१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘विहे गर्ने भन्दै होटल लगेर दुईजनाले रातभर बलात्कार गरे’

सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् । लालबन्दी नगरपालिका–६, का २६ वर्षीय रामबहादुर पराजुली र ७ नम्बर वडाका २५ वर्षीय सुमन विकले आफूमाथि बलात्कार गरेको भन्दै पीडित किशोरीको तर्फबाट ईलाका प्रहरी कार्यालय लालबन्दीमा किटानी जाहेरी परेको छ ।

लालबन्दी स्थित एक होटलमा भाँडा माझ्ने काम गर्दै आएकी किशोरीका अनुसार साउन ५ गते राती ११ बजे उनी काम गर्ने होटलमा आएर सुमन र रामबहादुरले विवाह गर्ने प्रलोभन देखाउँदै लालबन्दी स्थित फेसबुक होटलमा लगेका थिए । ‘होटलको काम सकिएपछि सुत्नै लागेको थिएँ, उनीहरु दुवैजना आएर विवाह गर्ने भन्दै केही परको फेसबुक होटलमा लिएर गए’, पीडित किशोरीले नागरिकसँग भनिन्, ‘उनीहरुले बियर खान थाले मलाई चिसो दिए अनि भोली काठमाडौं गएर विवाह गर्ने हो भन्दै केक समेत काटेर खुवाए, त्यसपछि सुमनले यौन सम्पर्क गरे ।’ भोली काठमाडौं गएपछि विवाह गर्ने हो भन्दै सुमनले फकाएर यौनसम्पर्क गरेको उनले बताईन् ।

‘सुमनले यौनसम्पर्क गरेपछि लगत्तै रामबहादुरले समेत यौनसम्पर्कका लागि दबाब दिए, मैले दाई तपाईले किन यस्तो भनेको उसँग त विवाह गर्ने भएर पो त्यस्तो गरेको भन्दा त उनले मेरो पनि त मनै त हो भन्दै जबर्जस्ती गरे’, पीडित किशोरीले भनिन्, ‘अहँ हुदैन भन्दा ढोकाको चुकुल लगाएर समातेर जवरजस्ती गरे र कसैलाई भने मारिदिने धम्की दिए, अनि डरले केही बोल्नै सकिन रातभर दुईजनाले बलात्कार गरे ।’

पीडित किशोरी ६ गते बिहान रुँदै रुँदै घर आएपछि आफन्तले घटनाबारे थाहा पाएका हुन् । ‘एकाबिहानै रुदै रुदै घर आईपुगी, निकै समयसम्म केही पनि बोलिन फकाउँदा फकाउँदा गरेपछि बल्ल सबै घटना बेलिबिस्तार लगाई’, एक छिमेकी महिलाले भनिन्, ‘अनि तत्काल प्रहरीलाई खबर गर्‍यौं ।’

लकडाउन सूरु भययता सुमनसँग चिनजान भएको र उसले विवाह गर्ने आश्वासन दिएको किशोरीले बताईन् । ‘लकडाउन सूरु भएपछि सुमन दाईसँग चिनजान भएको हो, म काम गर्ने होटलमा आईरहन्थे’, उनले भनिन्, ‘पछि पटक–पटक विवाह नै गर्छु भनेपछि विश्वासमा दुवैजनाको पछि लागेर त्यो दिन अर्को होटलमा गएँ, तर दुवैजनाले पालैपालो बलात्कार पो गरे ।’ आफूले डान्स सिकाउने गरेको भनेर सुमनले चिनाएको उनले बताईन् ।

किशोरीका बुबा र आमा दुवैजना काठमाडौंमा ईट्टा बोक्ने लगायत मजदुरी गर्छन् । यहाँ उनको घरमा हजुरआमा र दुई बहिनी बस्छन् । जेठो दाजु छुट्टिसकेको र बुबाआमा समेत काठमाडौंमा रहेकाले उनी दुई वर्षदेखि लालबन्दी बजार स्थित एक होटलमा भाँडा माझ्ने काम गर्दै आएकी थिईन् ।

किशोरीको स्वास्थ्य परीक्षण गराई सकिएको प्रहरीले जनाएको छ । पीडित किशोरीका दाईले ईलाका प्रहरी कार्यालय लालबन्दीमा दिएको किटानी जाहेरी शुक्रबार दर्ता भएको छ । अभियुक्तहरु फरार रहेको र खोजी कार्य तीव्र बनाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

आरोपी पराजुलीका एक छोरा र छोरीका पीता तथा विकको पनि एक बच्चा भईसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित: १० श्रावण २०७७ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App