coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिद्धार्थ राजमार्ग भासियो (फोटो फिचरसहित)

सिद्धार्थ राजमार्गको ठाउँठाउँमा सडक भासिएको छ। तानसेन–बुटवल सडकखण्डको विभिन्न ठाउँमा चिराचिरा परेर सडक भासिएको हो। सडक भासिएपछि ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। यो सडकमा अहिले हलुका साना सवारी साधनमात्र सञ्चालन भएका छन्।  

तिनाउ गाउँपालिका–३ को झुम्सा र पानी मिलको बीचमा पर्ने राजमार्ग झण्डै ५ मिटर सडक भासिएको छ। यस्तै तिनाउँकै प्रहरी चौकी दोभान नजिककौ पीच सडक पनि चिराचिरा परेर भासिएको छ। दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको हो। झुम्सा, चौबिस माइल, नाग मन्दिर, भूतखोला र पैठेडाँडामा सडक भासिएको छ।

सडक भासिएर ठूला सवारी साधन चल्न सक्ने अवस्था नभएपछि पाल्पाबाट बुटवलका सवारी बाटैमा अलपत्र छन्। बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फ छुटेका सवारी साधन बाटोमै रोकिएका छन्। सडक भासिएको ठाउँमा जोखिम रहेकोले हलुका सवारी बाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि शनिबार दिउँसोदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो। मालबाहक ट्रक, बस सहितका ठूला सवारी साधनलाई यो सडकखण्ड हुँदै आवतजावत गर्न रोक लगाइएको हो।  

लामो लकडाउनपछि चलेका सवारीसाधन पनि समयमै गन्तव्यमा पुग्न सकेका छैनन्। यो सडकमा प्रायः कुनै पनि दिन पूर्ण रुपमा सवारी सञ्चालन हुन सकेका छैनन्। निरन्तर रुपमा पहिरो खस्ने गरेका कारण एक महिनायता चालक र यात्रुले दैनिक सास्ती खेप्नु परेको छ। दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले पहिरोका कारण दिनहुँ समस्या हुँदै आएको सडक भासिँदा समस्या थपिएको बताए। उनी भन्छन्, ‘ठूला सवारी तत्काल सञ्चालन हुन सक्ने अवस्था छैन। निरन्तर वर्षा पनि भैरहेको छ। पहिरो झरिरहन्छ यसमाथी सडक जगै नरहने गरि भासियो। अहिले नालीमा ढुङ्गा र माटो राखेर साना सवारीलाई एकतर्फी रुपमा वारपार गराईरहेका छौं।’ 

 

तिनाउँ गाउँपालिका–४, का टोपबहादुर गाहाले सडक भासिँदा बुटवल बजार गर्न जान समेत अप्ठ्यारो परेको बताए। उनी भन्छन्, ‘जताततै सडक भासिएको छ। सडक कार्यालयले वास्ता पनि गरेको छैन। गाडी चल्न नसक्दा हाम्रो उत्पादन बजारसम्म पु¥याउन सकेनौं।’ ‘गाउँ नै जोमिमा पर्ने गरि सडक भासिएको छ। ठूलाठूला गाडी चलाउँदा सडक भासियो। 

अहिले कसैले वास्ता गरेको छैन, गाहाले भने, गाडी नचलेपछि हामी हिँडेरै बजारसम्म पुगेर फर्कंदै छौं।’ जोखिम मोलेर यात्रा गर्ने सडकका विषयमा राजनीतिक दलहरु पनि गम्भिर बन्न नसकेको गुनासो चालक दिपेन्द्र कार्कीले गरे। उनले घर फर्कने आश मारेर हिड्ने सडक भासिएपछि हामीलाई थप समस्या बनेको छ। सिद्धबाबा सडकको छिटो स्तरउन्नती गर्न नसके धेरैले अकालमा ज्यान गुमाउने कार्कीले बताए।

सडक भासिँदा बिच बाटोमा बिरामीसँग सवारी साधन, यात्रु अलपत्र परेका छन्। भासिएर सडक सुचारु हुन नसक्दा दर्जन बढी जिल्लाका नागरिक अन्यौलमा परेका छन्।

प्रकाशित: १८ श्रावण २०७७ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App