६ चैत्र २०८० मंगलबार
समाज

प्रदेश ५ पूँजीगत बजेट कार्यान्वयनमा पहिलो भएको दाबी

कोरोना महामारीका विचमा पनि प्रदेश ५ सरकारले बजेट कार्यान्वयनमा सफलता प्राप्त गरेको दाबी गरेको छ । प्रदेश योजना आयोगले तीन दिनसम्म बुटवलमा गरेको प्रदेश विकास समस्या समाधान समितिको बैठकपछि मंगलबार पत्रकार सम्मेलन गरि पूँजीगत बजेट कार्यान्वयमा ७ वटै प्रदेशमा पहिलो भएको जनाएको हो ।

उक्त बैठकलाई भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए । उनले कोरोना महामारीमा प्रदेश ५ दोस्रो प्रभावित क्षेत्र भएपनि बजेट कार्यान्वयनमा भने सन्तोषजनक सफलता प्राप्त गरेको बताए । उनले अब चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा गम्भिरतापूर्वक लाग्न मन्त्रालयलाई निर्देशन समेत दिए ।  

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगले कोभिड १९ को बिषम परिस्थितीमा गत आर्थिक वर्ष २०७६/७७ को ७०.१ प्रतिशत बजेट कार्यान्वयन भएको तथ्यांक प्रस्तुत गरेको छ । पूँजीगत तर्फ ७९.२९ र चालूतर्फ ६०.५४ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । सरकारले ३४ अर्ब २ करोड २८ लाख ५८ हजार रुपैयाँमध्ये २५ अर्ब ५२ करोड ९२ लाख २९ हजार खर्च गरेको छ ।  

प्रदेश सरकारको आन्तरीक राजस्वमा ३ अर्ब ४८ करोड ९१ लख रुपैयाँ संकलन गर्न सफल भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश ५ का प्रमुख सचिव तोयनारायण ज्ञवालीले कोरोना महामारीका विच पनि बजेट कार्यान्वयनमा भने ठूलो सफलता प्रांप्त गरेको दावी गरे । उनले विधि, प्रक्रियाका हिसाबले प्रदेश ५ ले उत्कृष्टता हासिल गरेको बताए ।  

‘केहि कमि कमजोरी छन् तर कार्यलय स्थापना, कानुन निर्माणमा हामी अन्य प्रदेश भन्दा अगाडि छौं’ प्रमुख सचिव ज्ञवालीले भने । उनले अझै ४० प्रतिशत कर्मचारी पूर्ती हुन बाँकी रहेको बताउँदै कर्मचारी अभावका विचमा पनि बजेट कार्यान्वयन सफलतापूर्वक गरेको बताए ।  

गत आर्थिक वर्षमा १ सय ५३ किमि सडक कालोपत्रे गर्न सफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोनाले स्वास्थ्य क्षेत्रमा चुनौतीसँगै प्रदेशको स्वास्थ्य पूर्वाधारको स्तर उन्नती गरेको छ ।  

मन्त्रालयगत रुपमा भने भौतीक पूर्वाधार विकास मन्त्रालयले ८३.१८ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ६९.५८ प्रतिशत, सामाजिक विकास मन्त्रालय ७६.८६ प्रतिशत बजेट कार्यान्वयन गरेको जनाइएको छ । बैठकमा मन्त्री, मन्त्रालयका सचिव एंव महाशाखाका प्रमुखहरुको सहभागिता थियो ।

प्रकाशित: २० श्रावण २०७७ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App