएको अनि गणतन्त्र आएको केहि नबुझेकी गौरी हिजो परिवर्तन गर्ने भनेर बन्दुक बोकेका केहि पात्रको जीवनशैली फेरिएको देखेर झनै अचम्मीत छिन् । पढ्नु पर्दैन भनेर स्कुलबाटै जंगल लगिएकाहरु घर फर्किन नपाउदै मुठ्ठी बटार्नेहरु सुकिला मुकिला भैसकेको देखेकी उनीसंग भन्ने शब्द पनि छैन । बुवाको अनुहार समेत देख्न नपाएका उनका छोरा २० वर्ष पुगेका छन् । माओवादी अनि युद्ध केहि नबुझेकी उनले बुवाको रगतले एउटा राजा फालेर दर्जनौ नेता जन्माएको बाहेक परिवर्तन नदेखेको बताउँछन् ।

तत्कालिन माओवादीले ५८ सालको अन्तिम तिर श्रीमान बेपत्ता बनाउदा भर्खरै २ वर्ष पुगेकी छोरीले १५ वर्षको उमेरमै बिबाह गरेपछि उत्तरी रोल्पाकी सारदा (नाम परिवर्तन) अहिले एक्लै छिन् । सुराकीको आरोपमा श्रीमान बेपत्ता बनाउनेहरु हिजो आज खुलेयाम हिडेको देख्दा समेत खासै असजिलो नमान्ने उनी परिवर्तनकारी भनिएकाहरुको जीवनस्तर छोटो समयमा फेरिएको देख्दा नरमाईलो मान्छिन् । ‘हाम्रा लागि परिवर्तन गर्छौ भन्नेहरु आफ्ना लागि पो हिडेका रैछन् ।’

जिल्लामा द्धन्द्धका समयमा दुबै पक्षबाट मारिएका ९ सय ६९ र ३३ बेपत्ताका परिवार यतिबेला बिचल्लीमा छन् । न सत्य निरुपण तथा मेलमिलाप आयोगले कुनै काम गर्यो नत बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले कुनै गतिलो नतिजा दिएको छ । सत्यनिरुपण र बेपत्ता आयोग आफै हराएपछि द्धन्द्धको घाउले पीडितलाई दुखाईरहन्छ । टोलटोलमा रहेका दर्जनौ घाइते अपांग अनि बिस्थापितहरुको समस्या पनि उस्तै पीडादायक छ ।

गाउँगाउँमा दरवारसहित खुलेका स्थानीय सरकारको समेत बेवास्तामा परेका वास्तबिक द्धन्द्ध पीडितहरु घर न घाटका बनेका हुन् । स्थानीय तहका सरकारमा बसेकाहरुको समेत बदलिदो जीवनशैली नजिकबाट नियालेका रोल्पालीहरु १० वर्षे सशस्त्र द्धन्द्ध धोका थियो या हितमा थियो भन्ने अन्यौतलामा छन् । केन्द्र सरकार र प्रद्रेश सरकारलाई स्थानीय सरकार देखाउने बाहाना बनेको छ । सबै समस्याबाट मुक्त भए जस्तै गरि माथिल्ला सरकाहरु द्धन्द्ध पीडितका सवालमा मौन जस्तै छन् । एक द्धन्द्ध पीडित पूर्व लडाकु भन्छिन् ‘हामीसंगै लडेकाहरु सत्ताको मुलधारमा हुनुहुन्छ तर हाम्रा अपेक्षाहरुमा सधै तुवालो मात्र लाग्ने गरेको छ ।’

उतिबेला मारिएका परिवार, बेपत्ता पारिएकाहरुका परिवार र यौनजन्य हिंसामा परेका महिलाहरुका पक्षमा देखिएको चौतर्फी मौनताका कारण पीडितले झनै पीडाको अनुभूती गरिरहेका छन् । ‘यतिबेला संघ, प्रदेश र स्थानीय तहमा अधिकांश सरकार परिवर्तनकारी भनिएकाहरुको नेतृत्वमा छ तर उहाँहरु बिगत भुलेर अगाडी बढिरहनु भएको छ ।’ द्धन्द्धकालमा श्रीमान गुमाएकी मुना (नाम परिवर्तन) भन्छिन् ‘हाम्रा आफन्तको रगतले देशमा परिवर्तन त आयो तर जनताका लागि नभएर टाठाबाठाहरुका लागि मात्र आयो ।’

‘परिपुरण र न्याय’ दुबै कुरामा राज्य मौन बस्न थालेपछि माओवादी द्धन्द्धका पीडितहरु निराश बनेका हुन । बिना कसुर मारिएका आम नागरिकका परिवारले न्याय त पाएनन् नै परिपुर्ण पनि नहुँदा परिवारको बिचल्ली सुरु भएको हो । द्धन्द्धकालमा श्रीमान गुमाएकी राधा (नाम परिवर्तन) भन्छिन् ‘हामीलाई न कुनै शिपमुलक तालिम दिईयो न त कतैबाट ऋण सहयोग नै पाईयो । श्रीमान गुमाउनुको पीडा त छदैछ । छोरा छोरी हुर्किदै गएपछि उनीहरुलाई भने अनुसारको शिक्षा दिन नपाउदाको पीडा अलग्गै छ ।’

अहिले पनि धेरै मृतक परिवारलाई राजनीति के हो भन्ने थाहा छैन तर त्यहि राजनीतिले सिन्दुर मात्रै पुछेन खुसी समेत उडाएर लग्यो । ‘मेरा श्रीमान मार्नेहरु कहाँ पुगे तर आफूहरु भुईको भुई मै छौ ।’ राज्यले सहिद मानेका द्धन्द्धताका ज्यान गुमाउनेहरुका परिवारलाई न्याय र परिपुरणको आवश्यकता छ भन्ने बुझेका बर्तमान ३ तहका राज्य संयन्त्रले खासै चासो दिएका छैनन् । केहि समय अगाडी पुर्नगठन भएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याउन सकेमा द्धन्द्ध पीडितका गुनासो घट्दै जाने दखिन्छ ।

प्रकाशित: २४ श्रावण २०७७ १८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App