८ वैशाख २०८१ शनिबार
समाज

जगदम्बा सिइओसहित ३ जना कोरोना संक्रमितको मृत्यु

बिहीबार राति जगदम्बा इन्टरप्राइजेजका सिईओसहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ५६ वर्षीय सिइओसहित वीरगन्ज–१६ का ३५ वर्षीय ब्यक्ति र वडा नम्बर २ छप्कैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

जगदम्बाका सिइओ ५६ वर्षीय भारतीय नागरिकको राति साढे ११ बजे उनको मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए। डा. सिंहका अनुसार सिईओलाई लामो समयदेखि मुुटुसम्बन्धी रोग थियो र केही अगाडि मुटुको ‘बाइपास अप्रेसन’ भएको थियो। संक्रमण पुष्टि भएपछि साउन ७ मा उनी कोरोना अस्पताल भर्ना भएका थिए। बिहीबार उनको शरीरमा अक्सिजनको मात्र घटेपछि भेन्टिलेटरमा राखिएको थियो।  

बिहीबार नै साँझ करिब ८ बजे वीरगन्ज महानगरपालिका–१६ नगवा घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए। ती युवक ज्वरोको उपचार गराउन गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए। त्यहाँबाट सञ्चो नभएपछि गत मंगलबार तराई हस्पिटल गएका थिए। सोही दिन कोरोना अस्पतालमा रेफर भएर आएका उनमा श्वासप्रश्वासको समस्या थपिएपछि आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो। बिहीबार साँझ उनको मृत्यु भएको छ, स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको हो।  

त्यस्तै बिहीबार बिहान वीरगन्ज २ छपकैयास्थित आफ्नो घरमैं मृत्यु भएका ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घरमैं मृत्यु भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले उनको थ्रोट स्वाब संकलन गरेको थियो। बिहीबार राति आएको पीसीआर रिपोर्टमा नतिजा पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए। साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: १६ श्रावण २०७७ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App