४ वैशाख २०८१ मंगलबार
समाज

ऐन मिचेर ६० करोडको टेन्डर आह्वान

सशस्त्र प्रहरी बल (एपिएफ) ले बोर्डर आउट पोष्ट (बिओपी) लाई आवश्यक संरचना निर्माणका लागि खास प्रकारको सामग्री प्रयोग भएको सामान आपूर्ति गर्ने बोलपत्रदातालाई मात्र मिल्नेगरी ६० करोडको बोलपत्र आह्वान गरेको पाइएको छ।

एपिएफले गत असार ३० मा ३० दिनको म्याद दिएर आह्वान गरेको राष्ट्रियस्तरको ठेक्कामा प्रतिस्पर्धा नै सीमित गर्नेगरी सामग्रीको प्रकार नै तोकेर इपिएस आरपी प्रयोग भएको नन्बुम (नजल्ने) स्यान्डविच वाल प्यानल र स्यान्डविच रूफ प्यानल र स्टिल स्टक्चर हुनुपर्ने विशेष सर्त तोकेको छ। एपिएफले यस प्रकारको प्यानल आपूर्र्तिकर्तासँगको मिलेमतोमा निश्चित प्रकारको उत्पादकलाई मात्र लाभ पुग्नेगरी सर्त राखेको देखिन्छ। यो सामग्री प्रिफ्याव भवन बनाउन प्रयोग हुन्छ। एपिएफले बोलपत्रको सूचनामा नै विशेष योग्यता भनेर उल्लेख गरेको उक्त सर्तले इपिएसबाहेकका पिआइआर, पियुआर, मिनरल वुललगायतका सामग्री प्रयोग गरी बनेका स्यान्डविच प्यानल आपूर्तिकता टेन्डर प्रक्रियामा सहभागी हुन सुरुमै अयोग्य हुने देखिन्छ।  

सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ को उपदफा (३) मा सार्वजनिक निकायले मालसामान, निर्माण कार्य वा सेवा खरिद गर्नुअघि त्यस सम्बन्धी स्पेसिफिकेसन, योजना, नक्सा, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरण तयार गर्दा ‘मालसामान, निर्माण कार्य वा सेवाको विशेषता स्पष्ट बुझिनेगरी उल्लेख गर्न अर्को कुनै उपाय नभएको अवस्थामा बाहेक कुनै खास ब्राण्ड, टे«डमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न सकिने छैन,’ भन्ने प्रावधान रहेको छ। तर एपिएफले ब्यारेकका लागि आवश्यक संरचना बनाउनका लागि आह्वान गरेको टेन्डरमा त्यसको ठाडो उल्लंघन गर्दै इफिएस मटिरियल प्रयोग भएको स्यान्डविच वाल प्यानल र स्यान्डविच रूफ प्यानल हुनुपर्ने विशेष सर्त राखेको तथ्य फेला परेको हो।

बोलपत्रको सूचनाको बुँदा नम्बर पाँचमा विशेष योग्यतामा तोकिएको सर्त पूरा गर्ने आपूर्तिकर्तालाई मात्र टेन्डरमा सहभागी हुन योग्य हुने भनिएको छ। उक्त क्वालिफिकेसन्समा इपिएर आरपी नन्बुम स्यान्डविच वाल प्यानल, २९५ स्क्वायर फिट, इपिएर आरपी नन्बुम स्यान्डविच रूफ प्यानल, २९५ स्क्वायर फिट र स्टक्चरल स्टिल कम्तीमा ११ हजार ३ सय केजी हुनुपर्ने उल्लेख छ।  

एपिएफको आर्थिक प्रशासन हेर्ने एसपी पूर्ण साउदले एपिएपले बिओपीका लागि आवश्यक संरचना निर्माणका ठेक्का आह्वान गरेको बताउँदै प्रक्रियमा नै रहेको विषयमा बोल्न उपयुक्त नभएको तर्क गरे। टेन्डरसम्बन्धी सबै कुरा इन्जिनियरहरूले हेर्ने भएकाले आफूहरूले यो विषयमा जवाफ दिने नमिल्ने उनको भनाइ छ। ‘प्राविधिक कुरा इन्जियिरले हेर्ने हो, आफूहरूले आर्थिक कुरा हेर्ने हो प्राविधिक कुरामा बोल्न जरुरी छैन,’ साउदले भने।  

अधिवक्ता सुशील अधिकारी मालसामान वा निर्माण कार्य वा अन्य सेवाको कामसँग असम्बद्ध हुने योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागी हुन कुनै किसिमले बाधा पु¥याउने वा औचित्यबिना प्रतिस्पर्धालाई सीमित गर्नेगरी विवरण, आधार, संकेत वा शब्दावली उल्लेख गर्न नमिल्ने तर्क गर्छन्। एपिएफको टेन्डरमा योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागी हुन बाधा पु¥याउने र औचित्यबिना प्रतिस्पर्धालाई सीमित गर्ने विवरण राखिएको उनको बताए। यसले निश्चित उत्पादकको आपूर्तिकर्तासँतको सेटिङमा ठेक्कामा कानुनविपरीत सर्त राखिएको आरोप लगाउने प्रशस्त आधार रहेको अधिवक्ता अधिकारीको भनाइ छ।  

सशस्त्र प्रहरी बलका अधिकारीहरू पनि संगठनका उपल्लो तहका अधिकारीको निर्देशनमा कुनै निश्चित सामग्री प्रयोग भएको उत्पादकको सामान मात्र खरिद गर्न सक्नेगरी स्पेसिफिकेसन तयार पारिएको बताउँछन्।  

एपिएफले ६३ ठाउँमा बोर्डर आउट पोष्ट (बिओपी) का लागि आवश्यक पर्ने निवास (ब्यारेक), कार्यालय भवन, मेस भवन, प्रवेशद्वार, सेफ्टी ट्यांक, शौचालय, खानेपानी टंयाकीलगायतका संरचना निर्माणका लागि टेन्डर आह्वान गरेको हो। एपिएफले खास ब्रान्डले मात्र सहभागी हुन पाउने र अन्य ब्रान्डको आपूर्तिकर्ताले सहभागी हुने अयोग्य हुनेगरी आह्वान गरेको टेन्डरमा मिलेमतो भएको गृह मन्त्रालयकै उच्च अधिकारीको दाबी छ।

प्रकाशित: १९ श्रावण २०७७ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App