स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका वृद्धवृद्धा र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । आइतबार नियमित पे्रस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् । देशभर कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले यस्तो अनुरोध गरेको उनले बताएका छन् ।
डा.गौतमका अनुसार ६० वर्षमाथिका व्यक्तिमा मधुमेह र उच्च रक्तचाप जस्ता अन्य रोग पहिल्यै भइसकेको हुन्छ । उनीहरुमा कोरोना संक्रमण भयो भने ज्यानै जाने जोखिम भएकोले कोरोना नियन्त्रण नभएसम्म घरबाहिर निस्कन नहुने गौतमले बताए । ‘ज्यानको माया लाग्छ भने घर बाहिर निस्कनु भएन’ उनले ६० वर्षमाथिका व्यक्तिलाई इंगित गर्दै भने ।
त्यसैगरी १२ वर्षमुनिका बालबालिकाहरुले घर बाहिर निस्केपछि व्यक्तिबीच भौतिक दूरी कायम नगर्ने र मास्क लगाउने कुरामा लापरवाही गर्ने भएकोले उनीहरुलाई घर बाहिर ननिस्कन भनेको डा.गौतमको भनाई छ ।
मन्त्रालयले लकडाउन खोल्नुअघि र खोलेपछिको अवधिमा कोरोना संक्रमणदर ०.८ प्रतिशतले वृद्धि भएको र मृत्यु संख्या पनि बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ । कोरोना महामारीको स्थिति बढ्दै गएपछि मन्त्रालयले प्रभावित जिल्लाहरु जनकपुर र पर्सामा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहसहितको उच्च स्तरीय टोली वीरगंज पुगिसकेको र अन्य स्थानमा समेत उच्च स्तरीय टोली पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण धेरै जनघनत्व भएका सहरी क्षेत्रमा फैलिएमा यसले विकराल रुप लिने भएकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गनै अनुरोध गरे । यो अवधिमा घर बाहिर निस्कदा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्ने र सावुनपानीले हात धुने, मास्क प्रयोग गर्दा डोरीमा समातेर मात्र प्रयोग गर्ने, हात धुनुअघि अनुहारमा हातले नछुने जस्ता नियम पालना गर्न अनुरोध गरे ।
उपत्यकामा थप ३१ जना संक्रमित
गत २४ घण्टामा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितसहित उपत्यकामा संक्रमित हुनेको संख्या ५ सय ६० जना पुगेका छन् । त्यसैगरी आइतबार नै देशभरिमा थप २ सय ४६ जना संक्रमित भएका छन् । नयाँ संक्रमितसहित नेपालका कुल कोरोना संक्रमितको संख्या २० हजार ३ सय ४६ पुगेको छ । हाल देशभरमा ५ हजार ६ सय ७२ सकृय संक्रमित छन् । कुल संक्रमित मध्येमा हालसम्म १४ हजार ६ सय ३ जना निको भएका छन् ।
कोरोना संक्रमणको कारण नेपालमा हालसम्म ५७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा वीरगंज १६ की ६८ वर्षीय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । साउन १४ गते श्वास–प्रश्वास, ज्वरो र खोकीको समस्या भएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार साँझ मृत्यु भएको हो ।
ती मध्येमा काठमाडौं उपत्यका, प्रदेश २ का धनुषा र पर्सा जिल्लामा संक्रमित दर बढेको तथ्याकंले औल्याएको छ । मन्त्रालयका अनुसार पर्सामा ७८, धनुषामा ३५ र उपत्यकामा ३१ जना संक्रमित छन् । गत २४ घण्टामा ८ हजार ८ सय ६१ वटा नमूना परीक्षण गरिएको थियो । कुल नमूना परीक्षण ३ लाख ९१ हजार २ सय ७० वटा नमूना परीक्षण भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ उपचारमा संलग्न अस्पतालहरुलाई कोरोना पहिचानको लागि आरडिटी परीक्षण नगर्न आग्रह गरेको छ । आइतबार मन्त्रालयको नियमित पे्रस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो निर्देशन दिएका हुन् ।
यसअघि नेपालभर आरडिटी परीक्षण पहिलो चरणमा गरेपछि मात्र पिसिआर परीक्षण गर्ने चलन थियो । स्थानीय निकायले आफै खरिद गरी कोरोना पहिचानमै बढी प्रयोग गर्न लागेको जानकारी आएपछि आरडिटी परीक्षण रोक्नको लागि निर्देशन दिएको बताए ।
प्रकाशित: १८ श्रावण २०७७ १३:३८ आइतबार