८ वैशाख २०८१ शनिबार
समाज

जगदम्वा इन्टरप्राइजेजको लापरबाहीले गयो सिइओको ज्यान

लुकाई छिपाई भारतबाट कामदार ल्याएर विना परीक्षण काममा लगाउँदा संक्रमण

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको (सीईओ) नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु  भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिन गरिएको छ।

संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए। बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको थियो। राति साढे ११ बजे उनको मृत्यु भएको अस्पताल प्रमुख डा. मदन उपाध्यायले बताए।

असारको अन्तिम साता वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा तीन जना संक्रमित मात्र थिए । पालिकाहरूका क्वारेन्टाइन पनि खाली प्रायः भैसकेका थिए। 'महानगर कोरोनामुक्त हुने भएपछि हामी हौसिएका थियौं', वीरगन्ज महानगर प्रमुख विजय सरावगीले नागरिकसँग भने,‘अचानक आएको कोरोनाको बाढीले समुदायका कुनै वर्गलाई छोडेन।’ यो बाढी कहाँबाट पस्यो ? बाँध कसरी भत्काइयो ? बाँध किन बलियो पारिएन ? यी प्रश्नमा सरोकारबाला सबै नाजवाफ छन्। खुल्ला सीमानाको फाइदा उठाउँदै पारिबाट लुकेर छिरे भन्दै सुरक्षा अधिकारीहरु पन्छिरहेका छन्। सीमा सुरक्षाको जिम्मा संघीय सरकारको हो भन्दै प्रदेश सरकार उम्कीरहेको छ। लकडाउन खुकुलो पारिएपछि सीमाको सिल ब्रेक गरेका होइनौ भन्दै संघीय सरकार पन्छिदै छ।

साउन ७ गतेबाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएको नाकाबाहेक आवागमन बन्द नै राख्ने निर्णय गरेको थियो । तर, लकडाउनकै अवधिमा जगदम्बा इन्टरप्राइजेजमा भारतीय कामदार भित्र्याइयो। पारिबाट कामदार भित्र्याएर उद्योगले काममा लगाएको पाइएको छ । लुकिछिपी आउनेहरु बाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

तर, पछिल्ला १५ दिनमा पर्सामा करिब दुई सय जना संक्रमित थपिएका छन्। यस अवधिमा यहाँ १० जनाले प्राण त्यागेका छन्। जसका कारण समाजमा त्रास फैलिएको छ। वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौल आसपासका क्षेत्रमा संक्रमण व्यापक छ । भारतको विहारदेखि प्रायः सबै राज्य कोरोनाले आक्रान्त छन्।

 

यो पनि पढ्नुहोस्

कोरोना पुष्टिपछि जगदम्बा इन्टरप्राइजेज सिल

 

साउन ७ गतेबाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएको नाकाबाहेक आवागमन बन्द नै राख्ने निर्णय गरेको थियो । तर, लकडाउनकै अवधिमा जगदम्बा इन्टरप्राइजेजमा भारतीय कामदार भित्र्याइयो। पारिबाट कामदार भित्र्याएर उद्योगले काममा लगाएको पाइएको छ । लुकिछिपी आउनेहरु बाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

‘तोकिएका नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको हैन,’ उनले भने, ‘लकडाउन खुकुलो भएपछि पारिबाट लुकीछिपी भित्रिएका कामदारबाट फैलिएको देखिन्छ ।’  

भारतबाट कामदार ल्याएर बिना परीक्षण काममा लगाएको बारे जगदम्बाका अधिकारी भने बोल्न चाहँदैनन्। जगदम्बाका दीपक वंशलले फोनमा आफू जगदम्बा स्टिलतर्फको पदाधिकारी भएकाले इन्टरप्राजेजको घटनाबारे बोल्न नमिल्ने बताए। ‘खै कसरी घटना हुन गयो मैले सोध्नै पर्छ’ वंशलले भने,‘ जगदम्बा इन्टरप्राइजेजको सबै काम वीरगंजको कार्यालयले नै हेर्छ, मैले सोधेर बताउँला।’ इन्टरप्राइजेजका मुकेश रौनियारले फोनमा भने,‘तपाइँले मेरो नम्बर कहाँबाट पाउनु भयो?  घटनाबारे मलाई केही थाहा छैन उनले भने,‘म २० दिनदेखि काममा गएकै छैन, रामप्रतापजी लाई सोध्नुस।’ रामप्रताप सिंहले भने,‘म घटना जानकारी गराउने आधिकारिक मान्छे होइन। जगदम्बाको मुख्यालय काठमाडौंमै छ, त्यही सम्पर्क गर्नुस्।’

 

यो पनि पढ्नुहोस्

जगदम्बा सिइओसहित ३ जना कोरोना संक्रमितको मृत्यु

 

वीरगन्ज महानगरपालिका– ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोनाको संक्रमण देखिएपछि गत मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग केही समयको लागि सिल गरेको थियो। उद्योगले फलामे डण्डि (छड) फलामको पाइप, टेबुलर पोल, स्टील ट्रसलगायत समाग्री उत्पादन गर्दै आएको छ। त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको थियो, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। साउन ६ गते उद्योगका प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा लक्षणसहित कोरोना संक्रमण भेटिएको थियो। उनलाई कहाँबाट संक्रमण सर्यो ? ट्रेसिङ गर्दा तीन जना कामदारमा समेत संक्रमण पुष्टि भयो। ती कामदारहरु पारिबाट आएर बिना परीक्षण काममा लगाइएको पाइयो।

नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायका अनुसार पारिबाट फर्केका कामदारहरु कोरोना क्यारी गरेर आएको पाइएको छ। भारतको हटस्पटबाट फर्केकाहरु सीधै समुदायमा हिँडडुल बढाउँदा संक्रमणको ग्राफ बढेको उनले बताए।

जगदम्बाका सिइओलाई भारतबाट फर्केका कामदारहरुबाटै संक्रमण सरेको बताइएको छ। उनको तत्कालिन यात्रा इतिहास भारत देखिदैन। तर, कामदारहरु लकडाउन खुकुलो भएपछि भारतबाट फर्केको र उनीहरुमा पनि संक्रमण पाइएको छ। भारतबाट फर्केका कामदारहरुलाई क्वारेन्टिन गरेर परीक्षण बिना काममा लगाएकै कारण उद्योगमा संक्रमण फैलिएको एक चिकित्सकले बताए। उद्योगको लापरबाहीले संक्रमण फैलिएको उनको भनाई छ।  

नेपालमा विदेशी कामदारले काम गर्नका लागि श्रम स्वीकृति लिनु पर्ने हुन्छ तर कम्पनीमा काम गर्ने तल्लो तहका कामदारहरुको श्रम स्वीकृती नलिइकनै काममा लगाइएको कम्पनी स्रोत बताउँछ।  

चैतमा लकडाउन हुँदा घर फर्केका भारतीय कामदार लकडाउन खुकुलो भएसँगै बारा–पर्सा करिडोरका उद्योग सञ्चालन भएपछि फर्किएका हुन्। यहाँका दुई दर्जनभन्दा बढी ट्रान्सपोर्टमा रक्सौल र आसपासका भारतीय कामदार कार्यरत छन्। वीरगंजमा निषेधाज्ञा लाग्नुअघिसम्म उनीहरू बिहान ट्रान्सपोर्टमा काम गरेर साँझ पारि फर्किने गरेका थिए । गत साउन ७ मा सुक्खा बन्दरगाहमा कार्यरत दुई जना कर्मचारी र एक ट्रक चालकमा कोरोना पुष्टि भएको थियो ।  

पहुँचको बलमा पारिका कामदारलाई सीमाबाट निर्धक्क उद्योगभित्र प्रवेश गराएर काममा लगाउनुनै कोरोना संक्रमणलाई निम्ता दिनु हो वीरगन्जका एक चिकित्सकले भने,‘संक्रमित स्थानबाट यात्रा गरेर आएकालाई लुकाएर अन्य मानिससँग एक्सपोज गराउनु नै ठूलो गल्ती भयो। थप कति मानिसमा संक्रमण फैलियो त्यो परीक्षणबाटै यकीन हुन्छ।’

 

प्रकाशित: १६ श्रावण २०७७ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App