कोरोना भाइरस (कोभिड–१९) समुदायमा स्तरमा फैलिए भयावह स्थिती आउन सक्ने भयले स्वास्थ्य विशेषज्ञले सजग हुन औंल्याई रहेका बेला इटहरीमा भने होम क्वारेन्टिन र होटल क्वारेन्टिमा बस्न पाइने भएको छ । कोरोना नियन्त्रण रोकथाम र क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनका लागि बिहीबार बसेको बैठकले सहजताका लागि होम क्वारेन्टिन एवम् होटल क्वारेन्टिनमा बस्न पाइने निर्णय गरेको हो ।
बैठकले सरकारको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड २०७७ अनुसार घरैमा बस्न सकिने निर्णय गरेको हो । होम क्वारेन्टिनमा बस्न वडा कार्यालयको सिफारिस भने अनिवार्य गरिएको छ । यसैगरि खाना र आवासका लागि न्यूनतम शूल्क लिने गरि तोकिएका होटलहरुमा पनि बस्न सकिने निर्णय गरिएको छ ।
होम तथा होटल क्वारेन्टिनमा बसेकाको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ परामर्श र परीक्षण सेवा इटहरी उपमहानगरले उपलब्ध गराउनेछ । उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । आम नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा समस्या भएको जनाउँदै उपमहानरपालिकाले अनिवार्य मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, दूरी कायम गर्न आग्रह गरेको छ ।
इटहरीमा अहिलेसम्म समूदायस्तरमा कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । यहाँ अहिलेसम्म ११ जनामा कोरोना पोजेटिभ भएको छ । जसमा नौ जना उपचारपछि घर फर्किसकेका र दुई जना उपचारकै क्रममा रहेको इटहरी अस्पताल आकस्मिक कक्षका प्रमुख रामकुमार धमलाले बताए ।
इटहरीमा अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने, हवाईमार्गबाट नेपाल आएका, लक्षण देखिएकालगायत ६०३ जना क्वारेन्टिनमा बसेका छन् । जसमध्ये अहिलेपनि ४३ जना क्वारेन्टिनमा रहेका छन् । इटहरी क्षेत्रमा ८१८ जनाको पिसिआर र ६३७ जनाको आरडिटी परीक्षण गरिएको इटहरी अस्पतालले जनायो ।
प्रकाशित: ८ श्रावण २०७७ १०:१६ बिहीबार