coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

न्यायाधीशलाई पगालेको त्यो चार दशक अघिको प्रेम

सर्वस्व सहित जन्म कैद ठोकिएको चार दशक अघिको एउटा ज्यान मुद्दामा प्रेम कहानीले न्यायाधीशको मन कसरी पगालेको थियो भन्ने कुरा हाम्रो न्यायिक इतिहासमा रोचक ढंगले अंकित छ। ठोकिएको कैद सजाय कसरी छ बर्षमा झारिएको थियो र मुद्दा कसरी सर्वोच्च अदालतसम्म पुगेको थियो भन्ने कुरा फिल्मको कहानी झैं लाग्छ।

न्यायाधीशद्धय गजेन्द्रकेशरी बास्तोला र महेशरामभक्त माथेमाले गरेको सो फैसला तत्कालिन मुलुकी ऐन, २०२० को अदालती बन्दोबस्तको महलको १८८ नम्बरको प्रयोगमा अभियुक्तलाई ठेकिएको सजाय चर्को लाग्न गएमा कसरी न्यायाधीशले घटाउन सक्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण हो।  

साविकको १८८ नम्बरको व्यवस्था र हाल प्रचलनमा रहेको फौजदारी कसूर (सजाय निर्धारण तथा कायान्वयन) ऐन, २०७४ को दफा १७(१) मा अभियुक्तलाई ठेकिएको चर्को सजाय घटाउन न्यायाधीशलाई विशेषाधिकार दिइएको छ।  

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको निर्मम हत्याका सम्बन्धमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेज बहादुर केसीले सजाय घटाइदिने गरी भएको असार १५ को फैसलाले उनी आज मात्रै छुटेका छन्। अहिले यो चर्चामा छ। चार दशक अघिको प्रेम कहानीले विशेषाधिकारको प्रयोग र प्रचलनको अभ्यास बुझ्न सहज बनाउँछ।  

निर्णय नम्बर ३१७८ रहेको ज्यान मुद्दा सर्वोच्च अदालतबाट २०४४ असार १२ मा फैसला भएको थियो। फुलमतीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध अब्दुलफत्ते मुसलमान भएको सो मुद्दामा प्रेम असफल पार्न खोजिएको आधारमा संगै कसम खाई एक आपसमा प्रण गरी मार्ने उद्धेश्यले घटेको घट्नामा आधारित छ। एकअर्काले छुरा प्रहार गर्दा प्रेमिकाको मृत्यु भएको तर प्रेमी भने मर्न नपाएको अवस्थामा प्रेमी मुसलमान विरुद्ध कर्तव्य ज्यान मुद्दा चली सर्वोच्च अदालतसम्म पुगेको थियो।

न्यायाधीश बास्तोलाले लेखी अर्का न्यायाधीश माथेमाले समर्थन गरेको सो फैसलाले तत्कालिन पुरातनपन्थी नेपाली समाजको चर्चित प्रेम कहानीलाई मात्रै लिपिबद्ध गरेको छैन। त्यो जमानामा न्यायाधीशले कैद घटाउन प्रयोग गरेको विशेषाधिकार समेत स्पष्ट गरेको छ।  

२०३९ भाद्र ३ गते सो घट्ना घटेको थियो। परिवार नियोजनमा काम गर्ने २७ बर्षीय इन्द्रा र उनका प्रेमी मुसलमानले आफूहरुलाई प्रेमबन्धनबाट छुटाउन खोजेपछि संयुक्त रुपमा आत्महत्याको प्रतिबद्धता गर्छन। इन्द्राकी आमा फुलमति निदाइसकेपछि मध्यरातमा अचानक छोरी सुतेको कोठा भित्रबाट आइ्या गरेको आवाज आउँछ। कोठामा हेर्दा ढोका भित्रबाट बन्द रहेको तर ढोका नखुलेपछि शंका लागि गुहार माग्दा मानिसहरू भेला भएर घट्नाप्रति चासो राख्छन्।  

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको निर्मम हत्याका सम्बन्धमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेज बहादुर केसीले सजाय घटाइदिने गरी भएको असार १५ को फैसलाले उनी आज मात्रै छुटेका छन्। अहिले यो चर्चामा छ। चार दशक अघिको प्रेम कहानीले विशेषाधिकारको प्रयोग र प्रचलनको अभ्यास बुझ्न सहज बनाउँछ।  

ढोका नखुलेको हुँदा घरको छानामा चढी फुसको छाना उक्काई हेर्दा प्रेमिका इन्द्राको घाँटी काटिएको र निजका प्रेमी मुसलमानसमेत संगै घाइते अवस्थामा देखिएपछि प्रहरी कार्यालय तौलिहवामा खबर गर्छन्। प्रहरीहरू गई घरको ढोका फोडी खोली हेर्दा इन्द्राको घाँटी धारिलो हतियारले रुद्रघण्टी समेत काटिएको मृतक अवस्थामा खटियामा पल्टिरहेको र सोही खटियामा उनकै प्रेमी मुसलमान पनि छुरीले आफ्नो पेटमा घाउ बनाई आन्द्रा भुँडी समेत निकालिएको अचेत अवस्थामा भेटिन्छन्।  

मुद्दाको कारवाही अघि बढ्छ। र, तहतह हुँदै सर्वोच्चसम्म पुग्छ। मुसलमानले अदालतमा गई बयान गर्दा आफूहरुको ७ वर्ष अगाडिदेखि प्रेम भई दुवैजना लोग्ने स्वास्नी जस्तै गरी बसेको अवस्थामा इन्द्राको अर्कै एकजना डाक्टरसंग सम्बन्ध छ भन्ने चर्चा थाहा पाई आफूले डाक्टरसंग बस्छौं कि म संग भनी ययार्थ ब्यहोरा सोधेको खुलाउँछन्। जवाफमा इन्द्राले तिमीसंगै बस्छु भनी प्रतिबद्धता गर्छिन। डाक्टरसँग होइन, म तिमीसँग बस्छु र मर्नु परेपनि संगै मर्छु भन्ने इन्द्राको प्रतिबद्धता मुसलमानले अदालतमा सुनाउँछन्। इन्द्राकी बज्यैले समेत डाक्टरलाई नै इन्द्रा जिम्मा लगाईदिने प्रपञ्च गरेपछि आफूहरु आत्महत्या गर्ने विकल्पमा पुगेको र सो घट्ना घटेको उनले अदालतमा खुलाउँछन्।  

इन्द्रालाई मन पराउने डाक्टरले कुनै मुद्दा मामिलामा फसाएर प्रेमी मुसलमानलाई जेल हाल्दिन्छु भन्ने धम्कीले समेत उनीहरुलाई आत्महत्यातर्फ प्रोत्साहित गर्छ। मर्नुको विकल्प नदेखि एक्लै बस्दा दुःख हुन्छ, यो भन्दा राम्रो दुवैजना संगै मरौं भन्ने निर्णय गरेपछि भदौ ३ को राती ११.३० बजे घरमा ढोका बन्द गरी खाटमा उत्तानो परी एकले अर्कालाई मार्न प्रयत्न गर्छन्। इन्द्राको पहिल्यै मृत्यु भइसक्दा पनि मुसलमान भने घाइते मात्रै हुन्छन्। पेटमा पटकपटक आफैंले छुरा प्रहार गर्दा आन्द्राभुँडी बाहिर निस्किएपनि उनको धुकधुकी बॉकी नै रहन्छ।  

घट्नाको दिन बिहानको खाना खाई इन्द्राको आमाको घरमै मुसलमान बसेका थिए। इन्द्रा परिवार नियोजन कार्यालयमा गएर ३ बजे फर्की आएपछि रुन लागिन्। रोएको देखी किन रोएको हो? भनेर मुसलमानले सोध्छन्। जवाफमा रामेश्वर डाक्टरले ‘तुमको अब ठोकर खाना लिखा है अबः उसका मौत १–२ दिन मे आरहा है’भनेको सुनाइन्। र, म अब घागरा नदीमा डुबी मर्छु भनिन्। मुसलमानले पनि तिमी मर्ने भए पहिले मलाई मारिदेउ तब जाउ भने। इन्द्राले तिमी पनि मर्ने हो त भनेकी थिइन्, त्यसपछि मुसलमानले पनि मर्ने हो भने।

घट्ना फिल्मको रिल चलेझै अघि बढ्छ। रातपरेपछि इन्द्रा भित्र आइन ढोका बन्द गरी छुरी निकालिन् र भनिन् ‘तुमको मरना है कि नहिं।’ फत्तेमानले जवाफ फर्काउँ‘छन्, ‘तिमी मर्ने भए म पनि मर्छु।’ त्यसपछि कसले कसलाई मार्ने भन्ने विवाद हुन्छ। इन्द्राले आफूलाई पहिला मार्न दबाब दिन्छिन् र भन्छिन, ‘म तिमीलाई मार्न सक्दिन, तिमी मलाई मार अनि तिमी मर।’

मुलसमानले पनि मैले मार्न सक्दिन तिमीले नै मार भनी छुरी फर्काई दिंदा इन्द्राले फेरी छुरी आफैंलाई फकाईदिएपछि बाध्य भएर मुसलमानले छुरी लिन्छन र रुन लाग्छन्। ‘एक दिन मर्नु नै छ, दुश्मनको हातबाट  मर्नु भन्दा आफ्नै हातबाट मर्नु राम्रो’ भनेर इन्द्राले सम्झाएपछि मुसलमानको हात इन्द्राले समाई आफ्नो घाँटीमा पुर्याई जोडसंग दवाई तानिन्। र,मुसलमाने पनि छुरी खिच्छन् र आफैंलाई प्रहार गर्छन्। आफू घाइतेसम्म हुन्छन् तर मर्दैनन्। बहोस उनी भोलीपल्ट अस्पतालको शैय्यामा खुल्छन् र अदालती कारवाही अघि बढ्छ। विस्तारै प्रेम कहानीले निम्त्याएको अपराधले न्यायको मार्ग पकड्छ।  

शव परीक्षण प्रतिवेदन र लाश प्रकृति मुचुल्का समेतबाट इन्द्राको मृत्यु कर्तव्यबाटै भएको ठहर भएपनि जिल्लादेखि नै १८८ नम्बरको प्रयोग गरी कैद घटाईदिने प्रक्रिया सुरु हुन्छ। तर,इन्द्राको मृत्यु आफ्नै घरको बन्द कोठामा भएको,इन्द्रा र मुसलमानबीच प्रेम सम्बन्ध भई प्रेममा व्यवधान उत्पन्न हुने आशंका भएपछि दुवै जनाले आत्महत्या गर्ने निधो गरे पश्चात् इन्द्राले आफ्नो हातमा छुरी लिई फत्तेमानको हातमा राखी दिई आफूले बल गरी छुरी घसी मारिदिएको र सोही छुरीले प्रहार गरी आफूले पनि आत्महत्या गर्न लाग्दा बेहोस भएको तथ्यका आधारमा मुसलमानलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्नु घोर अन्याय हुने ठहर भएको पाइन्छ।

फैसलामा मुसलमानको साविति बयान, इन्द्रा मृतक अवस्थामा कोठामा फेला परेको तथ्य तथा घटनास्थलमा मुसलमान अचेत अवस्थामा फेला परेको विषय, कोठामा छेसकिनी बन्द भएको र अन्य मानिसहरू वारदातको अवस्थामा कोठामा उपस्थित हुनसक्ने अवस्था नभएको विषयलाई मिहिन ढंगले विश्लेषण गरिएको छ। मुसलमानको शरीरमा पनि छुरीको प्रशस्त घाउ चोट समेत देखिएको र दुवैबीच मर्ने र मार्ने वार्ता चली छुरी समेत लिई संगै बसेको अवस्थालाई मार्नेसम्मको नियतको विश्लेषण गरिएको छ।  

प्रेममा बाधा विरोधका कारण  कमजोर मानसिकताको कारण दुवैले आत्महत्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छुरी प्रहार गर्दा आफूले समेत मद्दत दिई निजलाई मारी मुसलमानले आफू पनि मर्न प्रयत्न गरेको, पेटमा यत्रतत्र छुरी प्रहार गरेको र वारदातको स्थिति समेत विश्लेषण गरी फैसला गरिएको छ। मुसलमानलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखी ६ वर्ष मात्र कैद गर्नेगरी न्यायाधीशको चित्तमा लागी सो कैद सजाय घटाएर ६ बर्ष कायम गरिएको फैसलामा उल्लेख छ।  

कारुणिक प्रेम कहानीले जन्माएको अर्का कुनैपनि हत्याकाण्ड सर्वोच्च अदालतमा फेरी पुगेको पाइदैन। तर, अन्य धेरैखालका घट्नाहरु सर्वोच्चसम्म पुगेकाछन् र न्यायाधीशले विशेषाधिकारको प्रयोग गरी कैद घटाएका उदाहरणहरु पाइन्छन्।

निर्णय नम्बर १०२८९ भएको हर्कमाया विश्वकर्मा विरुद्ध नेपाल सरकारभएको कर्तब्यज्यान मुद्दामा न्यायाधीशहरु मीरा खड्का र पुरुषोत्तम भण्डारीको इजलासबाट कुनै एउटा व्यक्तिलाई मार्ने उद्धेश्य र मनसाय राखी गरिएको अपराधमा झुक्किएर अर्को व्यक्तिको मृत्यु भएकोमा समेत मनसायप्रेरित हत्या ठहर गरिएको छ। त्यसरी झुक्किएर भएको अपराधमा दोषीलाई पूरा सजाय गर्दा चर्को पर्न जाने विश्लेषण सहित १८८ नम्बरको प्रयोगबाट दश बर्षमा झार्नेगरी कैदको सजाय घटाएको पाइन्छ।  

त्यस्तैगरी निर्णय नं. १०३५२ भएको नेपाल सरकार विरुद्ध रामलाल मुखिया समेतको मुद्दामा मुख्य अभियुक्त र सहायक अभियुक्तको एउटै भूमिका नहुने आधार लिई न्यायाधीशद्धय केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको इजलासबाट सर्वस्व सहित जन्मकैद गर्ने जिल्ला अदालतको आदेशलाई सच्याई एकबर्ष र दुईबर्ष कैद सजाय भोग्नेगरी सजाय मिनाहा गरिएको पाइन्छ।  

अर्को निर्णय नम्बर १००७६ रहेको बलराम खड्का विरुद्ध नेपाल सरकारको मुद्दामा न्यायाधीशद्धय हरिकृष्ण कार्की र टंक मोक्तानको इजलासबाट १८८ नम्बरले दिएको विशेषाधिकारको प्रयोगका सन्दर्भमा महत्वपूर्ण व्याख्या गरिएको छ। आफू सन्सारी पूजाको प्रसादको साथै लोकल रक्सी खाएर हल्का मातेको अवस्थामा रातको ८.३० बजेको समयमा घरको भर्यालङ चढ्ने क्रममा मृतक भर्या ङबाट तल झरिरहेकोमा रातको समयमा महिला मात्र रहेकोमा चोर हो कि भन्ने शङ्कामा नारायणबहादुर बस्नेतलाई कुटपिट गर्दा लडी तलको सिमेन्टको भागमा परी घाइते भएको र त्यसैको आधारमा मरेको अवस्थामा ज्यानै मार्नेसम्मको पूर्वरिसइवी समेत नदेखिएको, ज्यानै मार्नेसम्मको पूर्वयोजना, मनसाय वा पूर्वतयारीसमेत भएको नदेखिएको अवस्थामा दश बर्षको कैद गर्ने जिल्लाको राय उचित ठहराई सदर गरिएको छ।

विभिन्न ढंगले समाजमा अपराध घट्न सक्छन्। न्यायाधीशलाई अपराधको गाम्भिर्यताका आधारमा कैद घटाउन सक्ने विशेषाधिकार पनि दिइएको छ। तर, त्यस्तो अधिकारको प्रयोग गर्दा न्याय परेको छ कि छैन भन्ने कुराको विवेचना गरेर मात्रै यो विशेष अधिकारको प्रयोग हुन आवश्यक छ। सबैखालका मुद्दाको तथ्य र अवस्था फरक फरक हुँदा न्यायाधीशको चित्त चारदशक अघिकै प्रेम कहानीमा झै पग्लिन सक्छ भन्न सकिंदैन।

 

प्रकाशित: ८ श्रावण २०७७ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App