७ वैशाख २०८१ शुक्रबार
समाज

खोटाङ कोरोना संक्रमितमुक्त

सबै संक्रमितले कोरोना जितेपछि खोटाङ कोरोना संक्रमितमुक्त भएको छ । कोभिड–१९ बाट संक्रमित जिल्लाका १२ जना स्थानीय उपचारपछि डिस्चार्ज भएसँगै जिल्ला संक्रमितमुक्त बनेको हो । 

पछिल्लो समय कोरोनाबाट संक्रमित बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुष निको भएर घर फर्किएसँगै जिल्ला कोरोना संक्रमितमुक्त बनेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । कोरोना संक्रमण भएको पूष्टी भएपछि गत साउन १० गतेदेखि जिल्ला अस्पताल दिक्तेलको आइसोलेसनमा राखिएका उनी सोमबार डिस्चार्ज भएका हुन् । यसअघि जिल्लाका ११ जना संक्रमित उपचारपछि कोरोना जितेर घर फर्किसकेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् । खोटाङमा ७९५ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो । प्रशासनका अनुसार हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३०२, हलेसी तुवाचुङ नगरपालिकाका २०४ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, खोटेहाङ गाउँपालिकाका ५८ जना, जन्तेढुंगा गाउँपालिकाका ३४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४९ जना, साकेला गाउँपालिकाका ३० जना, रावाबेँसी गाउँपालिकाका २६ जना, बराहपोखरी गाउँपालिकाका १३ जना जना र केपीलासगढी गाउँपालिकाका १३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटी टेष्ट गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

प्रकाशित: २० श्रावण २०७७ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App