coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षाकर्मीमा यसरी फैलियो कोरोना संक्रमण

सामान्य ‘ड्यूटी’ देखि भिआइपीको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण बढेको छ। बिहीबार मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ६ जना सुरक्षागार्डमा कोरोना पुष्टि भयो। शीर्ष नेताकै सुरक्षा गार्डमा कोरोना फैलिएपछि कोरोना त्रास बढेको छ।  

पछिल्लो समय अग्रपंक्तिमा खटिएर काम गर्नेमध्ये कोरोना संक्रमणबाट प्रहरी सबैभन्दा बढी प्रभावित बनेका छन्। कार्यालयभित्र काम गर्ने, शीर्ष नेतालाई सुरक्षा दिने र ड्युटीमा खटिने प्रहरीमा कोरोना देखिन थालेपछि प्रहरी तहमा कसरी कोरोना फैलियो भन्ने प्रश्न उठ्न थालेको छ। कोरोना फैलिएको क्षेत्रमा खटिएका प्रहरी सुरक्षाकर्मीमा कोरोना देखिनु स्वाभाविक भए पनि चौबिसै घण्टा भिआइपीको सुरक्षामा खटिने प्रहरीलाई समेत कोरोना देखिएपछि प्रहरीले थप सावधानी अपनाएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार प्रहरीले जोखिम मोलेरै पेसागत जिम्मेवारी निभाएका कारण कोरोना फैलने क्रम बढ्दो छ। प्रहरी प्रधान कार्यालय मातहतका कार्यालयबाट आवश्यक परेको ठाउँमा थप सुरक्षाकर्मी खटाउँदा उनीहरू फर्किएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको देखिएको छ। प्रहरी प्रधान कार्यालयले केही साताअघि सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएकाको उद्धारका लागि प्रधान कार्यालयबाटै केही सुरक्षाकर्मी खटाएको थियो। त्यहाँबाट सिधै प्रधान कार्यालय फर्किएका उनीहरूमा कोरोना पुष्टि भएको थियो।  

त्यस्तै, ड्युटीमा खटिएका प्रहरी बिदा बसेपछि पुनः ड्युटीमा जोडिँदा परीक्षण नगरेकाले पनि संक्रमण फैलिने गरेको छ। प्रवक्ता कडायतले अहिले बिदा लिएर घर गएर पुनः काममा फर्किएकालाई सिधै नखटाइएको बताए। उनले ७० जना प्रहरीलाई क्वारेन्टिनमै राखिएको जानकारी दिए। ‘प्रहरीलाई एकै ठाउँ बसेर काम गरेर पुग्दैन, जति नै सुरक्षित हुन्छु भने पनि घटना भएको ठाउँमा पुग्नैप¥यो, सम्भावित जोखिम क्षेत्रमा खटिएकामा कोरोना देखिनु स्वाभाविक भए पनि भित्र काम गर्नेमै कोरोना देखिएपछि झन् सावधानी अपनाउनुपर्ने देखिएको छ,’ प्रवक्ता कडायतले भने। उनका अनुसार बाहिरी क्षेत्रमा खटिएका प्रहरीको ब्यारेक र मेस छुट्याइएको छ। मातहतका कार्यालयबाट काममा खटिएका सबै प्रहरीलाई स्वास्थ्य प्रोटोकल अपनाउन प्रधान कार्यालयले निर्देशन दिएको छ।  

गृह मन्त्रालयका अनुसार भिआइपीको सुरक्षामा काम गर्ने सुरक्षागार्ड सँगसँगै हिँड्ने र कार्यक्रमस्थल वा घरबाट काममा फर्कंदा हेलचक्र्याइँ गरेकाले सुरक्षागार्डमा कोरोना बढेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार त्यहाँ कार्यरत थप १० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको बताएका थिए। योसँगै देशभर संक्रमित हुने प्रहरीको संख्या २ सय ५० नाघेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कुल संक्रमितममध्ये १ सय १५ जना निको भएर काममा फर्किएका छन्। संक्रमित हुनेमध्ये ८५ जना प्रधान कार्यालयमै कार्यरत रहेका छन्। प्रहरीमा कोरोना देखिएपछि प्रहरी प्रधान कार्यालयभित्र प्रहरीबाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन।  

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले प्रहरी तहमा कोरोना बढेकाले उच्च सावधानी अनाएको बताए। उनले संक्रमण बढे प्रहरीले अत्यावश्यक कामलाई मात्र जोड दिने बताए। उनले भने, ‘अहिलेसम्म त केही काम भइरहेका छन्, अवस्था गम्भीर बन्यो भने प्रहरीले पनि सुरक्षा अपनाएर अत्यावश्क काम मात्र गर्छ।’ उनका अनुसार परिसरबाट खटिएका प्रहरीलाई सर्वसाधारणसँग दूरी कायम राख्न निर्देशन दिइएको छ।  

कोरोना सक्रमण बढेपछि सशस्त्र प्रहरीले सुरक्षा प्रोटोकल परिवर्तन गरेको छ। नियमित ड्युटी परिवर्तन गरी समूह बनाएर १५/१५ दिन एउटा समूहलाई फिल्डमा खटाउने गरी स्वास्थ्य सुरक्षा अपनाइएको हो। सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बाहिरी क्षेत्रको सुरक्षामा खटिएकाको सुरक्षामा थप चासो दिँदै खाने र बस्ने ठाउँ पनि अलग गरिएको बताए। उनले भने, ‘महामारी फैलने त्रास सबैतिर बढेको छ, हामीले जहाँजहाँ संक्रमण देखिएको छ, त्यहाँ त्यहाँ सिल गर्ने र छुट्टै राख्ने काम गरेका छौं।’

सशस्त्रका ४६ जना संक्रमित  

भीम चापागाईं/इलाम

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार थप १६ जनामा कोरोना पोजेटिभ देखिएपछि सो संख्या ४६ पुगेको हो।  

असार १८ गते सशस्त्र प्रहरीका ३८ सहित स्थानीय टोलका ६० जनाको स्वाब नमुना पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विमल बरालले बताए। योसँगै इलाममा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ। भारतीय सीमा क्षेत्र र क्वारेन्टिनमा खटेका सशस्त्र प्रहरीमा धमाधम कोरोना पोजेटिभ देखिइरहेको छ। जोखिम बढेपछि सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ यसअघि नै सिल गरिएको छ। सूर्याेदय नगरपालिका–११ स्थित आइतबारे बजार पनि जोखिमकै कारण सिल गरिएको छ। स्थानीय सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरले अर्काे सूचना नभएसम्मका लागि बजार बन्द गरेको हो।  

सूर्याेदय नगरले दक्षिणपूर्वमा मेची राजमार्गस्थित सशस्त्र प्रहरी पोस्ट, दक्षिणपश्चिममा मेची राजमार्गबाट आइतबारे बजार छिर्ने सडकको मुख, उत्तरमा आइतबारे पुरानो धारा र पूर्वाेत्तरमा पूर्णेडाँडा पानी ट्यांकीबीचको क्षेत्र सिल गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले सूचना जारी गरी बिहीबार साँझ ५ बजेदेखि लागु हुनेगरी अर्काे सूचना नभएसम्मका लागि बजार सिल गरिएको जनाएका छन्।  

आइतबारे बजार नै घर भएका सशस्त्र प्रहरीका १ जवान सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ बाट गत १० गते सरुवा भई आइतबारे बेसक्याम्प गएका थिए। उनलाई पहिला पिसिआर जाँच गरेर मात्रै क्याम्पमा सहभागी गराइने भएपछि होम क्वारेन्टिनमा बसेको बेसक्याम्पका इन्स्पेक्टर दीपक बस्नेतले बताए। ‘संक्रमित जवान क्याम्पमा नमिसिएको हुनाले थप जोखिमचाहिँ छैन,’ इन्स्पेक्टर बस्नेतले भने, ‘जोखिम बढ्न नदिन उनको घर रहेको आइतबारे बजार सिल गरिएको हो।’ मंगलबार सूर्याेदय–२ को पशुपतिनगर क्वारेन्टिन र स्थानीय बेस क्याम्पको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका २ जनामा कोरोना संक्रमण पाइएको थियो। जिल्लाका विभिन्न स्थानीय तहबाट कोरोना पुष्टि भएका ३२ जना डिस्चार्ज भई घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७७ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App