५ वैशाख २०८१ बुधबार
समाज

रातिराति अवैध ढुंगा,गिटी झिक्ने आधादर्जन बढी ट्याक्टर नियन्त्रणमा

बलान खोलामा ढुंगा, गिटी चोर्ने क्रममा नियन्त्रणमा लिइएका ट्याक्टरहरु प्रहरी परिसरमा । तस्बिर : महेश्वर/नागरिक

उदयपुरका विभिन्न खोला खहरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण गर्ने आधादर्जन बढी प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा र सप्तरीसँग सीमाना जोडिएको उदयपुरको उदयपुरगढी गाउँपालिकाका खोला खहरेबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । गएको असारदेखि नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

उदयपुरगढी गाउँपालिका ७ कोल्टेस्थित बलान खोलामा अवैध रुपमा उत्खनन गर्दै गरेको पाइएपछि सोमबार रातभर प्रहरी टोली खटेर ट्याक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार रातिराति उत्खनन हुने गरेको खबर आएपछि टोली खटाएर रातभर खोलामै राखेर नियन्त्रण लिइएका ट्याक्टरहरु मंगलबार बिहान सदरमुकाम ल्याएर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

जिल्ला प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीय चौकीका प्रहरीसँग संयुक्त टोली बनाई राति खोला पसेर उत्खनन गर्ने स १ त ४९८२, स १ त ४७११, स २ त ६९९४ नं. का ट्याक्टरहरु नियन्त्रणमा लिइएका हुन् । त्यस्तै स १ त ७४००, स १ त ५०२७, स १ त ७००९ र एउटा अनटेस्ट ट्याक्टर पनि घटनास्थलबाट नियन्त्रणमा परेका छन् । पक्राउ ट्याक्टरका चालकहरु भने प्रहरी देख्नेबित्तिकै फरार रहेकाले कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ । पक्राउ ट्याक्टरहरु अहिलेसम्म आफ्नो भनेर कसैले दाबी नगरेको प्रहरी भनाइ छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाही गर्न जिल्ला समन्वय समितिको जिम्मा दिने तयारी भइरहेको छ ।

उदयपुर ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति’ लागू भएको जिल्ला भएकाले रहेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि खोला नदी तथा खहेबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री वितरण कार्यमा रोक लगाउदै आएको छ । तर, सदरमुकाम र बजार नजिकका नदी, खोला खहरेमा यो नियम सामान्य लागू भए पनि प्रहरी प्रशासनको नजर नपुग्ने क्षेत्रका खोला खहरेबाट अवैध रुपमा उत्खनन र बिक्री वितरण हुने गरेको जनगुनासो आउने गरेको छ । अवैध काम हुने क्रम नरोकिएको भन्दै जनगुनासो आएपछि प्रहरी चनाखो भएर नियन्त्रणका लागि लागी पर्दा ती ट्याक्टर पक्राउ परेको एसपी दाहालले बताए ।

सदरमुकामकै त्रियुगा, बरुवा र लुहालेलगायत खोला खहरेबाट पनि बेलाबेलामा चोरी निकासी र अवैध उत्खनन हुने गरेको गुनासो आउने गरेको छ । चुरे जंगललाई क्षति पुग्ने भन्दै भण्डै १० वर्षयता हरेक वर्षायाम अवधि असारदेखि भदौसम्म ३ महिना कुनै पनि खोला खहरेबाट नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरणमा पूर्णतः रोक लगाउने सरकारी निर्देशन भए पनि नियन्त्रण भने हुन नसकेको स्थानीयको गुनासो छ । जिल्ला समन्वय समितिले यो अवधिमा उत्खनन गरे प्रति ट्याक्टर पहिलो पटक ५ हजार र घट्ना दोहोरिए परिमाण र प्रकृति अनुसार जरिवाना र सजाय तोक्न सक्ने नियम समितिले दिएको छ ।  

जिल्ला समन्वय प्रमुख खड्ग परियारले अवैध उत्खनन र बिक्री वितरण गर्ने ट्याक्टरमाथि नियमानुसार कारबाही हुने बताए । उदयपुरगढी गाउँपालिकको घट्ना भएकाले घट्ना र क्षतिको प्रकृति हेरेर कार्यविधि अनुसार कारबाही गर्न गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई निर्देशन दिएको भन्दै प्रमुख परियारले गाउँपालिकाले कारबाही नगरे समन्वय समितिले नियमानुसार कारबाही गर्ने बताए । ‘उदयपुर चुरे क्षेत्रभित्र पर्ने जिल्ला भएकाले चुरे संरक्षणका लागि भनेर असारदेखि भदौसम्म कुनै पनि नदीजन्य पदार्थ निकाल्न पाइन्न’ परियारले भने, ‘तर, नियम उल्लंघन गरेर चोरी निकास गर्नेमाथि कानुन बमोजिम कारबाही हुन्छ । गाउँपालिकालाई कारबाही गर्न निर्देशन दिएको छु, नगरे समन्वयले कारबाही गर्छ ।’

प्रकाशित: २० श्रावण २०७७ १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App