८ वैशाख २०८१ शनिबार
समाज

यस्तो अपराध कसैमाथि नहोस्

बालापन देखिकी मिल्ने साथी जब एसिड आक्रमणमा परिन् तब उनका आँखा आँसुले भरिएका छन्। साथीको त्यो मिठो मुस्कान फेरि कहिले देख्न पाइएला ? मनमा यस्तै प्रश्नहरू खेलाउँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा बसेकी छिन्–संगीता केसी।  

साथीको अवस्था के होला? कस्तो होला भनेर एकनासले उपचार हुँदै गरेको वार्ड सामुन्ने बसेकी छिन् उनी। साथीको यस्तो अबस्था देख्दा उनको मन भत्भती पोलेको छ। उता साथी पवित्राको अनुहारमा एसिडको जलन छ। बिहीबार साँझ पवित्रामाथी सितापाइलामा एसिड प्रहार भयो। एसिड प्रहार गर्ने मुन्ना आलम प्रहरी हिरासतमा छन्। ती व्यक्तिसँगै युवतीमाथि एसिड प्रहारको योजना बनाउने मुख्य अभियुक्त मोहम्मद आलम पनि हिरासतमै छन्। एसिड प्रहारको त्यो कालो दिन बाफल चोकबाट युवती पैदलै कोठातिर जाँदै थिइन्। कोठा नजिकै पुग्न लाग्दा मोहम्मदका कामदार मुन्नाले युवतीमाथि अन्धाधुन्ध एसिड प्रहार गरे।  

युवती चिच्याएको सुनेर वरपरका मानिस जम्मा भए। घाइते युवतीलाई मनमोहन अस्पताल पुर्यााइयो। त्यहाँ उपचार हुन नसकेपछि बर्न अस्पतालमा पुर्याुएर उपचार भइरहेको छ।  

‘साथीलाई यस्तो होला भनेर कहिल्यै सोचेकी थिइन’, संगीताले भनिन्, ‘यो कस्तो अनिष्ठ आइलाग्यो?’  

छोरीमाथि एसिड प्रहार भएको सुनेपछि गाउँमा रहेका आमा, बुबा र दाजु भाउजु पनि मर्माहत छन्। आमा ‘उहाँहरू छोरीलाई हेर्न आउन खोज्नु भएको छ तर कसरी आउनु गाडी चल्दैन भनेर रुदै फोनमा कुरा गर्नुहुन्छ’, संगीताले भनिन्, ‘अस्पतालले आमा बुबा लिन एम्बुलेन्स पठाएको भए हुन्थ्यो।’  

एसिड प्रहार एउटा जघन्य अपराध हो। यस्तो अपराध गर्नेलाई कानूनले छोड्नु हुँदैन। जसरी भएपनि अपराधीलाई कडाभन्दा कडा सजाय हुनु पर्छ। उसलाई यत्तिकै सहज रुपमा छोडियो भने उसले फेरी एसिड प्रहार गर्दैन भन्ने के ग्यारेन्टी छ र भन्दै आक्रोशमा आउँछिन् संगिता।  

सँगै हुँदा साथीलाई दुखी र केही कुराले सताइरहेको जस्तो कहिले पनि नदेखेको उनी सुनाउँछिन्। एक्कासी साथीमाथि भएको एसिड प्रहारले महिलाहरू एकदमै जोखिम अवस्थामा रहेको महशुस गर्छिन् उनी। यो घटनाले आफूमाथि पनि एसिड प्रहार गर्ने पो हो की भन्ने चिन्ता लागि रहन्छ उनलाई।  

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार युवतीको मुख, घाँटी र कपालमा एसिड प्रहार गरिएको छ। आफ्नो प्रस्ताव युवतीबाट इन्कार भएपछि मोहम्मदले झुक्याएर एसिड प्रहार गर्ने योजना बनाएको प्रहरीले भनाई छ। प्रहरीका नुसार मोहम्मदले युवतीमाथि बदला लिन कामदार मुन्नालाई प्रयोग गरेका थिए।

मुख्य योजनाकार मोहम्मदको डल्लुमा गार्मेन्ट कारखाना छ। दिदीले पनि त्यही गार्मेन्टमा काम गर्ने भएकाले ती एसिड पीडित युवतीले पनि केही समयअघि एक महिना त्यहीँ काम गरेकी थिइन्। मोहम्मद ती युवतीलाई बहिनी मान्थे। बेलाबेलामा फोन र म्यासेज हुन्थ्यो। दीदी र आफूले पनि काम गरेको गार्मेन्टका मालिक भएकाले युवतीले मोहम्मदलाई सहजै विश्वास गरेकी थिइन्। उनले पहिलेदेखि नै युवतीप्रति कुदृष्टि राख्दै आएका रहेछन्। आफूले भनेको नमानेपछि उनले युवतीमाथि एसिड प्रहार गर्ने योजना बनाएका रहेछन्। प्रहरीका अनुसार अहिले पीडित एक होटलको प्रशासनमा काम गर्छिन्। लकडाउनले होटल बन्द भएपछि उनले केही समय गार्मेन्टमा काम गरेकी थिइन्।  

पछिल्लो समय उनले होटल प्रशासन खुलेको भन्दै गार्मेन्टको काम छाडेकी थिइन्। प्रहरीका अनुसार पीडित युवतीको अनुहार र पाखुरामा गहिरो चोट लागेको छ।

पछिल्लो ६ वर्षमा नेपालमा २३ वटा एसिड प्रहारका घटना भएका छन्। त्यसमध्ये एसिड प्रहारबाट पीडित हुनेमा १९ महिना र चार पुरुष रहेको प्रहरी तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार हालसम्म एसिड प्रहार गर्ने २७ पुरुष र दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

एसिड प्रहारका यस्ता कु्रर घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन्। तर पनि कानूनमा यस सम्बन्धी कडा सजायको व्यवस्था भएको भने देखिदैन। न त एसिडलाई प्रतिबन्ध नै गरिएको छ न त यसको किनबेचमा रेक नै लगाइएको छ। सहज र सुलभ तरिकाले एसिड बजारमा पाइने हुँदा यस्ता जघन्य अपराध भइ नै रहने छन्। एसिडकै कारण आउँदा दिनमा  धेरैले आफ्ना छोरी, साथी, बहिनीलाई यसरी नै अस्पतालको बेडमा छटपटाइरुहेको देख्नु पर्ने छ।  

के छ कानुनी व्यवस्था ?

कानुनले एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

विसं २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३९२० मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्यापएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

त्यस्तै शरीरका अन्य अंग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।  

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अंगभंग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ।

 

 

प्रकाशित: ११ श्रावण २०७७ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App