coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको ‘कोटाल टोल’ सिल

काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिए । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।  

केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए ।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौंको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण बढ्दो क्रममा छ । शुक्रबार मात्रै उपत्यकामा १०० भन्दा बढीमा कोभिड–१९ संक्रमण भएको थियो । संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने संक्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । 

काठमाडौं उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App