आईतबार मिनी ट्रकको सापट भाँचिएर ठक्कर दिँदा घाइते हुन पुगेका उदयपुरका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ । मध्यान्ह करिब १२ बजेको समयमा गाईघाटदेखि लाहानतर्फ जाँदै गरेको को १ ख ४६६३ नं. को मिनीट्रकको सापट एक्कासी भाँचिन गई ठक्कर दिँदा घाइते भएका त्रियुगा नगरपालिका ६ लालपत्ताका ५५ वर्षीय सनमान कामीको मृत्यु भएको हो ।
सडकमा गुडिरहेको ट्रकको सापट अचानक भाँचिएर शरीरमा लाग्दा पैदल हिडिरहेका कामी सख्त घाइते भएका थिए । कम्मरमा सापटले ठोक्किएर गम्भीर घाइते उनको लाहान नर्सिङ होममा उपचार हुँदाहुँदै मध्यान्ह १२ बजेर ३५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने दुर्घटना भएको मिनीट्रकलाई घट्नास्थलमै प्रहरी सुरक्षा दिएर राखिएको छ । ट्रक चालक चौदण्डीगढी नगरपालिका ७ का २४ वर्षीय सुनिल बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताएका छन् ।
प्रकाशित: ११ श्रावण २०७७ १३:५५ आइतबार