८ वैशाख २०८१ शनिबार
समाज

कोरोना कहर: विराटनगरमा भयावह बन्दै संक्रमण

प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । दश दिन अघिसम्म पनि निश्चित भूगोल र पेशाकर्मीमा मात्रै सिमित संक्रमण यतिबेला विराटनगरको हरेकजसो क्षेत्रमा देखापरेको छ ।

चिकित्सक, जनस्वास्थ्य विज्ञ सबै यसलाई समुदाय तहकै संक्रमण भनिरहेका छन् । तर, प्रदेशमा कोरोना नियन्त्रणको नेतृत्व गर्ने सामाजिक विकास मन्त्रालय र मन्त्री जीवन घिमिरे भने प्रदेशमा अझै पनि समुदायमा संक्रमण नपुगेको जिद्दीमा अडिग छन् । 'यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो', मन्त्री घिमिरेले नागरिकसँग भने, 'यसलाई टेक्निसियनहरुले समुदायको संक्रमण मानेका छैनन् ।'

प्रदेशका मन्त्री घिमिरे साता अघि जुन जिद्दीमा थिए, अहिले पनि उही अडानमा कायम रहँदा प्रदेशको अवस्था भने डरलाग्दो बन्दै जाँदैछ । स्वास्थ्यकर्मी र प्रहरी समूहमा मात्रै सिमित रहेको संक्रमण यतिबेला समुदायको अन्य क्षेत्रमा पनि पुगिसकेको छ । विराटनगर महनगरका फरक–फरक भूगोलमा संक्रमित भेटिने क्रम पनि  जारी छ । हाटबजारका व्यवसायी, सरकारी कर्मचारी, कलकारखानामा काम गर्ने मजदुर, पत्रकारदेखि घरबाट बाहिर हम्मेसी ननिस्कने सर्वसाधारणसम्मलाई देखापरेको छ ।

'विराटनगरमा अब कुनै क्षेत्र वा पेशाकर्मी संक्रमणबाट अछुतो रहेनन्', महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने 'त्यसैले यहाँ संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिएको छ ।' शनिबारसम्ममा विराटनगरमा मात्रै २ सय ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।  

विराटनगरमा यसरी संक्रमण ह्वात्तै बढेर समुदायसम्म कसरी संक्रमण फैलियो यकिन भइसकेको छैन । तर, चिकित्सकहरुको अनुमान अनुसार लकडाउन खुले लगत्तैदेखि उपचारका लागि आउन थालेका भारतीय विरामी, कामका लागि आउने भारतीय मजदुर र तस्करीधन्दामा संलग्नहरुले संक्रमण फैलाएका हुनसक्छन् । 'साउन ७ पछि यहाँ बन्द खुलेजस्तो दृश्य देखापर्यो', कोशी अस्पतालका एक चिकित्सकले भने, 'पूर्ववत अवस्थामा सबै गतिविधि पनि फर्कियो । संक्रमण तीव्र हुने कारण यही भयो ।' ती चिकित्सकका अनुसार विहार क्षेत्रबाट आँखा उपचार, परिवार नियोजन सम्बद्ध उपचारका लागि नेपाल भित्रनेको संख्या ठूलो छ ।

राजधानी सहरको यो डरलाग्दो चित्र मात्रै छैन, समग्र प्रदेशमै पनि समुदायका अलग क्षेत्र र भूगोलमा संक्रमण फैलिँदै गएको छ । शुक्रबार मात्रै झापा धुलाबारीका एक युवामा कोरोना पोजिटिभ देखियो । ती युवा धुलाबारी माविको खेल मैदानमा दिनहुँ चल्ने फुटबल अभ्यासमा सहभागी हुने र स्कुलको क्यान्टिनमा धेरैबेर रहने–बस्ने गरेको विद्यालय स्रोतले बतायो । व्यापारी परिवारका ती युवालाई संक्रमण कहाँबाट भयो, खुलेको छैन । तर, उनको सम्पर्कमा रहनेको संख्या ठूलो छ । झापामा पनि केही अघिसम्म प्रहरीमा मात्रै संक्रमण देखिएको थियो । पहाडी जिल्लाहरुको दाँजोमा प्रदेशका मोरङ, सुनसरी र झापा बढी प्रभावित देखिन्छन् । इलाममा सशस्त्र प्रहरीमा पनि ठूलै संख्यामा संक्रमण देखापरिसकेको छ ।

बैशाख ५ मा पहिलोपटक उदयपुरमा १२ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि भएयताको चार महिना साउन ७ सम्ममा  प्रदेश १ मा  कुल संक्रमितको संख्या ८ सय २४ मात्रै थियो । तर, त्यसयताको १७ दिनमा यो संख्या १ हजार ३ सय ८३ पुगेको छ । शनिबार मात्रै प्रदेशमा ६१ नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा कूल ५ र उपचारका लागि प्रदेश २ बाट आएका तीन गरी यहाँ आठ जनाले ज्यान गुमाइसकेका छन् ।

राजधानी विराटनगरदेखि अन्य जिल्लामा पनि समुदायका फरक क्षेत्रमा संक्रमण दर तीव्र भइरहँदा नियन्त्रण प्रयासमा भने उल्लेख्य प्रगति केही भएको छैन । पछिल्लो समय संक्रमित भएकाहरु घरैमा बसेका छन् । अस्पतालहरुमा आइसोलेसन बेड अभाव छ । तर, वीपी प्रतिष्ठानमा लामो समयसम्म कोभिड अस्पतालको संरचना बनाउनै ढिला गरियो । त्यस्तै पहुँचवालाहरुको छिटो रिपोर्ट आउने तर सर्वसाधारणको भने चार पाँच दिनसम्म पनि पिसिआर रिपोर्ट नआउने समस्या प्रदेशमा उच्च छ । सामाजिक सञ्जालमा यसबारे गुनासो छताछुल्ल भइरहेको छ ।

प्रदेश सरकार भने कमजोरी भएको स्वीकार गर्ने अवस्थामा छैन । मन्त्रीहरु सबै कुरा नियन्त्रणमै रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, जनस्वास्थ्यका क्षेत्रमा काम गरिरहेका चिकित्सकहरु यो मान्न तयार छैनन् । चित्किसका अनुसार 'प्रदेश र संघ सरकारले साउन पहिलो साता पछिदेखि कोरोना सकिएजस्तो व्यवहार गरे । कमजोरी त्यहीँ भयो ।' अझ संक्रमण उच्च भएको पछिल्लो १० दिनमा त प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु सबै काठमाडौंमै रहे । लामो काठमाडौं बसाईपछि मुख्यमन्त्री शेरधन राई र मन्त्रीहरु प्रदेश फर्किएका छन् । मुख्य नेतृत्व  नै प्रदेश बाहिर रहेकाले नियन्त्रणका ठोस  गतिविधि हुनै पाएन । 'अहिले पनि बितिहालेको केही छैन, अब आइतबार हाम्रो बैठक छु,' एक जना मन्त्रीले भने  'बैठकले विस्तृत कार्ययोजना बनाउनेछ ।'

प्रकाशित: २४ श्रावण २०७७ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App