तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति समेत संकटमा पर्ने चिन्ता छ । यस्तै चिन्ताका बीच व्यास नगरपालिका–१३ गुँदीमा स्थानीयको सक्रियतामा जनै अभियान मार्फत युवापुस्तालाई जनै बाट्ने परम्परा सिकाउन थालिएको छ । स्थानीय उत्पादनलाई प्रथामिकता, संस्कृतिको संरक्षण एवं धागोले बैद्धिक विधिअनुसार जनै बाट्ने परम्परागत शैली लोप हुन लागेपछि स्थानीयहरु यसको संरक्षणमा जुटेका हुन् ।
विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा तालिम समेत सञ्चालन गरेर संस्कृति संरक्षणमा स्थानीय सक्रिय बनेका हुन् । जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आर्कषित गर्नको लागि अभियान सुरु गरेको जनै अभियानका अभियन्ता इश्वरराज पन्तले बताए । पन्तले धागो खरिद गरेर सहयोग गरेपछि पाका पुस्ताले नयाँ पुस्तालाई जनै बनाउने अभियान सञ्चालन गरेका हुन् । ‘तागाधारीको पहिचान भनेकै जनै रहेकोले यसको संरक्षणको लागि अभियानकै रुपमा अगाडी बढाएको हो,‘ उनले भने । विशेष गरेर स्वरोजगार हुन चाहने व्यक्तिको लागि जनै बाट्ने काम निकै प्रभावकारी हुने पन्तको भनाई छ । ‘जनै फुर्सद भएको बेलामा पार्ट टाइम जवको रुपमा यसलाई प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
गुँदीका स्थानीयहरुले अहिले तत्कालको लागि आफूलाई लगाउनको लागि जनैको प्रयोग गरिने भएपनि पछि यसलाई व्यवसायीक रुपमा अगाडी बढाउनको लागि पाका पुस्ताले प्रशिक्षण दिएर नयाँ पुस्तालाई जनै बनाउन सिकाइरहेका छन् । रक्षाबन्धनलाई मध्यनजर गरेर गत बुधबारबाट जनै बुन्ने प्रशिक्षण समेत गुँदीमा सञ्चालन गरिएको छ । १० जना पाका पुस्ता प्रत्येकले दुई जना युवालाई जनै बाट्ने विभिन्न विधिको बारेमा जानकारी गराइरहेका छन् ।
कोभिड १९ का कारण अध्ययनन तथा रोजगारीको शिलशिलामा शहर तथा विभिन्न स्थानमा पुगेका युवाहरु समेत अहिले गाउँमा छन् । गाउँमा अभियान सञ्चालन भएपछि जनै बाट्ने काममा युवाहरुले समेत सक्रियता देखाएका हुन् । काठमाडौमा रोजगारी गर्दै आएका स्थानीय शिवराम कडेल लामो बन्दाबन्दीको समयमा गाउँमा रहँदा जनै बनाउन सिकेको बताए । ‘अहिले सम्म जनै बाट्न आउथेन अहिले सिके,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग किर्तिपुरमा स्नाकोत्तर तहमा विज्ञान विषय लिएर अध्ययन गर्दै आएका सुमन पन्तले लकडाउनमा घर आएको समयमा हजुरबुवाबाट जनै बाट्न सिकेको बताए । ‘अहिलेसम्म जनैको बारेमा चासो थिएन अहिले गाउँमा अग्रजहरुले अभियानकै रुपमा जनै बनाउने भन्नुभयो मैलेपनि सिके,’ उनले भने । आगामी दिनमा जनै संस्कृतिलाई निरन्तरता दिने पन्तको भनाई छ । काठमाडौँ गएपनि जनै बाट्ने कामलाई फूर्सदको समयमा निरन्तरता दिने पन्तले दाबी गरे ।
पाका पुस्ताहरु पनि जनै संस्कृति युवा पुस्तालाई पुस्तान्तरण गर्न आतुर थिए । अहिले जनै संस्कृति पुस्तान्तरण गर्न पाउँदा खुशी लागेको स्थानीय बद्रिनाथ पन्तको भनाई छ । ‘जनै बनाउने विभिन्न चरणको बारेमा नयाँ पुस्तालाई सिकाइयो,’ उनले भने ।
अहिले गुँदीका पाका पुस्ता र युवा पुस्ता गरि तीस जना भन्दा बढी व्यक्ति जनै बाट्ने काममा व्यस्त छन् । गत वर्षहरुमा जनै बनाउने संस्कृति समेत हराउदै गएपछि यस वर्ष गाउँका स्थानीयहरुको अग्रसरतामा अभियान नै चलाइएको व्यास–१३ का वडा सदस्य एकराज तिवारी बताए । ‘युवापुस्तालाई संस्कृति पुस्तान्तरणको लागि कार्यक्रम प्रभावकारी भएको छ,’ उनले भने ।
प्रकाशित: १८ श्रावण २०७७ १३:५२ आइतबार