१५ चैत्र २०८० बिहीबार
समाज

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउने १० जनाकै सनाखत (अपडेट)

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई स्थानीयको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरेको बताए। उनका अनुसार पहिरो पन्छाएर ज्यान गुमाउने सबै ८ काे शव टहरोबाट निकालिएको छ। मृतक सबैकाे पहिचान खुलेको छ।  

प्रहरीका अनुसार मृतकहरूमा भारतीय नागरिक राजेन्द्र चाैरसिया(४२), तथा वीरगन्जका प्रदीप चाैरसिया(३५), राजेन्द्र चाैधरी(२१), बिक्रम सिंह(२५), मानबहादुर रूम्बा(२३), सिमन घलान(२०), शीवबालक धामी(२१) र साेनम लामा(१७) छन्। 

घाइते भारतीय नागरिक बारु शाहलाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उनको उद्धार गरिएको थियो।  

उपचारका लागि धुलिखेलतर्फ लगिए पनि सडक अवरुद्ध भएपछि उनलाई पुनः मेलम्ची फर्काइएको थियो। जिरोकिलो–मेलम्ची खण्डको जर्के खोलामा पहिरोले सडक अवरुद्ध छ। टहरोमा कभर्डहल निर्माणमा संलग्न मजदुर सुतिरहेका थिए। मेलम्ची बजारमा केही समययता कभर्डहल निर्माण भइरहेको छ। झण्डै १५–२० मिटरमाथिबाट खसेको पहिरोले टहरो पुरेको थियो।  

श्रीमान्–श्रीमतीकै मृत्यु

पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ। माथिबाट खसेको पहिरोले बिहान दुई बजेतिर घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।

स्थानीयले पहिरो पन्छाएर शब निकालेको उनले जानकारी दिए। घरमा उनीहरु मात्र सुतिरहेका थिए। मानेखर्क प्रहरी चौकीबाट हिँडेको टोली अझै घटनास्थल पुग्न सकेको छैन। पैदल हिँड्नु पर्ने र घटनास्थल टाढा रहेकाले प्रहरी पुग्न समय लागेको अध्यक्ष लामाले बताए।  

उनका अनुसार केही दिनअघिको बर्षाले पहिरो निम्तिएर बरुवाको स्थानीय स्वास्थ्य चौकी जोखिममा परेको थियो। सोही स्थानबाट पहिरो खस्दा दम्पति सुतिरहेको घर पुरेको हो। गाउँपालिकाले सुरक्षित स्थलमा सर्न अनुरोध गरे पनि दम्पति अन्यत्र नगइ घरमै बसिरहेका थिए। गाउँपालिकाका आधा दर्जनभन्दा बढी ठाउँमा सोमबार पहिरो जाँदा ठूलो भौतिक क्षतिसमेत भएको अध्यक्ष लामाले जानकारी दिए। उनकाअनुसार दर्जनभन्दा बढी पशुचौपायासमेत मरेका छन्। 

प्रकाशित: १९ श्रावण २०७७ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App