कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिकालगायतका स्थानीयतहहरूले लकडाउनको घोषणा गरिसकेका छन् ।
विराटनगरमा समुदाय स्तरमा कोरोना फैलिए पछि महानगरपालिकाले साउन १६ गते राती देखि लकडाउनको घोषणा गरेको थियो । महानगरपालिकाले लकडाउनको घोषणा गरेपछि नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् । नगर क्षेत्रमा अनावश्यक हिंडडुल गर्न, तोकिएका र तोकिएका स्थानबाहेक व्यपार व्यवसाय सञ्चालन गर्न पनि रोक लगाइएको छ । विराटनगर महानगरपालिकाले लकडाउनको घोषणा गरे पनि केही दिन स्थानियले लकडाउनको वेवास्था गरेका थिए । तर, सोमबार विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएपछि स्थानिय त्रसित भएका छन् ।
मंगलबार विहानै देखि विराटनगरमा विगतका दिनमा भन्दामानिसको चहलपहल घटेको छ । स्थानीय प्रशासन र विराटनर महानगरपालिकाले नगर क्षेत्रभित्र माइकिङ गरेर अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ । मंगलबार देखि विराटनगर महानगर क्षेत्रमा लकडाउन कडा पारिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । पराजुलीले भने, ‘मंगलबार देखि लकडाउन कडा पार्दै पिसिआर परीक्षण बढाउँदै लैजाने योजना महानगरको छ ।’ लकडाउन पालना गराउन प्रहरी परिचालन बढाइएको छ । विशेष गरी विराटनगर प्रवेश गर्ने नाकाहरूमा प्रहरीले कडाइ गरेको छ ।
सोमबार मोरङको रंगेली नगरपालिकामा एउटै घरका १४ जनामा कोरोना पोजेटिभ देखिएपछि रंगेली नगरपालिकाले बजार क्षेत्र र भारतसंगको सीमावर्ती वडाहरूमा मंगलबारदेखि आवतजावत बन्द गरेको छ । यस्तै सुनवर्षी नगरपालिकाले पनि समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । यता मोरङको सुन्दर हरैंचा नगरपालिकाले भने बिहीबार देखि लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै मोरङको रतुवामाई नगरपालिकाले पनि मंगलबार देखि लकडाउन गर्ने निर्णय गरेको छ । रतुवामाइले मंगलबार राती देखि १० दिन लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख रविन राईले जानकारी दिए ।
मोरङमामात्रै हैन प्रदेश १ का अन्य जिल्लाका स्थानिय तहहरूले पनि लकडाउन गर्न थालेका छन्। सुनसरीको इनरुवा र दुहवीमा लकडाउन गर्ने निर्णय भइसकेको छ । यस्तै झापाको शनिअर्जुन र विर्तामोड नगरपालिकाले पनि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरिसकेका छन् । यस्तै बाह्रदशी गाउँपालिकाले पनि आंशिक रुपमा लकडाउनको निर्णय गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङमा २० संक्रमित थपिए
मंगलबार मोरङका ५ वटा स्थानीय तहमा २० जना संक्रमित भेटिएका छन् । मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । प्रदेश १ मामंगलबार ४३ जनाकोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।
प्रदेश १ माकोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जनामोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जनाप्रदेश १ बाहिरकाजिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मामंगलबार ९ सय ९७जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २० श्रावण २०७७ १२:३९ मंगलबार