७ वैशाख २०८१ शुक्रबार
समाज

मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको ‘मौसमी सावधानी’ शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झन् झन् गहिरिँदै गएको छ। प्रदेशकै संक्रमण केन्द्रबिन्दु बनेको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरे पनि झापा र इलामका गरी १९ जना थपिएका छन्।  

ह्वात्तै संक्रमण बढ्नुमा सरकारी बेवास्ता मुख्य कारण रहेको चिकित्सक  बताउँछन्। ‘आवश्यक सावधानीका उपाय अवलम्बन नगरी लकडाउन खोलियो,’ विराटनगरका महामारी रोग विशेषज्ञ डा. सूर्य पराजुली भन्छन्, ‘खासमा लकडाउन खुलेको थियो, कोरोना सकिएको थिएन। बजार , यातायात सबै खुले। नियन्त्रण कतैबाट भएन। त्यसैले एकैपटक धेरैमा संक्रमण देखियो।’

डा. पराजुलीले भने जस्तै प्रदेश १ का ठूला सहर पछिल्लो  साता सामान्य अवस्थामा फर्किसकेका थिए। भौतिक दूरी पालना प्रदेशका मन्त्रालयमै हुन छाडेको थियो। ‘जिल्लामा यातायातका साधन चल्न दिने निर्णय भएसगै यात्रुबस खचाखच यात्रु बोक्ने, चढेका यात्रु चिउडोमा मास्क लाउने गर्न थालिसकेका थिए,’ झापाका स्वास्थ्यकर्मी चन्द्रनारायण सिंह भन्छन्, ‘अहिले पनि अवस्था त्यस्तै छ। यो भयावह अवस्था निम्त्याउने तयारी हो।’  

स्वास्थ्यकर्मीले बारम्बार दोहो¥याउने गरेको पूर्वसावधानीबारे स्थानीय र प्रदेश सरकार जानकार भए पनि संक्रमण संख्या केही घट्दा कोरोना नै सकियो जस्तो व्यवहार तीनै तहका सरकारबाट देखाइएको कोसी अस्पतालका चिकित्सक बताउँछन्। ‘सरकारी कार्यालयदेखि बैंक÷वित्तीय संस्थामा बढेको भीड थामिनसक्नु थियो। बजारलाई पहिले झै छोडियो। अनि संक्रमण नबढेर के हुन्थ्यो ?’ उनले भने, ‘सरकारी लापरबाही एकातिर अर्कातिर सर्वसाधारण पनि उही शैलीमा लापरबाह बन्दा पीडित बढेका हुन्।’

संक्रमण भयावह बन्दै गएपछि विराटनगर महानगरले शनिबारदेखि लकडाउन गरेको छ। यसअघि संघीय सरकारले आह्वान गरेको लकडाउनको तुलनामा विराटनगरको अहिलेको लकडाउन कडा रूपमा पालना भएको छ। ‘महानगर र प्रदेश सरकारले नपरी चेतेनन्,’ती चिकित्सकले भने, ‘जनता पनि बल्ल डराए जस्तो भो। सबै पसल बजार बन्द देखिए।’

पछिल्लोपटक संक्रमण दर बढेपछि भने स्थानीय तह आत्तिएका छन्। विराटनगरले लकडाउन गरेपछि अरुले पनि  पछ्याउन थालेका छन्। यहि क्रममा झापाको अर्जुनधारा नगरपालिकामा ५ दिन लकडाउन गर्ने निर्णय भएको छ।  

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार आकस्मिक बैठक बसी साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो।  

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए। बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो।

अझै पनि बेवास्ता गरे अवस्था नियन्त्रणबाहिर जाने चेतावनीसमेत चिकित्सकले दिएका छन्। अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एसोसिएसन कोसीले आकस्मिकबाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह नै गरेको छ।  

एसोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति जारी गरी टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन चिकित्सकलाई आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘हाल चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकमा समेत आकस्मिकबाहेकअन्य सेवा बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत बिरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनुहुन अनुरोध गर्दछाैं।’

प्रकाशित: १८ श्रावण २०७७ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App