coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मलेखुमा माछाको प्रतिमा

गजुरी गाउँपालिकास्थित मलेखुबजारमा निर्माण गरिएको माछाको प्रतिमा ।

माछाका लागि प्रसिद्धि कमाएको ठाँउ हो धादिङको मलेखु बजार । वि.स.२०३५ सालदेखि मलेखुका छविलाल मरहठ्ठाले व्यवसायीक रुपमा माछा व्यापार सुरु गरेका थिए । मरहठ्ठाले स्थानीय खोलाको आधा केजी माछा र १ केजी आलुबाट सुरु गरेको माछा–चप व्यवसायले आज मलेखु बजार र देश विदेशमा प्रसिद्ध बनेको छ । अहिले माछाको व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दै गएको छ ।

राजधानी काठमाडौ भित्रिने र बाहिरिने नाका भएका कारण पनि सबैको लोकप्रिय ठाउँको रुपमा मलेुखको माछा बजार बनेको छ । माछा बजारको रुपमा परिचित मलेखुको पहिचान जोगाइराख्न माछाको प्रतिमा निर्माण गरिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न गजुरी गाउँपालिकास्थित मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई मलेखुमा थप आकर्षित गर्न गजुरी गाउँपालिकाले ढलौटको माछाको प्रतिक बनाएर मलेखु चोकमा राखेको हो ।

माछा बजारको रुपमा देश विदेशमा चिनिन सफल भएकाले मलेखुमा माछाको प्रतीक निर्माण गरिएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए । ‘मलेखुलाई माछा बजारको रूपमा चिनाउने काम ४२ वर्ष अघिदेखि सुरु भएको हो’, उनले भने, ‘त्यतिवेला एक जनाले सुरु गरेको व्यवसाय बढ्दै गएर आज सयौं होटल मलेखु आसपास र गजुरी गाउँपालिकामा मात्रै ४५ वटा होटल व्यवसायिक रुपमा सञ्चालन भएकोमा मलेखुमा माछाको प्रतिक बनाएर मलेखुको पहिचानलाई जोगाउन खोजेका हौँ ।’

मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उनका छोरा अनिश महर्जनले निर्माण गरेका हुन् । प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको छ । राजमार्ग छेवैमा निर्माण गरिएको प्रतिमाले मलेुखको पहिचानलाई सदैव जोगाइराख्ने स्थानीयको भनाई छ ।

मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवन, वीरगञ्ज, जनकपुर लगायतका स्थानबाट ल्याइएका माछा पाइन्छन् । सुरुका दिनमा मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किएपछि बैकल्पिक श्रोतबाट मलेखुमा माछा ल्याउन थालिएको हो । २०५० सालपछि तराई क्षेत्रका माछाले मलेखसुमा प्रवेश पाएको व्यवसायीहरु बताउँछन् ।

अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन् । तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् । जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् । खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन् । अधिकंशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लाने गरेका छन् । माछा मात्रै होइन आलुचप पनि त्यतिकै लोकप्रिय छ ।

मलेखुका होटलमा माछाका पारखीहरुको चाहना जस्तै त्रिशुलीका माछा भने कमै मात्र पाइने गरेका छन् । जिल्लामा उत्पादित माछाले मात्र बजारको माग धान्न नसकेपछि तराईका विभिन्न जिल्ला र भारतबाट माछा आयात हुने गरेको व्यापारीहरु बताउँछन् । मलेखु बजारमा मात्र प्रतिदिन दुईदेखि तीन टनभन्दा धेरै माछा खपत हुने गरेको छ । त्रिशुली नदिमा पाईने स्थानीय प्रजातीका माछाहरु विभिन्न कारणले लोप हुँदै गएकाले मलेखु बजारमा भारतीय बजार र तराईका माछा आयात गर्नुपरेको व्यापारीहरुको भनाई छ । 

प्रकाशित: २० श्रावण २०७७ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App