७ वैशाख २०८१ शुक्रबार
समाज

सुदूरपश्चिममा बाढीले बगाएका ३ जनाको शव फेला

विस्थापित दुई हजार परिवार तीन दिनदेखि सडकमै

सुदूरपश्चिममा मंगलबार रातिदेखि बिहीबारसम्म आएको अविरल वर्षाका कारण पहिरो र बाढीले बगाएर बेपत्ता भएका ३ जनाको शुक्रबार शव फेला परेको छ । बुधबार पहिरोमा परेर र बाढी बगेर मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।

बुधबार बाढीमा बगेर बेपत्ता भएका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र बि.क.को शुक्रबार शव फेला परेको छ । बाढीले बगाएको ठाउँभन्दा एक किलोमिटर टाढा पथरिया र गौराको खोलाको दोभान नजिक झाडीमा शाहको बिहान र बि.क.को दिउँसो शव फेला परेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताएका छन् ।

यसअघि बिहीबार ११ वर्षीय स्केल चौधरीको शव फेला परेको थियो । यसैगरी बाजुरा बुढीगंगा नगरपालिका १ अम्कोटका गोरु चराउन गएका बेला जंगलमा माथीबाट आएको पहिरोमा परेर बुधबार बेपत्ता भएका २२ वर्षीय धर्मराज तिमिल्सेनाको शव शुक्रबार फेला परेको प्रहरीले जनाएको छ । यसैगरि कञ्चनपुरमा कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदीमा डुबेर कृष्णपुर–२ की १८ महिनाकी अमृता थापाको मंगलबार मृत्यु भएको थियो ।

यसैगरि नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार अझै घर फर्कन सकेका छैनन् । उनीहरु तीन दिनदेखि हुलाकी सडक किनारमा बसीरहेका छन् । बाढी डुबान परेका घरमा पानीको सतह नघटेकाले अहिलेसम्म घर फर्कन नसकेको उनीहरुले बताएका छन् । हुलाकी सडकको किनारमा उनीहरु पाल टाँगेर बसेका छन् । हुलाकी सडकको कृष्ण नगरदेखि सोनाफा“टासम्मको उच्च स्थानमा विस्थापित परिवार बसिरहेका छन् ।

‘घरमा ७,८ फिट पानी छ, अन्नपात, खाद्यान सवै पानीले नष्ट गर्यो’स्थानिय कृष्ण चौधरीले भने,‘हुलाकी सडकमा तीन दिनदेखि बसेका छौं, कहिले पानी सक्ने हो घर फर्कन पाउने केही टुंगो छैन ।’ विस्थापितहरुले खानाको समस्या भएको बताएको छन् । बाढी बस्तीमा पसेपछि ज्यान जोगाएर उनीहरु घरबाट बाहिर आएकाले लुगाकपडा, खाद्यान, सरसमान बचाउन सकेनन् ।

भजनी नगरपालिकाको वडा नम्वर २, ३, ५ र ८ मा बुधबार नदीको बाढी पसेर जलमग्न भएको छ । अहिलेसम्म पानीको सतह नघटेकाले भजनीमा कती घर भत्के, कती नोक्शान भयो भन्ने विवरण संकलन गर्न नै नसकिएको प्रहरी नायव उपरिक्षक बिष्टले बताएका छन् । बाढीले ठूलो धनमालको क्षति भएको छ । बुधबार आएको बाढीले जिल्लाभरीमा भएको क्षतिको विवरण अझै संकलन हुन नसकेको उनले बताए । ‘धेरै क्षति भएको छ, कति क्षति भएको छ भनेर पुरै विवरण संकलन गर्न अझै समय लाग्छ’ उनले भने, ‘डुबान परेका बस्तीमा पानी नसुकेसम्म त्यहाँ भएको क्षति थाहा हुँदैन ।’

१ सय भन्दा बढी घर भत्के
बुधबार बिभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर टिकापुर लगायतका जिल्लाका बिभिन्न ठाउँमा १ सय जती घर भत्केको प्रहरी नायव उपरिक्षक बिष्टले बताएका छन् ।‘भजनीमा डुबान नै भएकाले त्यहाँ कती घर भत्केका छन् बिवरण आउन बाँकी छ, भजनी वाहेक जिल्लामा १ सय जति घर भत्केका छन्’ उनले भने, ‘भजनीको पनि बिवरण आएमा बाढीले भत्केका घरको संख्या अझ बढी हुने छ ।’

कैलालीको भजनी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुृर नगरपालिका, जानकी गाउँपालिका लगायतमा गरेर बाढीले ६ हजार २ सय ७० घर डुबानमा परेका थिए । पानीको सतह घटेपछि अन्य ठाउँका विस्थापित भने घर फर्किसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ राज वोहराले बताएका छन् । भजनीका करिव २ हजार अझै विस्थापित नै छन् । भने टीकापुरमा घर भत्केका करिव ५ दर्जन बढी परिवार पनि बिस्थापित नै छन् । मंगलबारदेखि अविरल रुपमा परेको वर्षा शुक्रबार बिहानदेखि बन्द भएको छ ।

प्रकाशित: १६ श्रावण २०७७ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App