८ वैशाख २०८१ शनिबार
समाज

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

मोरङको केराबारी गाउँपालिकाका एक वृद्धलाई प्रहरीले बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । लिम्बूले ललाइफकाई गरेर अपांगता भएकी बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी आएपछि बिहीबार राति १० बजेतिर पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारी ल्याइएको प्रहरीले जनाएको छ ।

बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन् । लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर शारीरिक रूपमा अपांगता रहेकी बालिकालाई जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी खड्काले बताए । ‘फकाएर खेतमा लगेपछि १० रुपैयाँ दिएर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी खड्काले भने, ‘बालिकाको शरीरको एक पाटो राम्ररी चल्दैन । बोली प्रस्ट छैन भने एउटा खुट्टाको सहाराले मात्रै हिँड्न सक्छिन् ।’

बलात्कारको आरोप लगाउँदै शुक्रबार लिम्बूविरुद्ध किटान जाहेरी बालिकाका अभिभावकले दर्ता गराएका छन् । प्रहरीले लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App