७ वैशाख २०८१ शुक्रबार
समाज

कार्यालय प्रमुख सञ्जेललाई कार्यकक्षमै आक्रमण

काम धेरै लगाएकोभन्दै कर्मचारीले चुकुल लगाएर कुटपिट

कार्यालयको काम इमान्दारिता र घुस नखाइ जनताको सेवा छिटोछरितो गर्दै सेवा दिनुपर्छ भन्ने सिद्धान्त बोकेका प्रेमप्रसाद सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटपिट गरेका छन् ।

कार्यालयको काममा कडा स्वभावमा प्रस्तुत हुने गरेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यकक्षमा शनिबार दुई महिला कर्मचारीले कुटपिट गरी घाइत बनाइदिएका छन्।

जनताको काम चाँडै सकेर पठाउनु पर्छ भन्ने सोचका साथै भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका सञ्जेललाई कार्यकक्षभित्र चुकुल लगाएर कार्यालयका सहयोगी कर्मचारीद्वय नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ । दुबै जना कार्यालयका करारका कर्मचारी हुन् । दुबै जना मिलेर टेबुलमा राखेको पेपर वेट (सिसाको डल्लो), चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायतले प्रहार गरी घाइत बनाइदिएको प्रहरीले जनाएको छ ।

‘कार्यालय प्रमुखमाथि भएको कुटपिटमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिएर कारवाही अघि बढाउन घटनाको अनुसन्धान थालेका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने । कार्यालयको कामको विषयमा विवाद हुँदा उनीहरूले सञ्जेललाई कुटपिट गर्दा अनुहारका विभिन्न भागमा चोट लाग्नुका साथै ओठ फुटेको छ । कुटपिटमा संलग्न दुबै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए । त्यस बेला आएका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर दुई जनाले आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

‘सञ्जेलले आफूहरूलाई काममा धेरै दबाउने, तनाव दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको’ उनीहरूले प्रहरीलाई बताएको जनाएको छ । सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर सञ्जेल काम गर्छन् ।

‘पसलमा बसेका बेला कार्यालयभित्रबाट ठूलो ठूलो आवाज आएपछि हामी २÷३ जना त्यहाँ पुग्दाभित्र चुकुल लगाएर कार्यालय प्रमुखमाथि कुटपिट भइरहेको थियो,’ कार्यालय नजिकै रहेको एक व्यवसायीले भने, ‘दुई महिला कर्मचारीले त्यहाँ रहेको सामानले एकोहोरो कुटपिट गरिरहँदा कसो कसो गरेर सञ्जेलले चुकुल खोल्न सके र हामीसबैले छुट्याइ दियौं ।’ प्रहरीका अनुसार दुई जनाले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको बताए ।

प्रकाशित: १७ श्रावण २०७७ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App