८ वैशाख २०८१ शनिबार
समाज

गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाएकाहरुको सामूहिक अन्त्यष्टी गरियो

गुल्मीमा शुक्रबार राति पहिरोमा परेर ज्यान गुमाएका एकै घरका चार जनाको शनिबार सामूहिक अन्त्यष्टी गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत बम्घाको आँटीपाटामा शुक्रबार राति स्थानीय राजु बोटेमाझीको घर माथिबाट पहिरोसँगै खसेको ढुंगाले घर च्यापिदिएपछि तीन जना नाबालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियोे ।

घटनामापरि मृत्यु हुनेहरुमा वर्ष ३० की बिना बोटेमाझी, उनका नबालक छोराहरु वर्ष ९ का हेमन्त बोटेमाझी, वर्ष ७ का सागर बोटेमाझी र दश महिनाकी छोरी बिनिता बोटेमाझी रहेका छन् । उनीहरुको घटनास्थलमै पोष्टमार्टम गरेपछि सामूहिक रुपमा दाहसंस्कार गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन् । उक्त ठाउँमा शुक्रबार बेलुकी पाँच बजेदेखि अविरल रुपमा वर्षा भैरहेको थियो । बेलुकी करिब ८ बजेको समयमा घरमा बसिरहेको अवस्थामा अचानक घरदेखि करिव दुईसय मिटर माथिबाट खसेको ढुंगाले घर भत्काईदिएको र त्यही भत्कीएको घरले च्यापेर चारै जनाको घटनास्थलमै ज्यान गएको हो ।

पहिरोको प्रकोपसँगै त्यस वरपरका पाँच घरपरिवार विस्थापित बनेका छन् । विस्थापितहरुले स्थानीय आँटिपाटाको जनजागरण प्राविमा आश्रय लिइरहेको र त्यसको व्यवस्थापन स्थानीय पालिकाले गरेको रुरुक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन् । घटनाको जानकारी पाएलगत्तै शुक्रबार राति नै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगि उद्धार कार्यमा जुटेको थियो ।

जिल्ला सदरमुकाम तम्घासबाट पनि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, गाउँपालिका र केही राजनैतिक दलहरु शनिबार अपरान्ह पहिरो प्रभावित क्षेत्रमा पुगेर घटनाको निरीक्षण र अनुगमन गरि फर्किसकेका छन् । मृतक बिना बोटेमाझीका श्रीमान राजु बोटेमाझी भने रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

प्रकाशित: १७ श्रावण २०७७ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App