७ वैशाख २०८१ शुक्रबार
समाज

सर्पदंशका बिरामीलाई उपचारमा सहज

फाइल तस्बीर

कैलाली घोडाघोडी नगरपालिका–४ का १३ वर्षीया करिष्मा रतौकेलाई गत बुधबार कोब्रा सर्पले टोक्यो। उनलाई नेपाली सेनाको काली रक्षा गण (ई) ले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा ल्याइयो। बिषालु सर्पको टोकाइले ज्यानमै केही हुन्छ भनेर परिवारका सबैजना आत्तिएका थिए तर २ दिनमै उपचारपछि निको भएर उनी घर फर्किन्।‘सर्पले टोकेपछि के हुन्छ भनेर निकै डर लागेको थियो, २ दिनमै निको भएर घर फर्के,’उनले भनिन्।

यसैगरी,बर्दिया जिल्ला ठाकुरद्वारा नगरपालिका–१ का ३१ वर्षीय हरेन्द्रबहादुर शाहीलाई बिषालु सर्पले टोक्यो। उनलाई उपचार गर्न यही सर्पदंश उपचार केन्द्रमा ल्याइयो। ३ दिनको उपचारपछि निको भएर घर फर्के।

यस् प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। नेपाली सेनाको काली रक्षा गण (ई) ले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट सर्पदंशका बिरामीले सहज रूपमा उपचार पाउन थालेका छन्।उपचारका लागि यहाँ पुगेकाहरूलेबिषालु सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनु परेको छैन।

‘प्राथमिक उपचारका लागी मात्र स्थापना गरिएको यो उपचार केन्द्रमा बिषालु सर्पले टोकेर बेहोस भएका बिरामीसमेत निको भएर घर फर्कने गरेका छन्,’उपचारमा संलग्न मेडिकल प्राविधिक नेत्रबहादुर कार्कीले भने,‘यहाँ उपचार सुरु भएदेखि ल्याइएको एकजना पनि सर्पले टोकेको बिरामीको ज्यान गएको छैन।’

करेत, कोब्रा, गोमन सर्पले टोकेको बिरामी यहाँ आउने गरेको उनले बताए। कोही टोकेको सर्प मारेर ल्याएर आउने गर्छन्। ‘लक्षणका आधारमा कुन सर्पले टोकेको भन्ने पत्ता लगाएर त्यहीअनुसार उपचार गर्ने गरेका छौं,’उनले भने।

सर्पले टोेकेका बिरामीले सहज रूपमा उपचार पाई निको हुन थालेपछि यहाँको सुविधा सम्पन्न सेती प्रादेशिक अस्पतालबाट समेत बिरामी आउने गरेको उनी बताउँछन्।  

नेपाली सेनाले २०७१ साउन १ गतेदेखि बढैपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेको थियो। उपचार केन्द्र स्थापनापछि सुदूरपश्चिममा सर्पदंशका बिरामीले सहज रूपमा उपचार पाउन थालेका हुन्।  

यसअघि सर्पदंशका बिरामीले उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा धाउनु पर्ने बाध्यता थियो। त्यहाँ पनि सर्पदंशको उपचारका लागि चाहिने औषधि सीमित मात्रामा हुनु र बिरामीको भीड हुने भएकाले सहज रूपमा उपचार पाउन सकेका थिएनन्। सेती अस्पतालमा सिमित औषधि, उपकरण अभाव र उपचारमा लापरबाही हुनाले कयांैको ज्यान जाने गरेको अवस्था थियो। पछिल्लो समयमा नेपाली सेनाले स्थापना गरेको सर्पदंश उपचार केन्द्र स्थापना भएपछि भने सबै त्यहाँ धाउने गरेका छन्।  

अहिलेसम्म सर्पदंश उपचार केन्द्रबाट यहाँका १ हजार १९ जनाले सेवा लिएका छन्। यीमध्ये ६६ जना बिषालु सर्पले टोकेका छन्। सेवा लिएका सबैको सफल उपचारपछि सञ्चो भएको उपचार केन्द्रले जनाएको छ। ‘पछिल्लो समयमा सर्पदंशका बिरामी उपचारका लागि बढैपुर पुग्ने गरेका छन्,’ काली रक्षा गण (ई) का मेजर वीरेन्द्र पुनले भने,‘सुदूरपश्चिमका मात्रै नभई बाँके, बर्दियाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।’ उपचार केन्द्रमा नेपाली सेनाको सर्पदंश उपचारसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्तिले सर्पदंशसम्बन्धी सेवा प्रदान गरिरहेको बताउँदै उनले भने,‘दक्ष जनशक्तिद्वारा उपचार दिइने भएकाले पनि उपचारको भरोसा मान्दै बिरामी बढैपुरसम्म पुग्न थालेका हुन्।’  

सर्पदंश उपचार केन्द्र स्थापना भएपछि यस क्षेत्रमा सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता टरेको गौरीगंगा–७, मट्कौनाका चन्द्रदेव जोशीले बताए। उनले भने,‘सर्पले टोक्नेबित्तिकै एम्बुलेन्स रिजर्व गरेर धनगढी पु¥याउनु पथ्र्यो, तर अहिले भने नजिकै उपचार केन्द्र भएपछि सहज भएको छ।’  बढैपुरस्थित सर्पदंश उपचार केन्द्रको स्थापना भएपश्चात्यो क्षेत्रका स्थानीयबासी लाभान्वित भएको उनले बताए। ‘हामीलाई धेरै सहज भएको छ,’ उनले भने,‘यसभन्दा अघि धनगढी जानुपर्ने बाध्यता त थियो, त्यसमा पनि लामो दूरी पार गर्दा बिरामीलाई तलमाथि हुने हो कि भन्ने चिन्ता पनि थपिन्थ्यो।’  

सर्पदंश उपचार केन्द्रमा गत वर्ष मात्रै १ सय ८९ जना बिरामीले उपचार सेवा लिएका थिए। जसमध्ये एक सय १९ महिला र ७० पुरुष रहेको सर्पदंश उपचार केन्द्रले जनायो। यस्तै यस वर्षको वर्षायामको सुरुवातसँगै हालसम्म ७९ जना सर्पदंशका बिरामीको सफल उपचार भएको छ। हाल विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को महामारीको अवस्थामा समेत विशेष सुरक्षात्मक उपाय अपनाई सर्पदंश उपचार केन्द्रबाट २४ सैं घण्टा सर्पदंश उपचार उपलब्ध गराइएको पुनले बताए।

प्रत्येक वर्ष बर्खामा कैलालीमा बिषालु सर्पले टोकेर कयौंले अकालमै ज्यान गुमाउने गरेका छन्।अध्याँरोमा दिसापिसाब जाँदा, राति घरभित्र सुतेका बेला र खेतबारीमा गएका बेला सर्पले बढी टोक्ने गरेको छ। पानी परेर घाम लागेपछि सर्प बढी बाहिर निस्कने गर्छन्। बर्खामा परेको पानी वासस्थानमा जाने भएकाले उनीहरूबाहिर निस्कने र मानिसका घरभित्र जाने गर्छन्।

भर्खर पानी परेकाले वासस्थानबाट बाहिर निस्केका सर्पले टोक्ने क्रम बढ्ने वरिष्ठ फिजिसियन शुभेसराज कायस्थ बताउँछन्। सर्पले टोकेमा आँखाले माथितिर हेर्न गाह्रो हुने, आँखा बन्द हुने, टाउको दुख्ने,मुखमा फिँज आउने, पेट दुख्ने, बान्ता हुने, बेहोश हुने र सास फेर्न गाह्रो हुने लक्षण देखिने गर्छन। ‘सास फेर्न गाह्रो भएर नै बिरामीको मृत्यु हुने गर्छ,’उनले भने।

प्रकाशित: ११ श्रावण २०७७ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App