coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्पले डसेका बिरामीको औषधि उत्पादन गर्ने तयारी

सर्पले डसेका बिरामीको लागि औषधि उत्पादन गर्न उद्योग खुलेसँगै संकलन गरिएका सर्प । तस्बिर : नागरिक

नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो । उद्योगबाट अब दुई वर्षभित्रमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने लक्ष्य राखेर काम थालिएको हो ।

एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफयाक्चरिङ प्रालि स्थापना गरेर काम थालिएको हो । यसका लागि भौतिक पूर्वाधारको काम कोरोना भाइरसको महामारी सुरु हुनुअघि नै थालिएपनि महामारीले गर्दा अहिले रोकिएको छ । सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नु पर्ने हुन्छ ।

दुई वर्षपछि वार्षिक १५ लाख भायल एन्टि भेनम उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको लागि पाँच सय हाराहारी सर्प र घोडा दुवै आवश्यक छ । उद्योगको सुरुवात कामसँगै अहिले यहाँ सर्प संकलन र घोडा पाल्न थालिएको छ । भायल एन्टि भेनम उत्पादन गरेपछि नेपालसँगै एशिया र अफ्रिका देशमा समेत निर्यात गर्ने लक्ष्य राखिएको प्रालिका अध्यक्ष लक्ष्मी फूयँलले बताए ।  

यहाँ सुरुवातमा सर्प पालिने र त्यसपछि औषधि उत्पादन गर्न थालिनेछ । उद्योगका स्थापनासँगै उत्पादन गरेर बजार पुर्‍याउँदासम्म ८८ करोड ६३ लाख रुपैयाँ लाग्नेछ । नेपालले अहिले भारतबाट वार्षिक ३० हजार भायल एन्टी भेनम खरीद गरेर ल्याउने गरेको छ ।

बिषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सवै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक दस लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने प्रालि अध्यक्ष फूयँलको दावी छ । ‘भारतले पनि अहिले नेपाललाई पर्याप्त भायल एन्टी भेनम दिदैन,’ उनले भने, ‘अब हामीले जब उत्पादन सुरु गछौं अनि गाउँपालिका र नगरपालिकास्तरसम्म सर्पदंशउपचार केन्द्र खोल्न सचेतनामूलक कार्यक्रम लिएर हिड्नेछौ ।’

सर्पले टोकेका बिरामी बचाउन ‘एन्टी स्नेक भेनम’ औषधि बनाउन सर्पको बिष घोडामा सारेपछि बनाउन सकिन्छ । जसका लागि सर्प र घोडा पाल्नसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि आठ विघा जग्गा प्रयोगमा ल्याइनेछ । प्रालिका अध्यक्ष फूयँलले कानुनी र अन्य बाधाले गर्दा ढिलाई हुन गएको बताए ।

प्रकाशित: १० श्रावण २०७७ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App