८ वैशाख २०८१ शनिबार
समाज

टोलबासीले गरे प्लाष्टिक झोला प्रयोग नगर्ने प्रतिबद्धता

प्लाष्टिकजन्य झोलाको विस्थापित गर्न निःशुल्क वितरण गरिदैं । तस्बिर : हरिकृष्ण गौतम

म्याग्दीको सदरमुकाम बेनीको बिरेन्द्रचोकबासीले प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरू गरेको छ । जिल्लाको प्रमुख प्रशासनीक क्षेत्र समेत रहेको बेनी नगरपालिका–७, बिरेन्द्रचोक टोल सुधार समितिले टोलबासी, भाडामा बस्नेलाई झोला वितरणबाट अभियानको सुरुवात गरेको हो । शनिबार आयोजित कार्यक्रममा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिक झोलाको प्रयोगलाई हटाउने टोलबासीले सामूहिक प्रतिबद्धता जनाएका छन् ।  

टोलबासीको जन्मदिन र घर भाडामा बस्नेलाई सम्मान कार्यक्रमसँगै पहिलो चरणमा डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा प्राप्त झोला वितरण गरिएको र अपुग झोला समितिको आर्थिकबाट खर्च गरिने अध्यक्ष दलप्रसाद श्रेष्ठले बताए । ‘प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई हटाउने पहिलो सु्रुवात हो,‘अब हरेक कार्यक्रममा प्लाष्टिकजन्य बस्तुको प्रयोगलाई प्रतिबन्ध लगाइएको छ’ श्रेष्ठले भने । करिब २१ घरधुरी रहेको टोलमा घरधनी र भाडावालालाई अभियानमार्फत जानकारी गराइएको समितिका सचिव लालबहादुर भण्डारीले बताए ।

जुट र फेब्रीक झोलाको प्रयोगसँगै उत्पादनमा समेत टोलबासीलाई प्रोत्साहन गरिएको छ । एक वर्षभित्र टोलमा प्लाष्टिकको प्रयोगलाई सतप्रतिशत अन्त्य गर्ने योजना बनाइएको सचिव भण्डारीको भनाई छ । टोलबासीले अभियानमा बेनी नगरपालिकाको साथ र सहयोगको समेत अपेक्षा गरेको जनाएका छन् । प्लास्टिकजन्य वस्तुको प्रयोगले कारण प्रदूषण बढाउने र मानव स्वास्थ्यमासमेत असर पार्ने भएकाले टोलभित्र रहेका सरकारी कार्यालयमा समेत प्रयोग नगर्न समेत अपिल गरिने समितिले जनाएको छ । समितिले घरभाडामा बस्नेलाई स्वागत तथा विदाई, सार्वजनिक खानोपनीको सुविधा, दैनिक सरसफाई, एकघर एक डस्बिन, ट्राफिक नियन्त्रणको अभियान,सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाईमा सक्रिय रहेको छ ।  

घरधनी र भाडावालाको सम्बन्धलाई नमुना बनाउने अभियानलाई प्राथमिकता दिएको समितिले नजिकै रहेको बराहपाखो सामुदायिक बनमा जन्मदिनको अवसरमा एक ब्यक्ति एक बिरुवा रोपन गर्ने गरी पुष्प बगैंचा समेत बनाएको छ । टोलबासीको रचनात्मक कार्यलाई मध्यनजर गरी बेनी नगरपालिकाले नमुना टोलको रुपमा सम्मान समेत गरेको थियो । टोलबासीले आर्थिक जुटाएर कोष समेत बनाएका छन् ।

प्रकाशित: २४ श्रावण २०७७ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App