८ वैशाख २०८१ शनिबार
समाज

मास्क बाड्न निस्किए सिडिओ

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बिहीबार खलंगा बजारमा मास्क बाड्न निस्किए । उनले हरेक घरदैलोमा पुगेर मास्क दिए । मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए । मास्क दिन घरदैलोमै प्रमुख जिल्ला अधिकारी पुगेपछि स्थानीय चकित भए । उनीहरु लज्जित हुँदै अब दैनिक मास्कको अनिवार्य प्रयोग गर्ने बताइरहेका थिए । भुपेन्द्र थापाले भने,‘मास्क लगाउनु होला । लकडाउन खुलेको भएपनि कोरोना संक्रमण रोकिएको छैन । कोरानाविरुद्वको खोप नबन्दासम्म कोही पनि सुरक्षित छैनौँ । सबैले उच्च सतर्कता अपनाउनु होला ।

मास्क बाड्नको लागि प्रमुख जिल्ला अधिकारी थापा, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटा, जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटा, शसस्त्र प्रहरी प्रमुख डिएसपी गगन श्रेष्ठ र नेपाल प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी पनि निस्किएका थिए । माइकिङ गरेर मास्क लगाएर कोरोना भगाउनको लागि अपिल गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट मास्क लगाउदै हिडेको प्रमुख जिल्ला अधिकारी थापाको टोली जुम्ला विमानस्थल हुँदै विजयनगरदेखि मुख्यबजारका सबैको घरदैलोमा पुग्दा स्थानीय चकित थिए ।

टोली पुग्दा कसैले घरभित्र राखेको मास्क हतारहतारमा लगाउदै थिए । कसैले मास्क किन्दै थिए । त कसैले मास्क किनेर लगाउने बारेमा एक आपसमा छलफल गर्दै थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कोरोना भाइरस संक्रमण हुन नदिनको लागि आफै सतर्क हुनु पर्ने समय हो । लापरवाही नगरौँ । सचेत भएर सामाजिक तथा व्यक्तिगत दूरी कायम गरौँ । यसैमा समग्र जुम्लाबासीको हित छ ।’

सरकारले जारी गरेको मापदण्ड पालना गर्दै अनिवार्य मास्क लगाउनको लागि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । उनले भने,‘लकडाउन खुलेको भन्दै निकै लापरवाही बढ्यो । मास्क विनै भिडभाडमा हिड्न थाले । त्यो कोरोना संक्रमणलाई सहयोग पुग्ने खालको अवस्थालाई निरुत्साहित गर्न मास्क लिएर बजारमा निस्कन बाध्य भयौ । शुक्रबारदेखि मास्क लगाउन नमान्नेलाई संक्रामक ऐन अनुसार प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना हुने उनले बताए ।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र भिडभाड नगर्न पनि प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘अनिवार्य मास्कको प्रयोग गरौँ, सेनिटाइजर र साबुनपानीको प्रयोग गरौँ । लकडाउन खुलेको हो तर कोरोनाको जोखिम घटेको होइन ।’ स्वास्थ्य नै धन भएकोले आफू पनि जोगिन र अरुलाई पनि जोगाउन अपिल गरिएको थियो ।

बाटोमा हिडेका तर मास्क प्रयोग नगरेकालाई अनिवार्य मास्क लगाउनु पर्ने र कुनै स्वास्थ्य समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजानको लागि आग्रह गरिएको छ । मास्कको प्रयोग नगर्नेलाई कानुन बमोजिम कारवाही गर्न बाध्य हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । अत्यावश्यक काममा सामाजिक दूरी कायम गर्नु पर्नेमा जोड दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले तीन सय मास्क ल्याएको थियो ।

जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकाले प्रत्येक घरमा मास्क वितरण गरेका थिए । हरेक घरमा सेनिटाइजर र साबुन पनि दिएका थिए ।

तर ती सामाग्रीको प्रभावकारी प्रयोग हुन सकेको छैन । हाल जुम्लामा नियमित पिसिआर परीक्षण भइरहेको छ । यहाँका क्वारेन्टिन र आइसोलेसन अहिले खाली नै छन् ।

प्रकाशित: १५ श्रावण २०७७ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App