बिरलै देखिने दृष्य गत हप्ता रोल्पाको थवाङमा देखियो। स्थानीयहरु स्वतस्फुर्त रुपमा बाजा लिएर आए अनि सरुवा भएर थवाङ छोड्न थालेका कर्मचारीको बिदाइमा पञ्चेबाजा बजाउदै गाउँ घुमाएर सम्मान साथ पठाए।
अबिर माला र खादा त थामी नसक्नुको थियो। सात बर्ष थवाङमा रहेर काम गरेका खरिदार अधिकार बुढाको सम्मानमा थवाङले कुनै कसर छोडेन। त्यसो त अधिकारले पनि थवाङीको भरपुर सेवा गरेका थिए।
थवाङ गाउँपालिकाले आफ्नो हिसाबले औपचारिक रुपमा बिदाई गरेको थियो तर स्थानीयले अलग्गै तरिकाले बिदाई गरे। २०७० चैत १७ गाबिस सचिवका रुपमा थवाङ पुगेका १९ बर्षिय किशोर २६ बर्षको युवाका रुपमा सुचना तथा प्रशारण बिभाग तिलगंगा काठमाण्डौ गएका छन्। अधिकृत बन्ने उद्येश्य बोकेका अधिकार काठमाण्डौ बसाईले फेरि आफूले थप केही नयाँ सिक्ने र सेवा प्रति उत्तरदायी रहने अपेक्षामा छन्।
रुकुम भुमे ७ धर्मशाला स्थायी घर भएका अधिकार थवाङसंग कुनै गुनासो नभएको बताउछन्। ‘फेरि कुनै दिन आउन सक्छु। मेरो थवाङ बसाई अत्यन्त यादगार रहयो। धेरै कुरा सिक्ने अबसर मिल्यो।’ उनि भन्छन् ‘थवाङ बाहिरबाट सोचे जस्तो असहज छैन। अत्यन्त सहज र सरल छ। सुरुका दिनमा अलि असहज थियो तर मलाई त त्यो पनि भएन। आफुलाई सहयोग गर्ने सबैलाई सम्मान गर्ने बताउदै उनी भन्छन् थवाङ बसाईको ७ बर्षले धेरै नयाँ सिकायो।
गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले अधिकार सरुवा भएर जादै गर्दाको बिदाईमा आफू उपस्थित हुन नपाएकोमा थकथकी मानेका छन्। ‘उहाँले असहज अबस्थामा पनि गाउँपालिका धान्नु भएको थियो। कर्मचारी अभावका समयमा लेखा, प्रशासन, योजना र दुई वटा वडा एक्लै भ्याउनुहुन्थ्यो। जती बस्नु भो नराम्रो कहिल्यै गर्नु भएन।’ उनी भन्छन् ‘लोभ लालच कहिल्यै गर्नु भएन। अधिकारमा एउटा राष्ट्र सेवकमा हुनु पर्ने गुण सबै छ। उहाँलाई हामिले जति सम्मान गरे पनि थोरै हुन्छ।’
स्थानिय स्तरबाट अत्याधिक रुचाइएका अधिकारका बारेमा गाउँलेहरु कसैले गुनासो गर्दैनन्। ‘उहाँबाट अरु कर्मचारीले पनि सिक्नु पर्छ। २०७० सालतिर गाबिस सचिब हुदै उहाँको प्रश्तुती राम्रो रहयो।’ थवाङका स्थानिय अजय घर्ती भन्छन् ‘अधिकारजीको थवाङ बसाई थवाङीका लागि सन्तोष जनक रहयो।’ उनि जस्तै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रेवत बुढाथोकी पनि अधिकारले उल्लेख्य काम गरेको बताउछन्। ‘ईमानदारीताका साथ सधै जनताकै सेवामा लाग्नु भयो। कहिल्यै गुनासो गर्ने ठाउँ दिनुभएन।’
कसैले पनि गतिलो काम गरेमा सम्मान पाईन्छ भन्ने कुराको सन्देश थवाङ र अधिकारको सम्बन्धले देखाएको छ। निस्वार्थ रुपमा आफ्नो भुमिका निभाईदा सधै सम्मान नै पाइन्छ भन्ने उदाहरण थवाङमा गरिएको कर्मचारी बिदाईको सन्देश पनि हो।
प्रकाशित: १७ श्रावण २०७७ ०८:२५ शनिबार