coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

समुदायमा कोरोना देखिएपछि निषेधाज्ञा

समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समुदायमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विहीबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए।

‘समुदायमा कोरोना परीक्षण सुरु भएपछि ७३ वटा स्वाब संकलन गरिएकोमा बुधबार १६ जनाको रिपोर्ट पोजेटिभ आयो,’ प्रजिअ कट्टेलले भने, ‘थप संक्रमण फैलिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको हो।’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु बन्द गर्नुका साथै भेटघाट, जमघट, भिडभाड गर्न र आवत–जावत गर्न प्रतिवन्ध लगाइएको छ।

‘समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ÷छैन् भन्ने जान्नका लागि पहिलो पटक ठाँटीकाँधका ७३ जनाको स्वाब संकलन गरेका थियौं,’ जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भने, ‘स्वाब संकलन गरिएका मध्ये १६ जनामा कोरोना संक्रमण देखियो।’कोरोना फोकलपर्सन रेग्मीका अनुसार समुदायमा कोरोनाको असरका बारेमा प्रत्येक पालिकाबाट ७० जनादेखि ८० जनासम्मको स्वाब संकलन गरेर परीक्षणको तयारी थालिएको छ।  

संक्रमित बढ्दै

बन्दाबन्दी (लकडाउन) खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। लकडाउन खुलेयता कर्णालीमा ५० जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार मात्रै कर्णालीमा ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका १ जना गरि ६ जना र दैलेख अस्पतालमा गरिएकोको परीक्षणमा दैलेख २४ जनामा कोरोना संक्रमणको पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए। उनका अनुसार कर्णालीमा संक्रमितको संख्या एक हजार आठ सय १३ पुगेको छ। कर्णालीमा पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट ४ जना पुरुष र गुर्भाकोट नगरपालिकाको आइसोलेसनबाट २ जना महिला कोरोना संक्रमणबाट निको भएर घर फर्किएको डा. तिवारीले जानकारी दिए। संक्रमण जित्नेको संख्या कर्णालीमा एक हजार पाँच सय ५२ छ भने सक्रिय संक्रमितको संख्या दुई सय ५५ रहेको छ।

प्रकाशित: ८ श्रावण २०७७ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App