७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ : मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको 'मौसमी सावधानी' को शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झनझन गहिरिदै गएको छ । प्रदेशकै हटस्पट बनेको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरे पनि झापा र इलामका गरि १९ जना थपिएका छन् ।

ह्वात्तै संक्रमण बढ्नुमा सरकारी बेवास्ता मुख्य कारण बनेको चिकित्सक बताउँछन् । 'आवश्यक सावधानीका उपाय अवलम्बन नगरी लकडाउन खोलियो' विराटनगरका महामारी रोग विशेषज्ञ डा. सुर्य पराजुली भन्छन् 'खासमा लकडाउन खुलेको थियो, कोरोना सकिएको थिएन । बजार, यातायात सबै खुले । नियन्त्रण कतैबाट भएन । त्यसैले एकैपटक धेरैमा संक्रमण देखियो ।'

डाक्टर पराजुलीले भने जस्तै प्रदेश १ का ठूला सहर पछिल्लो साता सामान्य अवस्थामा फर्किसकेका थिए । भौतिक दूरीको पालना प्रदेशका मन्त्रालयमै हुन छाडेको थियो । 'जिल्लामा यातायातका साधन चल्न दिने निर्णय भएसगै यात्रुबस खचाखच यात्रु बोक्ने, चढेका यात्रु चिउडोमा मास्क लाउने गर्न थालिसकेका छन' झापाका स्वास्थ्यकर्मी चन्द्रनारायण सिंह भन्छन् 'अहिले पनि अवस्था त्यस्तै छ । यो भयावह अवस्था निम्त्याउने तयारी हो ।' उनका अनुसार भयावह अवस्था आउनु पूर्व नै सावधानी देखाउनु राम्रो हुन्छ ।

स्वास्थ्यकर्मीले बारम्बार दोहोर्‍याएको 'पूर्व सावधानीू बारे स्थानीय र प्रदेश सरकार जानकार छैनन् ? किन नुहुनु ?' कोशी अस्पतालका एक जना चिकित्सक भन्छन् संख्या घट्दा कोरोना नै सकियो जस्तो व्यवहार तीनवटै तहका सरकारबाट देखाइयो । कार्यालयदेखि नै भिड खडा गरियो । बैंक तथा वित्तीय संस्थामा बढेको भिड थामिनसक्नु थियो । बजारलाई पहिले झै छोडियो । अनि संक्रमण नबढेर के हुन्थ्यो ? ती चिकित्सकका अनुसार सरकारी लापरवाही एकातिर अर्कोतिर सर्वसाधारण पनि उही शैलीमा लापरबाह बन्दा पीडित बढेका हुन् ।

संक्रमण भयावह बन्दै गएपछि विराटनगर महानगरले शनिबारदेखि लकडाउन गरेको छ । यसअघि संघीय सरकारले आह्वान गरेको लकडाउनको तुलनामा विराटनगरको अहिलेको लकडाउन कडा रुपमा पालना भएको छ । 'महानगर र प्रदेश सरकारले नपरी चेतेनन', कोशीका ती चिकित्सकले भने 'जनता पनि बल्ल डराए जस्तो भो । सबै पसल बजार बन्द देखिए ।'  

पछिल्लो पटक संक्रमण दर बढेपछि भने स्थानीय तह आत्तिएका छन् । विराटनगरले लकडाउन गरेपछि अरुले पनि पछ्याउन थालेका छन् । यहि क्रममा झापाको अर्जुनधारा नगरपालिकामा पाँच दिन लकडाउन गर्ने निर्णय भएको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । बिहीबार मात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो ।

अझै पनि बेवास्ता गरे अवस्था नियन्त्रणबाहिर जाने चेतावनीसमेत चिकित्सकले दिएका छन् । अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह नै गरेको छ । एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति जारी गरी टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन चिकित्सकहरुलाई आग्रह गरेका हुन । विज्ञप्तिमा भनिएको छ, 'हाल चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरि घरबाटै टेलिफोन तथा अन्य प्रविधि मार्फत विरामीहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ ।'

अध्ययनहरुले संक्रमण भएको १४ दिनसम्म भाइरस आफैं निष्कृय हुँदै जाने देखाएकोले लकडाउन पूर्ण पालना गर्न र धैर्य भएर घरमै बस्नसमेत डा‍‍. सिलवालले आग्रह गरेका छन् ।

प्रकाशित: १७ श्रावण २०७७ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App