१० आश्विन २०७७ शनिबार
समाज

वीरगन्जमा कोरोना संक्रमितको सफल डायलसिस

वीरगन्जमा २ दिन अगाडि मात्र दोस्रो कोरोना अस्पतालको रुपमा प्रयोगमा ल्याइएको वीरगन्ज हेल्थ केयरमा एक जना मिर्गौला रोगी कोरोना संक्रमित महिलाको सोमबार सफल रुपमा डायलसिस गरिएको छ।  नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिंहको निगरानीमा डायलसिस गरिएको र बिरामीको अवस्था समान्य रहेको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैसले बताए।  

पछिल्लो समयमा वीरगन्जमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिने क्रममा नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि संक्रमित भेंटिए।  यस कारण सो अस्पतालमा अगाडिदेखि त्यहाँबाट प्रदान गरिदै आएको नियमित सेवाहरु बन्दहुँदा नियमित डायलसिस गराउने मृगौला रोगका पीडितहरुलाई पनि अन्यत्र सार्नु पर्ने भएको थियो।  वीरगन्जको नेशनल मेडिकल कलेजमा ति बिरामीहरुलाई पठाउने प्रस्तावमा कलेज प्रसाशनले सबै बिरामीहरुको पिसिआर जाँच गराएर मात्र त्यहाँ पठाउन भनेको थियो।  अस्पतालका अनुसार पिसिआर गराएपछि त्यसमध्ये ३ जना मृगौला रोगीमा कोरोना भाइरसको संक्रमण भेंटिएको थियो।  

सोही मध्ये पेशाले शिक्षिका रहेकी एक जना करिब ३० वर्षिय महिलाको सोमबार वीरगन्ज हेल्थ केयरस्थित कोभिड अस्पतालमा डायलसिस गरिएको हो।  ‘अर्को एक जना पुरुषको भोली डायलसिस गर्ने प्लानिङ्ग छ।  हेरौं इश्वरको कृपा रहे हामीले बढीभन्दा बढी ब्यक्तिको ज्यान बचाउन सफलहुने छौं,’ डा. अबुल हैसले भने, ‘अस्पतालसंग रहेको चार मध्ये एउटा मेशिन आज संक्रमितको लागि प्रयोग भएको छ, यसबाट कोरोना बिरामीहरुको मात्र डायलसिस गर्ने हामीले सोंचेका छौं। ’ वीरगन्ज हेल्थकेयरका प्राविधिक अनिल बरईसंग नारायणीका प्राबिधिकहरु अनिल झा र नरेन्द्र कुशवाहा सहितको टोलीले डा. सिंहको नेतृत्वमा डायलसिस पुरा गरेको हो।  

संकट व्यवस्थापन केन्द्र पर्साले साउन १५ मा सिफारिस गरेपछि राष्ट्रियस्तरमा रहेको संकट व्यवस्थापन केन्द्रको निणर्य अनुसार बहुअरी गण्डक स्थित एक सय सैयाको वीरगंज हेल्थहेयर हस्पिटल कोभिड अस्पतालको रुपमा सञ्चालन भएको हो।  पछिल्लो समयमा यस क्षेत्रमा गम्भीर प्रकृतिका कोरोना संक्रमितहरु थपिदै गएपछि यो कोरोना अस्पताल थपिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।  यस अघि ५० सैयाको गण्डक अस्पताल मात्र यहाँ नारायणी अस्थायि कोभिड अस्पतालको रुपमा संचालनमा थियो।  नारायणी अस्पतालको मातहतमै यो अर्को कोभिड अस्पताल पनि संचालित छ।  

 

 

 

प्रकाशित: १९ श्रावण २०७७ २१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App