बाँकेका आइतबार डाक्टरसहित ९ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपाली सेनाको राँझा ब्यारेकमा कार्यरत एक जना डाक्टरसहित ९ जनालाई कोरोना संक्रमण भएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा ती डाक्टरसहित ९ जनामा संक्रमण भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार फेला परेका नयाँ संक्रमित २२ देखि ५५ वर्ष उमेर समूहका सबै पुरुष रहेका छन् । संक्रमित ब्यक्तिमा जिल्ला अदालतका ४, नेपाली सेनाको अस्पतालका ३ र ईलाका प्रहरी कार्यालय कोहलपुरका एक जना बन्दी र खजुरा निवासी युवक रहेका छन् । अहिलेसम्म फेला परेका कोरोना संक्रमितलाई लायन्स डेन्टल अस्पताल, आन्तरिक राजश्व कार्यालय नेपालगन्ज, आर्दश नगर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन सेन्टरमा राखिएको बताइएको छ ।
बाँकेमा निषेधाज्ञा जारी
कोरोना भाइरस (कोभिड–१९) पुनः समुदायस्तरमा संक्रमण फैलिएपछि बाँकेमा आइतबारबाट निषेधाज्ञा जारी गरिएको छ । स्थानीय त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट नयाँ संक्रमित फेला परेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कुरुङवाङले समुदायस्तरमा कोरोना संक्रमित फेला परेपछि निषेधाज्ञा जारी गरिएको बताए । जिल्लामा संक्रमितको संख्या क्रमशः घट्दै गइरहेका बेला अचानक समुदायस्तरमै फैलिएपछि निषेधाज्ञा जारी गर्नु परेको उनको भनाई छ । निषेधाज्ञाको पहिलो दिन आइतबार दिनभर नेपालगन्ज, कोहलपुर लगायत क्षेत्र सुनसान बन्यो । सडकमा सुरक्षाकर्मीको बाक्लो मात्रामा उपस्थिती रहेको थियो । निषेधाज्ञाका क्रममा औषधि उपचार तथा अत्यावश्यक काम बाहेक कोही पनि घरभन्दा बाहिर निस्कन नपाएको प्रजिअ कुरुङवाङले बताए । गत कोरोना संक्रमित बढी मात्रामा देखिन थालेपछि स्थानीय प्रशासनले त्रिभुवन चोक क्षेत्रलाई सिल गर्ने तयारी गरेको छ ।
‘त्रिभुवन चोक क्षेत्र कोरोनाको हटस्पट जस्तो भएको छ, त्रिभुवन चोक क्षेत्रलाई सिल गर्ने प्रस्ताव मैले गरेको छु, तत्कालका लागि त्रिभुवन चोक क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौं, अझै बढ्यो भने सिल गर्ने योजना छ,’ उनले भने । बाँकेमा लागू गरिएको तीन दिने निषेधाज्ञालाई क्षेत्र अनुसार बढाउन सकिने प्रजिअ कुरुङवाङले सुनाए । बिहीबार एकैदिन २७ जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
प्रकाशित: १८ श्रावण २०७७ १३:५९ आइतबार