coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा उद्योगबाट फैलियो कोरोना संक्रमण

धरान औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ उद्योग । तस्बिर : नागरिक

साउन १४ गते धरान १३ का एक युवामा कोरोना पोजेटिभ देखियो । लकडाउन अघिदेखि नै धरानमा रहेका उनको ट्राभल हिष्ट्री थिएन । तर, कन्ट्याक ट्रेसिङ र हिष्ट्री खोज्ने क्रममा उनी अडिटरको रुपमा कार्यरत धरान औद्योगिक क्षेत्रको प्रिति भल्भ एण्ड फिटिङ्स उद्योगका २ जना कर्मचारी जनकपुुर, विराटनगर आउजाउ गर्ने गरेको खुल्यो ।  

तिनै दुई मध्ये एक जनालाई हल्का ज्वारो आएको भन्ने जानकारी पाएपछि धरान उपमहानगरपालिकाले स्वाब संकलन गरेको थियो । कर्मचारीमा संक्रमण देखिएको र अन्यको स्वाब संकलन गरिएको अवस्थामा पनि सञ्चालक अशोक अग्रवालले भने ती कर्मचारीहरु उद्योगमा नगएको दाबी गर्दै उद्योग बन्द गर्न मानेनन् । स्थानीय सरकार र प्रहरी प्रशासनले पनि सञ्चालककै भनाईलाई विश्वास गर्दै उद्योग बन्द गराउनतर्फ ध्यान दिएन ।  

पछि, धरान १ र ८ मा डेरा गरि बस्ने दुवै कर्मचारीको रिपोर्ट पोेजेटिभ आयो । ती मध्ये धरान ८ का कर्मचारीको श्रीमती, एक छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरु डेरा गरि बस्ने घरमा नै उद्योगमा काम गर्ने अन्य कर्मचारीहरु पनि बसेको खुलेपछि मात्र साउन १८ गते साँझ प्रहरीले उद्योगलाई सिल गर्‍यो । विगतमा विदेशबाट आएर धरानको क्वारेन्टिनमा बसेकाहरुमा मात्र संक्रमण पुष्टि हुँदै आएकोमा अहिले प्रिति भल्भ उद्योगका कामदार, उद्योगका संक्रमित कामदारसँग सम्पर्कमा आएका आफन्तहरुमा कोरोना संक्रमण देखिने क्रम जारी छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बिहीबार साँझसम्म धरानमा ४१ जनामा संक्रमण देखिएको छ । ती मध्ये १६ जना क्वारेन्टिन बाहिरका संक्रमित हुन् । ति मध्ये पनि १४ जना प्रिति भल्भ उद्योगसँग सम्बन्धित संक्रमितहरु छन् । ‘उनीहरु जति पनि संक्रमित छन्, ति प्रिति भल्भ उद्योगसँग जोडिएकाहरु हुन् । कोही कामदार छन्, कोही उनीहरुकसँग क्लोज कन्ट्याकमा रहेर संक्रमित भएकाहरु हुन्,’स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने,‘जनकपुर, विराटनगरतिर आउजाउ गरिरहेका कामदारबाट नै धरानमा संक्रमण फैलिएको अहिलेसम्मको कन्ट्याक ट्रेस र ट्राभल हिष्टीबाट खुलेको छ ।’उद्योगले आवश्यक सावधानी नअपनाउदा संक्रमण फैलिएको उनको भनाई छ ।

धरानमा समुदायमा संक्रमण फैलिएको भन्दै कडा लकडाउन गर्नुपर्ने आवाज उठेपछि उपमहानगरपालिकाले बिहीबारदेखि एकसातालाई लकडाउन निर्णय गरिसकेको छ । साथै, समुदायस्तरमा ५ सय जनाको स्वाब संकलन पनि गरिसकेको छ । यसको रिपोर्टले धरानमा संक्रमण कुन तहमा फैलिएको भन्ने प्रष्ट पार्ने मेयर तिलक राई बताउँछन् । ‘हामीले वीपीको चिकित्सकहरुसँग सहकार्य गरेर धरानको उच्च जोखिम क्षेत्र पहिचान गरेर, र सबै वडामा धेरै मानिसहरुको चहलपहल, आवतजावत हुने ठाउँबाट नमुना छनौट गरेर स्वाब लिएका छौं,’मेयर राई भन्छन्,‘यसको रिपोर्ट आएपछि मात्र संक्रमण कुन हदसम्म पुगेको छ भन्ने प्रष्ट हुन्छ ।’

‘स्रोत पहिचान भएसम्म समुदायमा संक्रमण होइन’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका समुदायिक चिकित्सक डा. प्रज्वल प्याकुरेल संक्रमित व्यक्तिहरुको स्रोत पहिचान भएसम्म समुदायमा संक्रमण फैलिएको भन्न नमिल्ने बताए । यसको लागि कन्ट्याक ट्रेसिङ महत्वपुर्ण हुने उनले बताए । ‘समुदायमा संक्रमण फैलिनलाई संक्रमितको लिंक वा स्रोत को हो ? भन्ने नखुलेको हुनुपर्छ । लिंक भेटियो वा संक्रमितलाई को बाट संक्रमण सर्‍यो भन्ने खुल्यो भने समुदाय संक्रमण होइन,’उनले भने,‘त्यसैले कन्ट्याक ट्रेसिङ महत्वपुर्ण हुन्छ । संक्रमण गराउने दर उच्च भएकोले कसैलाई संक्रमण भएको छ भने ४८ घण्टाभित्र ट्रेसिङ गर्नुपर्छ ।’

अनुगमनको संयन्त्र बनाउनुपर्छ

चिकित्सक डा.प्याकुरेल संक्रमण फैलन नदिन अनुगमन गर्ने संयन्त्र बनाउनुपर्ने बताउँछन् । मानिसहरुमा हात धुनुपर्छ, मास्क लगाउनुपर्छ र भौतिक दूरी कायम गर्नुपर्छ भन्ने थाह भएर पनि वास्ता नगर्ने गरेकोले संक्रमण फैलिदै गएको उनको भनाई छ । ‘विदेशतिर ड्रोन क्यामेराले अनुगमन गर्छन् । हाम्रोमा त्यो सम्भव नभए पनि अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ,’उनी भन्छन्,‘कहाँ के भइरहेको छ ? उद्योगहरुमा पनि कसरी काम हुदैछ ? नियमित अनुगमन गर्ने र संयन्त्रमा रहेका विज्ञहरुबाट सल्लाह लिएर अघि बढ्नु उचित हुन्छ ।’

प्रकाशित: २२ श्रावण २०७७ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App